PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पार्टीको आधिकारिकतामा प्रदीप नेपालको साथ माधव नेपाललाई



प्रकाश भण्डारी

पार्टीको आधिकारिकतामा प्रदीप नेपालको साथ माधव नेपाललाई

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता प्रदीप नेपालले 'आफू पार्टीको मुल प्रवाहमा रहने बताउँदै' माधवकुमार नेपाल समूहलाई साथ दिने भएका छन्। पार्टीमा आन्दोलनरत समूहमा पूर्व नेकपा एमालेका माधवकुमार नेपाल र पूर्व माओवादीका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व छ। नेता नेपालले पार्टीको आधिकारिताका लागि संकलन गरिएको हस्ताक्षरमा प्रचण्ड-नेपाल समूह पक्षमा साथ दिएका हुन्।

'हामीले ज्यान दिएर पार्टी जोगाएका हौं,' नेता नेपालले पहिलोपोस्टसँग भने, 'भोट हाल्न परे म माधव नेपाललाई हाल्छु।' 

पार्टीमा विग्रह सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहित आफ्ना सल्लाहकारहरुलाई नेता नेपालसँग भेट्न पठाएका थिए। पार्टी दुई धारतिर विभाजित हुँदै गर्दा नेता नेपालमार्फत् माधवकुमार नेपाललाई सम्झाउनका लागि ओलीले दूतका रुपमा उनीहरुलाई पठाएका थिए। जुन अन्तत: असफल भएको छ। ओलीका तर्फबाट सल्लाहकारत्रय विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदीप नेपालको निवासमा पुगेका थिए। उनीहरूले पार्टी एकताको रक्षाका लागि माधव नेपाललाई सम्झाउन आग्रह गरेका थिए। अभिभावकको हैसियतले ओली र नेपाललाई मिलाइदिन सल्लाहकारहरूले आग्रह गरेको नेपालले स्वीकार गरेका पनि थिए। त्यसयता उनले स्वतन्त्र हैसियतमा सामाजिक सञ्जालबाट आफ्ना अभिव्यक्ति दिँदै आएका छन्।

आज पार्टी केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रदीप नेपालसँग भएको कुराकानीबारे जानकारी गराएका थिए।

नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रदीप नेपाल संगठन र प्रचा विभागका 'प्रोमिनेन्ट फिगर' मानिन्छन्। कम्युनिस्ट पार्टीको कोअर्डिनेसनकाल देखिका नेता नेपाल प्रधानमन्त्री ओलीका समकालनीन नेता हुन्। कम्युनिस्ट पार्टीमा बलियो 'लिगेसी' कायम गरेका नेता नेपालले आज खुलेर प्रचण्ड-नेपाल समूहसँग जोडिएका हुन्। 

'मैले हस्ताक्षर गरेको हुँ तर म एक्टिभ रुपमा बस्दिन,' नेता प्रदीप नेपालले भने, 'हामी पूर्व मालेहरु निराश छौं। म त्यहीमध्येको एक हुँ।'
नेता नेपाललाई आन्दोलनरत समूहका अध्यक्ष माधवकुमार नेपालले आफूलाई साथ दिन आग्रह गरेका थिए।
'माधवकुमार नेपालले मसँग आग्रह गर्नुभएको हो। उहाँलाई मैले नकार्न सकिन,' नेता नेपालले भने।

केन्द्रीय समिति बैठकपछि नेकपा युवा नेता रामकुमारी झाँक्रीले प्रदीप नेपाल आन्दोलनरत समूहसँग जोडिएको बताएकी थिइन्। पार्टीको अनौपचारिक विभाजनपछि नेता नेपाल कतै खुलेका थिएनन्। कोअर्डिनेसन कमिटीको पहिलो छिमलका नेता भएकाले प्रदीप नेपालको उपस्थिति आन्दोलनरत नेकपाका नेताहरुका लागि एउटा महत्वपूर्ण सफलता बन्न सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell