PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

घरको बोको बेचेर आन्दोलनमा हिँडेपछि...



प्रकाश भण्डारी

घरको बोको बेचेर आन्दोलनमा हिँडेपछि...

काठमाडौं : 'पार्टी त फुट्यो अब कता लाग्न ठीक होला? जिल्ला सदस्य पनि बनाइदिन्छु भन्याछन्। के भन्छस् कान्छा?' 

नेकपाको 'अनौपचारिक विभाजन'पछि कुन समूहतिर लाग्ने भन्नेमा अलमलिएका दाइले घरबाट फोन गरेर सोधे। 

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाइ संगठित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा फुटेको थियो। त्यसअघि नै केन्द्रमा पार्टी फुटिसकेको झल्को दिनेगरी गतिविधि भइरहेको भए पनि गाउँमा भने कार्यकर्ता विभाजित भइसकेका थिएनन्। दाइको अपेक्षा थियो भाइको सल्लाहले निर्णय गर्न सजिलो होला। तर, राजनीतिमा रुची नभएको मैले के नै भन्न सक्थेँ र? जे भनेँ, त्यो दाजुका लागि गतिलो खुराक हुनसक्ने कुरै भएन। 

'म के भन्ने हो र? जता आफ्नो विचार मिल्ने हो त्यतै जाँदा भयो नि,' मेरो यति कुरा सुनेपछि दाइले फेरि केही सोधेनन्। 

'हुन्छ त' भन्दै फोन राखे। 

हामीबिचको संवाद त्यही दिन भएको थियो जुन दिन (पुस १४) काठमाडौंमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद विघटनको विरोधमा पहिलो पटक शक्ति प्रदर्शन गरेका थिए। 

त्यसै साँझ फेरि दाइले फोन गरे र सुनाए, 'रेडियोले त सबै नेता पनि यतै छन्। ओलीले त ठूलो अपराध गरे भनेर समाचार भन्छ। मैले त प्रचण्ड-माधव कमरेडकै समूहमा बस्ने निर्णय गरे।'

रेडियोले दिनभरको चर्को भाषणको समाचार सुनाएपछि दाइले के सोचे कुन्नी? त्यसपछि भने अलमलमा परेनछन्। 

तर, मलाई भने उनले गरेको सोधखोज अनौठो लगेको थियो। दाइले आफ्नो पार्टीका गतिविधिबारे मसँग यसरी कहिल्यै सोधेका थिएनन्। 
हामीबिचको संवादपछि पनि काठमाडौंमा दैनिकजसो विरोध प्रदर्शन भइरहे। सत्ताको शक्ति प्रदर्शन पनि जारी रह्यो। आजकल समाचार सुनिसकेपछि दाइ फोन गर्छन्। उनले सोध्ने कुरा भने एउटै खालको हुन्छ, 'कस्तो छ माहोल? अब ठूलै आन्दोलन होला त?'

नेकपा फुटेपछि हाम्रो घर रहेको जिल्ला अछामको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद यज्ञ बहादुर बोगटी ओली समूहमा छन्। उनी ओली समूहमा भए पनि निर्वाचन क्षेत्र नम्बर १ का सांसद तथा राष्ट्रिय राजनीतिमा चिनिएका नेता भीम रावल भने प्रचण्ड-नेपाल समूहमा। उनीहरुको नेतृत्वमा गाउँसम्मका नेता कार्यकर्ता विभाजित हुने क्रम जारी छ। अरु बेला अधिकांश समय काठमाडौंमा रहने यी दुई नेता यतिखेर चाहिँ धेरैजसो जिल्लामै भेटिन्छन्। 

उनीहरुको दौडधुप बढेको छ। दैनिक सभा सम्मेलन भइरहेका छन्। काठमाडौंबाट गाउँमा नेताहरुले धाउन थालेपछि स्थानीय कार्यकर्ताको ब्यस्तता नबढ्ने कुरै भएन। दाइलाई पनि अहिले गाउँमा भ्याइनभ्याइ। सन्चो बिसन्चो सोध्न फोन गरे पनि मुल कुरा चाहिँ राजनीतिमै गएर ठोकिन्छ। 

कस्तो छ त? गाउँको राजनीति?

बुधवार साँझ फ्याटै फोनमा प्रश्न सोधेँ। उनको जवाफ थियो, 'अहिले त गाउँमा मान्छे दिनदिनै गुट बदल्छन्। आज एक समूहमा भोलि अर्को नेताकोमा पुग्छन्। मलाई त्यसको त केही चिन्ता छैन। घरबाट दिन दिनै बाहिर हिँड्न परेपछि तेरी भाउजू कराउन थालेकी छे। नगएर बस्न पनि सकिँदैन। अरु त नसा गर्न त केही सिकिएन कान्छा, मलाई त राजनीति नै नसा बस्यो।' 

घरको कामलाई बेवास्ता गर्दै दैनिक पार्टीको काममा हिँड्न थालेपछि भाउजु रिसाउनु पनि स्वभाविक भयो। घरमा काम गर्ने दाजु भाउजूबाहेक कोही छैन। दुई छोरा काठमाडौंमै बस्छन्। दाजुका बारे भाउजुको एउटै गुनासो हुन्छ, 'आजसम्म राजनीतिमा लागेर के पाउनु भो? कसैको पार्टीसार्टी हामीलाई चाहिया छैन?' भाउजुको अघिल्तिर भने दाजु नाजवाफ। 

बोको बेचेर आन्दोलनमा

प्रचण्ड-नेपाल समूह होस् या प्रधानमन्त्री ओली नै किन नहुन्, नेकपाले देशभरि नै शक्ति प्रदर्शन गरिरहेको छ। त्यसका लागि गाउँगाउँबाट कार्यकर्ता शहरमा उतार्ने र आफ्नो पक्षमा जनमत भएको सन्देश दिने होडबाजी चलेको छ। होडबाजी पनि दुवै समूहका लागि सामान्य भइसकेको छ। प्रचण्ड-नेपालको माघ १७ मा सुदूर पश्चिममा शक्ति प्रदर्शन भन्दै धनगढीमा आमसभा आयोजना गर्यो। त्यसका लागि सुदूरका गाउँगाउँबाट कार्यकर्ता धनगढी ल्याउनुपर्ने बाध्यता नै बन्यो उनीहरुका लागि। 

नेताहरु सकेको धेरै मान्छे सडकमा उतार्ने रणनीतिमा लाग्दा आफ्ना समूहका कार्यकर्तालाई जसरी पनि उपस्थिति हुन उर्दी गरिरहेका थिए। 
धनगढी नगइ नहुने पार्टीको निर्देशन आएपछि दाइ पनि जान तयार भए। तर, त्यहाँसम्म जाने गाडीभाडा र बस्ने खाने खर्च कहाँबाट मिलाउने? त्यसको सहज जवाफ भने दाइसँग थिएन। 

पैसाको जोहो नभएपछि घरमा पालेको बोको बेच्ने निर्णयमा पुगेछन् दाजु। भाउजुले बेच्न नहुने अड्डी कसे पनि दाइले मिचेरै छाडेछन्। 

'हजुरका दाजु त १० हजारमा बोका बेचेर धनगढी आउनु'भा छ। काठमाण्डू पो आउनु हुने हो कि। अब राजनीति गर्ने मान्छेको के थाहा हुने हो?,' झोक्किएको पारामा भाउजूले फोनमा सुनाइन्। सञ्चो बिसञ्चोको त कुरा गर्न कहाँ भ्याउनु? 

१६ गते साँझ नै गाउँबाट नेकपाका कार्यकर्ताले भरिभराउ  बस धनगढीका लागि छुटेछ। बिहान धनगढी पुगेका कार्यकर्ता दिनभर शक्ति प्रदर्शनमै ब्यस्त रहे। काठमाडौंबाट अघिल्लै दिन माधवकुमार नेपाल र त्यही दिन बिहान प्रचण्ड धनगढी पुगेका थिए। 

कति भयो खर्च?

दाइ धनगढी हिडेको खबर त भाउजूले सुनाइसकेकी थिइन्। उनले त्यससँगै गाडीभाडा र खानपिनको खर्चका लागि बोको बेचेको पनि दुरुस्तै बताइसकेकी थिइन्। दाइसँग भने गफ भएको थिएन। धनगढीबाट फर्केपछि दाइले आफैले फोन गरे। 

'म पनि धनगढी आ'को थिएँ। आमसभा त ठूलै भो। काठमाडौं त झन् बढी मान्छे हुन्छन् होला। नगइ हुन्न भन्न थाले।'

दाइले यत्ति सुनाएपछि उनलाई नै सोधेँ, 'बोका नै बेचेर जानु भो रे तपाईँ त! पार्टीले नै खानपिन गाडीमा आउजाउको व्यवस्था गर्यो होला नि? किन बेचेको त्यो?'

दाइको उत्तर भने अलि फरक सुनियो। 'पार्टीले त सक्नेले आफै व्यवस्था गर्नु नभए पार्टीले गर्छ भनेको थियो। मलाई त अरुको पैसाले खान मन लागेन। केही पाउनका लागि म त राजनीतिमा लागेकै होइन,' दाजु बोले।

धनगढी पुगेपछि भने नेताहरुले 'गाडीको भाडा कसैले नतिर्नु पार्टीले तिरिसक्यो' भनेपछि भने दाइले भाडा तिरेनन्। बिहान धनगढीको होटलमा खाना खाए। दिउँसो खाजा पनि आफ्नै पैसाले खाए। त्यही दिनै साँझ लिएर आएको गाडी फर्किएपछि उनी पनि फर्किए। 

कति भयो त खर्च?

घरबाट १० हजार रुपैयाँ खल्तीमा बोकेर हिँडेका दाइले १५ सय रुपैयाँ खाजाखानामा सिध्याएछन्। 

'धेरै खर्च त भएन। तै पनि के कति चाहिने हो? घर बाहिर गएपछि के कसो पर्ला भनेर म त पैसा बोकेरै हिँडेको थिएँ,' उनले भने।

ओलीले आमसभा कस्तो हुन्छ? त्यस्को 'ट्रेलर' देखाउने बताउँदा प्रचण्ड-नेपालले ओली समूहको शक्ति प्रदर्शनलाई पञ्च र्‍यालीको संज्ञा दिएका थिए। प्रचण्ड-नेपालमात्रै होइन, प्रधानमन्त्री ओली पनि सत्ताको दुरुपयोग गरेरै भए पनि मान्छे सडकमा उतार्न लाचार छन्। त्यसका लागि सबैखाले तिकडम गर्न कोही पनि पछि परेको छैन। 

अझ, गृहमन्त्री रामबहादुर थापाले त तेश्रो जनआन्दोलनको घोषणा नै गरेका थिए, सत्ताको शक्ति प्रदर्शनका क्रममा। 

पार्टी र सरकारमा शक्ति सन्तुलन मिलिरहँदा चुपचाप रहेका नेताहरु 'केही पाउनका लागि राजनीति गरेकै होइन' भन्ने मेरा दाजुजस्ता कार्यकर्तालाई के जवाफ देलान् उनीहरुले? 

अर्कोतिर आफू पदलोलुप नभएको दावी गर्ने तर पद जोगाउन आफैँले बनाएको संविधान कुल्चिएर कुर्सी जोगाउन मरिहत्ते गर्ने ओलीका कार्यकर्ताको चित्त बुझाउने उत्तर के होला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell