PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

गर्भ जोगाउन खोज्दा घरबाटै निकालिएकी एक आमा, 'कोही आएर छोरी मारिदिन्छन् कि भन्ने डर लागिरहन्छ'



फूलमाया पुरी

गर्भ जोगाउन खोज्दा घरबाटै निकालिएकी एक आमा, 'कोही आएर छोरी मारिदिन्छन् कि भन्ने डर लागिरहन्छ'

'हिजोदेखि ढोकासमेत खोलेको छैन। कसरी खुवाउने होला खाना? आफू नखाए पनि त्यो सानी छोरीको बारेमा सोच्न पर्ने हो। उसलाई केही खान दिएको भए हुन्थ्यो।' कुसुम सेन्चुरीको यो चिन्ताले हामी सबैको ध्यान खिच्यो।

वरपरका सबै खाना खाइरहेकै थिए।

बाँकी खाना खाने लाममै थिए।

'को होला जो दुई दिनदेखि आफैलाई थुनेर बसेको छ?'

पोखरास्थित मानव सेवा आश्रमको दोस्रो तला। कोठा बाहिर लेखिएको थियो – स्नेह कोठा। त्यहाँको झ्याल ढोका सबै बन्द थिए।

कुसुम, जो आश्रमकी स्वयंसेवक बन्द कोठातर्फ लागिन्। हामी उनकै पछि लाग्यौं।

ठप्प कोठाको बाहिरबाट हामीले बोलायौं - 'दिदी ढोका खोल्नु न।'

बारम्बारको प्रयासपछि मात्र ढोका खुल्यो। हामी भित्र त पस्यौं तर उनले तत्काल ढोका बन्द गरिहालिन्।

काखमा सानी नानी च्यापेर फेरि खाँटमा बसिन् ती महिला। कोठाको एक कुनामा एउटा स्टील दराज। छेवैमा थिए झिलिमिली बत्तीका तारहरू। एउटा प्लास्टिकको टेबल। त्यहीँ एक कुनामा पोको पारेर राखिएको थियो-सायद उनीहरुका कपडा होलान्।  

उनी बोलिनन्। हामीले पनि केही सोध्न सकेनौं। केहीबेर कोठामा सन्नाटा छायो।

केहीबेरको सन्नाटापछि ती महिला बर्बराउन थालिन्। मन्त्र गुन्गुनाए झैं सुनिन्थ्यो। हामी दर्शक बन्यौं। एकोहोरो हेर्नुको विकल्प रहेन।

केहीबेर मन्त्र गानपछि सोधिन् - 'तपाईंहरु कहाँबाट आउनुभएको?

जवाफ पर्खिने फुर्सद भने उनलाई भएन। आफ्नै सुरमा बर्बराउन थालिन्।

यो पटक त्यो क्रम भङ्ग गर्ने पालो हाम्रो थियो।

'तपाईंको नाम?', हाम्रो प्रश्न। 

कहिले खाँटमा बस्ने, कहिले उठ्ने गरिरहेकी उनले जवाफ फर्काइनन्। हामीले सोध्न छाडेनौं - 'अहिले तपाईं कहाँ हुनुहुन्छ थाहा छ?'

'सुख पाउँला भनेर पोखरा आएको, महा दु:ख पाइयो। कति दु:ख भनेर साध्य नै छैन', उनले आकस्मात् एकै सासमा जवाफ दिइन्। हामीले प्रतिक्रिया जनाउनुअघि थचक्क बसेर भन्न थालिन् - सत्य सत्य बताउनुस् है माता।

उनको असामान्य व्यवहारले हामीलाई जिज्ञासु बनायो। उनका सुख दु:खबारे बुझ्ने प्रयास गर्नुथियो। त्यसैले कुराकानी अगाडि बढाउने जमर्को गर्‍यौं। केही समयमा उनलाई पनि हामीसँग केही सहज महसुस भएको बुझ्न सक्थ्यौं। बिस्तारै उनी आफ्नो मनको गाँठो फुकाउँदै गइन्।

***

तीन वर्षअघि दिलिप जैसीसँग प्रेम विवाह गरिन् हेमा मगरले। दैलेखका दिलिप र गोर्खाकी हेमा। पोखरा बस्दै आएका उनीहरु दुवै ज्यामीको काम गर्दथे।

विवाह लगत्तै हेमा गर्भवती भइन्। दिलिपको मात्र कमाइले खर्च धान्न धौधौ पर्न थाल्यो। कोठा भाडा र खाना खर्चसमेत जोहो गर्न मुस्किल। त्यसैले उनीहरूले गाउँ फर्किने योजना बनाए। हेमा खुशी थिइन्, विवाहपछि पहिलोपटक घर जाने कुराले। दिलिपको बुबाआमासँग गाउँमै बस्ने निर्णयलाई स्वीकारेकी थिइन् उनले।  

असारको समय। गाउँघरमा खेतीको समय। पोखराको बसाइ छाड्ने उनीहरुको निर्णय। सबैको तालमेल मिले झैं लाग्यो हेमा र दिलिपलाई।

झरी छिचोल्दै पोखराबाट दैलेख हिँडे उनीहरु। सुर्खेत पुगेर दिलिपको सानीआमाकोमा बास बसे। भोलिपल्ट बिहानै सुर्खेतबाट दैलेखका लागि निस्कनु थियो।

'दिनभरी बसको यात्राले थाकेका दिलिप बिच्छ्यौनामा पर्नसाथ निदाए। तर म निदाउन सकिन', विगत सुनाइन् हेमाले। छेउमा उभिएकी छोरीलाई काखमा राखिन्। सुम्सुम्याउँदै भनिन्, 'त्यतिबेला यो छोरी पेटमा थिइ। पाँच महिना भएको थियो।'

त्यस रात छटपटीमै बित्यो। जुन स्वभाविक थियो। नयाँ घरमा, नयाँ संसार सजाउन जाँदै थिइन्। पहिलोपटक लोग्नेको घर भित्रिने खुसीसँगै थोरै डर मिसिएको थियो उनमा।

तर, दैलेखको यात्रा गर्नै नपाइ त्यहीँबाट भत्कन थाल्यो उनले कल्पेको नयाँ संसार। त्यहींबाट सुरु भयो उनको दु:खका दिन।

'दैलेख हिँडेका हामी सुर्खेत पुगेर बस्यौं र त्यहीँबाट छुट्टियौं पनि,' निराश हुँदै हेमाले भनिन्।

विगतको घाउ कोट्याएकी हेमा चुप लागिन्। निराश देखिन्थिन् उनी। उनी केही शान्त भएको महसुस गरेपछि आमाछोरीका लागि खाना मगायौं हामीले। सोचेका थियौं – केही घुलमिल भइन्। अब पक्कै खान्छिन्। तर, सोचेजस्तो भएन।

'विष मिसाएर मार्न खोज्नेहरु छन् यहाँ। यो खाना खानु हुँदैन', उनले खानाको थाल पन्छ्याउँदै बोलिन्। पुन: मन्त्र पढेझै गर्न थालिन् उनी।

काखमा खेलिरहेकी छोरी खाना देखेर खुसी थिइन्। ती नाबालकलाई खुवाउने कोसिस गर्‍यौं। एक चम्चा खुवाएका पनि हौं। त्यसपछि हेमा दाह्रा किट्दै बोलिन् -'मार्छन् यहाँ मार्छंन्।' उनले आफ्ना दुई औंला जबर्जस्ती सानी छोरीको मुखमा घुसाइन्। छोरी रोइ रहेकी थिइन्। तर पनि उनले छोरीको मुखबाट त्यो खाना निकालेरै छाडिन्।

हाम्रो काखमा बसेकी छोरी आफूतिर तानिन्। चिच्याएर रोइरहेकी छोरीलाई आफ्नो छातीमा टाँसिन्। हामीसँग मुकदर्शक बन्नुको विकल्प थिएन।

भोक र प्यासले सुकेका स्तन चुसाइन्। छोरी चुप भइन्। हेमा रुन थालिन्।

दुई दिनदेखि आफै केही खाएकी थिइनन्। त्योभन्दा अघि पनि भोकै रहेका दिनहरूको हिसाब हामीसँग थिएन। तर, हेर्दा पातलो शरीर र सुकेका स्तन। त्यसबाट दुध आयो होला त?

***

रोइरहेकी उनी केही बेरमा शान्त भइन्। शान्त हुनुको अर्थ हामीले सोधेको प्रश्नको जवाफ दिनु। त्यो मौका छाडेनौं। किनकि दिलिपसँगको यात्रा कहाँ पुगेर टुंगियो? बुझ्नु थियो। सकिन्छ भने पुनर्मिलन गराउनु थियो उनीहरूको।

'सुर्खेत पुगेपछि के भयो त?', हामीले प्रश्नको फुर्का जोड्यौं।

उनले दिलिपसँगको सम्बन्धबारे बताइन्।

३२ वर्षको उमेरमा प्रेम विवाह गरेकी रहिछिन् उनले। जात मिल्दैन थियो। दिलिप जैसी, उनी मगर। मन मिलेको थियो उनीहरूको। तर जातकै कारण दिलिपको परिवारले हेमालाई बुहारी स्वीकारेन। 

उनीहरू सुर्खेत पुगेको दोस्रो दिन दिलिपका काका त्यहीँ पुगेछन्। जात नमिलेका कारण बुहारीलाई घरमा भित्र्याउन नसक्ने उनैले बताएका हुन्। हेमाको बुहारी भएर भित्रिने सपना त तुहियो नै। सँगै अथाह पीडा दियो, श्रीमानसँग छुट्टिनु पर्ने दबावले।

हेमाले आफू गर्भवती भएको सुनाइन्। त्यसपछि अर्को दबाव थपियो – गर्भपतनको।  

आफन्तको दबावमा हेमाले त नाइनास्ती नगरेकी होइनन्। दिलिपले भने प्रतिवाद गरेनन्। हेमाको चित्त नदुखेको होइन तर केही भन्न पनि सकिनन्। कारण, दिलिपमात्र उनका आफ्ना थिए।

'मान्छेहरू भन्थे, आकाशले थिचे झैं भयो। हो त्यस्तै भयो। धर्ती भासिए झै लाग्यो। कति रोइकराइ गर्दा पनि कसैले मेरो कुरै सुन्न चाहेनन्', हेमाले भनिन्।

पाँच महिनामा त पेटमा रहेको रगतको डल्लोप्रति पनि माया पलाइसकेको रहेछ। त्यसले उनलाई आमा हुनुको खुशी दिँदै थियो। त्यो खुशी जोगाउनु थियो। त्यसलाई बचाउनु थियो। त्यसकै लागि पनि आफू बाँच्नु थियो।

त्यसैले गर्भपतन गराउने शर्तमा उनी असमर्थ भइन्। रोइ कराइ गर्न थालिन्। दिलिपसँग आफ्नो मायाको पोको बचाउने आशा राखिन्। कसैको जबर्जस्ती लागेन। अन्त्यमा दिलिपले बच्चा नफाल्ने भए अहिले एक्लै पोखरा जाँदै गर्नुपर्ने र आफू केही समयपछि आउने बताए। चुपचाप श्रीमानको निर्णयमा सहमतिको मुन्टो हल्लाइन् र लागिन् पोखरा।

‘त्यहाँ बसे मार्लान् भन्ने डर भयो, राती नै भागेर आएँ नि’, उनले भनिन्। यती भनिसक्दा हेमा भक्कानिएर रुन थालिन्।

विवाहपछि पहिलोपटक श्रीमानको घर भित्रिने खुसीमा गएकी हेमा आफ्नै कोख रित्तिने डरले एक्लै फर्किन बाध्य भएकी रहिछन्।

कथा सुन्ने र सुनाउने सबै चुप। केहीबेर मौनता छायो कोठामा।

पोखरामा पनि सहज कहाँ थियो र उनलाई। पेटमा पाँच महिनाको गर्भ। खान बस्नको कुनै ठेगान थिएन। अभाव उस्तै। त्यहींको स्थानीय एक महिलाको सहारामा कहिले होटलमा भाडा माझ्ने त कहिले ज्यामी काम गर्न थालिन् उनले। 

'अहिले तँ जा म पछि आउँछु' भनेका श्रीमानको बाटो हेरिन्। पोखरा फर्किएको दुईमहिना बितिसक्दा पनि दिलिप आएनन्। सम्पर्क पनि गरेनन्। त्यसैले पुन: सुर्खेत हानिइछिन् हेमा, दिलिपलाई खोज्न।

त्यहाँ पुगेपछि थाहा पाइन्, दिलिप भारत हान्निए। त्यो खबरले नराम्रोसँग टुक्रिइन् उनी। पोखरा फर्किइन्। शरीर कमजोर भए पनि हिम्मत हार्नु थिएन उनलाई। आफूभित्र भएको सन्तानका लागि भएपनि सकी नसकी काम गर्थिन् उनी।

पोखरामा उनलाई साथ सहयोग पुर्‍याउने महिलासँगै काठमाडौं आइन् उनी। यहाँ पनि काम उही – होटलमा भाडा माँझ्ने। काम गर्दै पैसा जम्मा गर्दै थिइन् उनी। जन्मने बच्चाका लागि।

२०७५ सालको मंसिरमा हो उनले छोरीलाई जन्म दिएको। छोरी जन्मिएपछि दुई पेट भयो खाने। काठमाडौंको महंगीले कहाँ टिक्न दिन्थ्यो र? फर्किइन्, पोखरा।

कोखबाट काखमा आएकी छोरीलाई साथै लिएर हिँड्न थालिन्। सुत्केरी अवस्थामै काम गर्न थालिन्। नत्र कसले हेरिदिने? काम गर्न नहिँडे कसरी खाने कसरी खुवाउने? उनी छोरीलाई पिठ्यूँमा बोकेर ज्यामी काम गर्न थालिन्। शरीरले नसकेका दिन कसैको होटलमा भाडा माझेर आफ्नो छाक टार्न थालिन्।

‘दिलिप आउने आशा विस्तारै मर्दै गयो। छोरीको सहारा ममात्र थिएँ। उ बढ्दै जाँदा मेरो डर पनि बढ्दै गयो, कोही आएर मारिदिन्छन् कि भन्ने डर,'उनले सुनाइन्,‘यो छोरी बचाउन साह्रै दु:ख गरें।'

कमजोर देखिएकी हेमा र भोकले रोइरहेकी उनकी छोरीका लागि चिया र बिस्कुट दिन खोज्यौं। जसरी खाना खान मानिनन् त्यसैगरी पन्छाइन् चियाबिस्कुट पनि।

भोकभोकै टोलाइ रहेकी उनी एक्कासी चिच्याइन् - 'अनि मलाई न्याय कस्ले दिन्छ?' केहीबेर आक्रमक प्रस्तुत भएकी उनी शान्त हुन समय लागेन। यो पटक शान्त हुँदा पनि हाम्रो प्रश्न नसुनेझै गरिन्। केही बोलिनन्, टोलाइ रहिन्।   

हामी कोठामा भएको घण्टौं लामो अस्वभाविक संवादपछि निस्कँदा, मानव आश्रमको आँगनभरी उद्धार गरिएका मानिसहरू थिए। सबै आ-आफ्नै सुरमा।

हामी निस्किएको केहीबेरमा हेमा पनि निस्किएको देख्यौं। छोरी च्यापेरै। लाग्यो मलिन देखिने उनको अनुहारले हामीसँग मौन प्रश्न गरिरहेको थियो – मलाई न्याय कसले दिलाउँछ?

***

हेमा तीन महिनादेखि पोखरास्थित प्रहरी कार्यालय बाहिर सडकमा आश्रित थिइन्। जसलाई दुई दिनअघि प्रहरीले उद्धार गर्‍यो र पुर्‍यायो मानवसेवा आश्रम।

आश्रमकी स्वयंसेवक कुसुमका अनुसार ती महिला आएदेखि नै कोठामा बन्दी सरह समय कटाइरहेकी थिइन्। न कसैसँग बोल्ने न केही खाने। उनमा त्रास देखिएको थियो – आफू र आफ्नो छोरीलाई कसैले मार्ने। खानामा समेत अरुले आफूलाई मार्नका लागि विष राखेर दिएको सोच्थिन् उनी।

केही समय शान्त बस्ने उनी केही बेरमै आफूलाई माता चडेको भन्दै बर्बराउने रहेछिन्।

हेमा मानसिक समस्याबाट गुज्रिरहेको बताउँछन् आश्रमका स्वास्थ्यकर्मी उर्वीन सापकोटा। मानसिक असन्तुलनका कारण हेमाले माताको मात्र विश्वास गर्ने, केही खान दिए नखाने, रुने, कराउने गर्ने गर्छिन्।

हेमाको व्यवहार र उसको विगतबारे सुन्दा उनलाई 'साइकोसिस' अर्थात् मानसिक असन्तुनल भएको हुनसक्ने बताउँछन् मनोरोग वशेषज्ञ डाक्टर रितेश थापा।

हेमाको विगतका घटनाहरुसँग जोडिँदै आएका मानसिक तनावहरु समयमै व्यवस्थापन गर्न नसक्दा उनी त्यो अवस्थामा पुगेको हुनसक्ने बताए थापाले।

'गर्भवती हुनु नै महिलाका लागि एक प्रकारको तनाव हो,' त्यो सकरात्मक वा नकरात्मक जस्तो पनि हुनसक्छ,' उनले भने।

डा. थापाका अनुसार गर्भावस्थामा हर्मनहरु अत्यन्तै परिवर्तनशील हुन्छन्। त्यसको व्यवस्थापन गर्न नसक्दा महिलाहरुमा विभिन्न मानसिक समस्याहरु देखा पर्छन्। जुन हेमामा पनि देखा परेको देखिन्छ।

'जसले आफू गर्भावस्थामा हुँदा पारिवारिक दबाव, श्रीमानसँगको बिछोड भोग्नुपर्यो,' उनले भने, 'त्यसमाथि पोसिलो र स्वस्थ्यकर खाना त परकै कुरा राम्रोसँग खान बस्नेसम्म व्यवस्था गर्न नसक्दा कष्टकर जीवनयापन गरिन्।'  

यीनै अवस्थाहरूलाई कारक इंगित गर्छन् हेमाको मानसिक स्थितिको।

हेमाका कृयाकलापहरुबाट उनमा भएको मानसिक असन्तुलनको लक्षण भ्रामक विश्वास भएको डा.थापाले बताए। 'जसका कारण मेरो बच्चा र मलाई मार्छन् भन्ने भ्रम हेमाको विश्वासमा परिणत भइसकेको देखिन्छ', उनले भने।

मानसिक असन्तुलन भएका कारण हेमाले लामो समय मनोरोग विशेषज्ञको प्रत्यक्ष निगरानीमा औषधी सेवन र मनोपरामर्श उपचार विधि अपनाउनुपर्ने उनले बताए।

त्यसो त हेमा एक प्रतिनीधि पात्रमात्र हुन् आश्रमका लागि। हाल नेपालभर १५ जिल्लाका २२ वटा शाखामा अधिकांश मानसिक समस्या भएका करिब १६५० जना सडकआश्रितहरु आश्रमको छानामुनि रहेको आश्रमका केन्द्रीय सचिव सुमन वर्तौलाले बताए।

सहयोगापेक्षी सडक आश्रित अधिकांशमा मानसिक समस्या भएको हुनसक्नेमा सहमत छन् मनोरोग विशेषज्ञ डा. थापा।

थापाका अनुसार नेपाल सरकारद्वार असाहाय अशक्त र बेवारिसे मनोरोगी तथा मानसिक समस्या भएका व्यक्तिहरुको पुनर्स्थापना सम्बन्धि कार्यविधि २०७६ ले पनि सडक आश्रित मानसिक समस्या भएकाहरुलाई सम्बोधन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell