कैलाली : बैतडी दोगदाकेदार -७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव आफन्तले बुझेका छन्। माघ २१ गते उनको हत्या भएको थियो।
आज परिवारले शव बुझेपछि दाह संस्कारका लागि बैतडीको महाकाली सेरा घाटमा लगिँदैछ। गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारका सदस्यले जानकारी गराएका छन्।
हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टले बलात्कार गरेको समेत स्वीकार गरेपछि आज परिवारले शव बुझेका हुन्। बिहीवार हत्या अभियोगमा सार्वजनिक गरिएका भट्टले बलात्कार स्वीकार नगरेको भन्दै परिवारले शव बुझ्न मानेका थिएन।
दिनेशले सरकारी वलिलको कार्यालय बैतडीमा बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीको दाबी छ। आफ्नै बुबाका सामुन्ने सरकारी वकिलसामू उनले बलात्कारबारे बयान दिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए।
यस्तै, भागरथीको घडीसमेत प्रहरीले घटनाको झण्डै दुई सातापछि फेला पारेको सिंहको भनाइ छ। बुधवार सोधपुछका क्रममा उनले दिएको बयानका आधारमा खोज्दा घडी फेला परेको प्रहरीले जनाएको छ। दिनेशले घटना आफू एक्लै गरेको समेत स्वीकारेका छन्।
यसअघि अपराधी पत्ता नलागेसम्म उनको परिवारले शव उठाउन मानेको थिएन। दुई सातादेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा भागरथीको शव राखिएको थियो।
गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भट्ट भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्। प्रहरीले भागरथीको हत्याको अभियोगमा उनकै विद्यालमा अध्यारन भट्टलाई बुधवार सार्वजनिक गरेको थियो।