PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वाग्मतीका सभामुखको स्पष्टोक्ति : कुनै पार्टीको कार्यकर्ता जसरी आदेश पालना गर्न मलाई जरुरी छैन



निशा गुरुङ

वाग्मतीका सभामुखको स्पष्टोक्ति : कुनै पार्टीको कार्यकर्ता जसरी आदेश पालना गर्न मलाई जरुरी छैन

हेटौंडा : वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका कारण प्रदेशसभाको सातौं अधिवेशन (बैठक) स्थगित नगरेको दाबी गरेका छन्।

प्रदेशसभा सचिवालयमा शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै सभामुख श्रेष्ठले अविश्वास प्रस्ताव दर्ता सम्बन्धि कार्यविधि मस्यौदा समितिले प्रतिवेदन नबुझाएको कारण मतदान प्रक्रियामा जान सक्ने नभएकोले आफूले प्रदेशसभा बैठक बारम्बार स्थगित गर्नुपरेको स्पष्ट पारे।

उनले प्रतिपक्ष दल नेपाली कांग्रेसले अहिलेको राजनीतिक अवस्थामा केन्द्रको तर्फबाट निर्णय नभइसकेको हुँदा समय दिन माग गरेकोले पनि प्रदेशसभा स्थगित गर्नु परेको बताए। सभामुख श्रेष्ठले टाढाका प्रदेशसभा सदस्यहरुलाई दुःख नहोस् भन्ने हिसाबले अर्को सूचना नआएसम्मको लागि भनेर स्थगित गरिएको स्पष्ट पारे।

मुख्यमन्त्री पौडेलनिकट मानिएका उनले आफू पार्टीको कार्यकर्ता नभएको तथा स्वतन्त्र भएको भन्दै दलहरुबीच सहमति, सहकार्य र एकताको वातावरण बन्न नसक्दा यस्तो परिस्थिति आएको बताए।

‘स्वतन्त्र पदमा रहेर सभामुखको भुमिका निभाएको हुँदा कुनै पनि पार्टी अथवा दलको कार्यकर्ता जसरी आदेश पालना गर्नु पर्ने मलाई जरुरी छैन,’ उनले भने।

उनले मुख्यमन्त्री विरुद्ध अविस्वास प्रस्ताव दर्ता गराएका नेताहरुलाई कार्यविधि कहिले बुझाएको र कस्लाई बुझाएको भन्दै प्रश्न समेत गरेका थिए।

आफू कुनै पनि पार्टीको कार्यकर्ता नभएको तथा स्वतन्त्र भएको भन्दै दलहरुबीच सहमति, सहकार्य र एकताको वातावरण बन्न नसक्दा यो परिस्थिति आएको सभामुख श्रेष्ठको भनाई छ

बुधवारका लागि तोकिएको वाग्मती प्रदेशसभा बैठक स्थगित भएपछि उनीविरुद्ध गरिएका राजनीतिक टिप्पणीको जवाफ दिन उनले प्रेस सम्मेलन नै गरेका हुन्। बुधवार बिहान ६:३५ मा पुनः सूचना जारी गरी प्रदेशसभाको सातौं अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको थियो। यसअघि माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक पनि ‘विशेष कारण’ भन्दै सूचना निकालेर स्थगित गरिएको थियो।

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिए पनि प्रदेशसभा अनिर्णित देखिएको छ। प्रदेशसभामा मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको नेकपा प्रचण्ड-माधव समूहका सांसद्हरुले गम्भीर असन्तुष्टि जनाएका छन्। अविश्वास प्रस्ताव संसद्मा टेबुल भएपछि पटकपटक संसद् स्थगित गरिएपछि प्रदेशसभा उपसभामुख राधिका तामाङलाई नेकपा प्रचण्ड-माधव समूहकी संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले विरोधपत्र बुझाएकी थिइन्।

प्रदेशसभा बैठक स्थगित गरेर सभामुख श्रेष्ठ ‘सम्पर्कविहीन भएको’ भन्दै प्रचण्ड-माधव पक्षले उपसभामुख तामाङमार्फत् ज्ञापनपत्र बुझाएको हो। नेतृ शाक्यले प्रदेशसभा बैठक सञ्चालन गर्ने व्यवस्था मिलाएर आफ्नाविरुद्ध अविश्वास प्रस्ताव छिटो टुंग्याउनुपर्ने नैतिक दायित्व पूरा गर्ने विषयमा स्वयं मुख्यमन्त्रीले पहल लिनुपर्नेमा सभामुखलाई दबाब दिएर अनि सभामुखलाई सरकारको रबर स्ट्याम्पझैं बनाउने कार्य भएको भन्दै आपत्ति जनाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell