PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चुनावसँग डराउनेले राजनीति छाड्नुपर्ने देउवाको भनाई, ‘चुनाव हुँदैन हुँदैन भन्या छ, भइदियो भने नि!’



पहिलोपोस्ट

चुनावसँग डराउनेले राजनीति छाड्नुपर्ने देउवाको भनाई, ‘चुनाव हुँदैन हुँदैन भन्या छ, भइदियो भने नि!’

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावसँग कोही डराउँछ भने उसले राजनीति छोडे हुने सुझाव दिएका छन्। आज नेपाली कांग्रेस नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन्।

चुनाव हुदैन भनेर धेरैथरी कुरा भएको उल्लेख गर्दै देउवाले गिरिजाप्रसाद कोइरालाको पालामा पनि यस्तै भएको तर चुनाव भइछाडेको बताए।

‘एक पल्ट यस्तै भएको थियो। गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रचण्डलाई पिस प्रोसेसमा ल्याएपछि। चुनावको घोषणा भयो’, देउवाले भने, ‘कहाँ हुन्छ चुनाव? कहाँ हुन्छ चुनाव? भन्यो। मेरो जिल्लामा पनि चुनाव हुँदै हुँदैन भन्थ्यो। ए बाबा चुनाव हुन्छ हुन्छ भन्दा कसैले पत्याउँदैन थ्यो। अखिर चुनाव भइछाड्यो।’

देउवाले जहिले भए पनि चुनावका लागि पार्टी तयार हुनुपर्ने सुझाव दिए। भने, ‘चुनावसित डराएर हुन्छ? कि राजनीति छोड्नुपर्‍यो कि चुनावमा जान तयार हुनुपर्‍यो। दुई वर्ष पछि होस या अहिले होस कि।’

अहिले चुनाव हुँदैन कि भन्न आशंका रहेको स्पष्ट पार्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो छुट नरहेको बताए।

‘चुनाव हुँदैन हुँदैन भन्छन् भइदियो भने नि। त्यसैले तयार हुनुस्। ओलीले चुनाव नगरेर सुख पाउँछ यहाँ,’ उनले भने।

देउवाले तयारी नगर्दा पहिले कांग्रेसको हालत खराब भएकोसमेत बताए। उनले सर्वोच्च अदालतको सम्मान गर्नुपर्ने बताउँदै प्रतिनिधि सभा विघटनबारे कांग्रेसलाई जस्तो निर्णय आए पनि मान्य हुने स्पष्ट पारे। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जस्तै धम्क्याउन नहुने उनको भनाई थियो।

‘अदालतलाई विश्वास गरौ न प्लिज! उसको निर्णय मानौं,’ उनले भने।

प्रचण्ड र ओली चुनावमा जानका लागि चुनाव चिन्हमा झगडा शुरु भइसकेको उल्लेख गर्दै आफ्नो पार्टीमा भने चुनाव हुँदैन भन्नेमा लागेको गुनासो गरे।

देउवाले अहिले कम्युनिस्ट पार्टीमा ओलीविरुद्ध बोल्ने मेलो आए पनि प्रचण्डविरुद्ध भने अझै बोल्न सक्ने अवस्था नआएको बताए। आफूले निर्वाचन अघि कम्युनिस्ट सरकार आए रुन पनि नपाउने भनी राखेको भनाई स्मरण गर्दै यस्तो बताएका हुन्।

‘ओलीको खिलाफमा बोल्न सक्ने भयो बल्ल। प्रचण्डको खिलाफमा कोही बोल्न सक्छ अहिले?’ देउवाले प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell