PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

शहीदको बलिदान कसैका लागि भने सत्ता प्राप्त गर्ने भर्‍याङ बन्यो : मुख्यमन्त्री पौडेल



निशा गुरुङ

शहीदको बलिदान कसैका लागि भने सत्ता प्राप्त गर्ने भर्‍याङ बन्यो : मुख्यमन्त्री पौडेल

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो निर्वाचनबाट प्राप्त राजनीतिक स्थिरताको सन्देशसहित तीनै तहको सरकार ‘समृद्ध नेपाल–सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न क्रियाशील भइरहेको बताउँदै देश समृद्धिको मूल एजेण्डाबाट राजनीतिक मुद्धाको उल्झनमा आइपुगेको बताएका छन्।

‘यसले कहींकतै हामी शहीदका आदर्श र उनीहरुले देखाएको बाटोबाट विचलित त भइरहेका छैनौं भन्ने प्रश्न उठ्न थालेको छ। शहीदले राष्ट्रका लागि दिएको त्याग, बलिदान कसैका लागि सत्ताप्राप्त गर्ने भर्‍याङमात्र भएको हो कि भन्ने संशय उत्पन्न भएको छ,’ उनले भने, ‘सत्ताका लागि थोरै पनि धैर्य गर्न नसक्ने, पद, प्रतिष्ठा, पैसाका लागि मरिहत्ते गर्ने, देश र जनताका लागि भन्दा पनि आफू र आफ्ना आफन्तका लागि राजनीति गर्ने प्रवृत्ति हावी हुँदै जानुले शहीदको बलिदानीको अवमूल्यन भएको छ।’

शुक्रवार हेटौंडामा आयोजित कार्यक्रममा उनले भने, ‘एकातिर विकास र समृद्धिको सपना र प्रतिवद्धता, अर्कोतिर पटकपटक अवसर पाइसकेकाको पुनः सत्तास्वार्थ र निजी महत्वाकांक्षा। एकातिर जनमतको विश्वास र भरोसा, अर्कोतर्फ सत्ताप्राप्तिका लागि अराजकता र अतिरञ्जना। यस्ता कारण राजनीतिक स्थिरतामा कालो बादल मडारिदै गर्दा पनि हामी निर्धक्क भएर भन्न सक्छौं कि प्रजातन्त्रमा जनता नै सार्वभौम हुन्।’ 

जनताले लिने जुनसुकै अग्निपरीक्षाका लागि राजनीतिक नेतृत्व तयार रहनुपर्ने उनको भनाइ थियो। दलहरु जनतामा फर्किने, जनताको मत र विश्वास जितेर शासनसत्ताको बागडोर सम्हाल्ने र मुलतः जनताबीच परीक्षित हुने विषय नै लोकतन्त्रको सुन्दर पक्ष भएको उनले बताए।

प्रजातन्त्रको मुलभूत मान्यताभित्र रहेर संघीय सरकारले ताजा जनादेशका लागि प्रतिनिधिसभाका लागि नयाँ निर्वाचनको घोषणा गरेको दाबी गर्दै उनले भने, ‘प्रजातन्त्रलाई छाडातन्त्र, मनपरीतन्त्रका रुपमा ब्याख्या गर्दै देशलाई अराजकतातर्फ धकेल्ने प्रयास हुन थालेका छन्। प्रजातन्त्रको मुलमर्ममाथिको प्रहारले जनभावनामाथि कुठाराघात भएको छ। जनताबाट भागेर होइन, जनताबीच रहेरमात्र प्रजातन्त्र/लोकतन्त्रलाई मजबुत बनाउन सकिन्छ।’

उनले २००७ सालमा प्रजातन्त्र स्थापना भएपश्चात् पनि नेपालीले लामो समय प्रजातन्त्र र स्वतन्त्रता उपभोग गर्न नपाएको भन्दै यसका लागि पटकपटक संघर्ष गर्नुपरेको स्मरण गरेका छन्।

प्रजातन्त्र स्थापनादेखि हालसम्म देशमा धेरै कुरा बदलिएर निर्दलीय पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रसहित बहुदलीय व्यवस्था, निरंकुश राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको निकै चुनौतीपूर्ण यात्रापछि आगामी यात्रा झनै चुनौतीपूर्ण रहेको उनले उल्लेख गरे।

संविधानसभाबाट नयाँ संविधान जारी भएसंगै संविधान कार्यान्वयन र नेपाली जनताको ‘समृद्ध नेपाल–सुखी नेपाली’को आकांक्षालाई साकार बनाउने म्याडेटसहित २०७४ माघ २९ गते प्रदेश सरकारगठन भएको भन्दै नेपालको इतिहासमा पहिलोपटक अस्तिवमा आएको प्रादेशिक संरचनालाई संविधानले निर्दिष्ट गरेको अधिकार र कर्तव्यको सीमाभित्र रहेर शून्य अवस्थाबाट हालसम्म आइपुग्दाको यात्रा सहज नभएको उनले अनुभव सुनाए।

‘मानिसका जीवन दिन प्रतिदिन सरल र सहज बन्दै गएका छन्। तर, हजारौं बालबालिका शिक्षाबाट बञ्चित हुने अवस्था, युवाहरु अवसरबञ्चित हुनुपर्ने तीतो विगतलाई बदल्नै पर्थ्यो। यो युग सुहाउदो कुरा होइन,’ उनले भने, ‘प्रचुर सम्भावनाले भरिएर पनि अविकास र पछौटेपनको शिकार हुनपुग्यौं। राजनीतिक अस्थिरताको जगमा विकासले गति लिन सकेन। युगानुकूल शिक्षाको प्रवन्ध, रोजगारीका अवसर सिर्जना, पूर्वाधार विकास हुन नसक्दा युवाहरुमा नैराश्यता पैदा भयो। पाखुरीमा बल भरिएका युवाले आफ्नो पौरख यही देशको निर्माणमा सिञ्चित गर्ने अवस्था बनेन।’

उनले द्वन्द्व र राजनीतिक संक्रमणकालले युवा पलायनलाई मलजल प्रदान गर्ने क्रममा शिक्षित युवाको रोजाइ अस्ट्रेलिया, क्यानडा, श्रम र सिप भएका युवाहरुको रोजाइ मलेसिया, कतार जस्ता देश बन्न पुगेको भन्दै दुःख व्यक्त गरे।

प्रदेशको राजधानी हेटौंडामा शुक्रवार ७१ औं प्रजातन्त्र दिवस मनाइएको छ। प्रदेशस्तरीय मुल समारोह समितिको आयोजनामा प्रभातफेरी, झण्डोत्तोलनसहित सभा गरी दिवस मनाइएको हो। हेटौंडा-४ स्थित भुटनदेवी माविको प्रांगणबाट प्रभातफेरीसहित बजारका विभिन्न भाग परिक्रमा गर्दै सभामा परिणत भएको थियो।

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell