PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

निर्मला प्रकरणले प्रहरीलाई सिकाएको के थियो त्यस्तो पाठ जसले भागरथीको केस सुल्ट्याउन सघायो?



सविन ढकाल

निर्मला प्रकरणले प्रहरीलाई सिकाएको के थियो त्यस्तो पाठ जसले भागरथीको केस सुल्ट्याउन सघायो?

सडकबाट करिब ७० मिटर तल शव भेटियो। साँझ परिसकेको थियो। मौसम प्रतिकूल बन्दै गयो। प्रहरीले तत्कालै धनगढीबाट तालिम प्राप्त कुकुर मगायो। धनगढीबाट सडक मार्ग हुँदै बैतडीको दोगडाकेदार गाउँपालिका पुग्न केही घण्टा खर्चिनुपर्ने थियो - दुई सय किलोमिटर पार गर्नुपर्थ्यो।

राति नै कुकुर लगियो। कुकुर पुग्दा पानी परिरहेको थियो। त्यसैले गर्दा प्रहरीको कुकुरले खासै सङ्केत गर्न सकेन। घटना बैतडीकी १७ वर्षीया भागरथी भट्टको हो। भट्टको हत्या गरिएको अवस्था माघ २२ गते साँझ जङ्गलमा शव फेला परेको थियो।

दुई वर्ष अघि (२०७५ साउन ११ गते) कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको केस पनि कतै कतै भागरथीको झैँ लाग्न सक्छ। निर्मलाको शव पनि हराएको भोलिपल्ट बिहान भेटिएको थियो। भागरथीको झैँ स्थानीयले नै पहिलो पटक शव देखेका थिए उनको। सडकबाट करिब ७० मिटर भित्र रहेको उखुबारीमा। अघिल्लो दिनदेखि नै पानी परेको थियो।

त्यस घटनामा पनि प्रहरीको कुकुरले अनुसन्धानलाई ट्र्याक गर्नसक्ने थिएन होला। तर, निर्मलाको घटनामा कुकुर घटनास्थलबाट बैतडीको तुलनामा नजिकै भए पनि मगाइएन। न त केन्द्रमा रहेका प्रहरीले कुकुर प्रयोग गर्न निर्देशन नै दिए। जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले पनि कुनै मेसो नै पाएनन्। जसको परिणाम आम मानिसले अझै पनि निर्मलाको घटनामा कुकुर किन प्रयोग भएन भनेर प्रश्न गरिरहेका छन्। प्रहरीले कुकुर प्रयोग हुनसक्ने अवस्था थिएन भनेर जवाफ त दिन सक्छ। तर, त्यस्तो प्रष्टिकरण पत्याउने र सुन्ने चाहना चाहिँ मानिसमा छैन। सबैको मनोविज्ञानमा पनि कुकुर प्रयोग भएको भए अनुसन्धानले केही रिजल्ट निकाल्थ्यो भन्ने नै हुनु स्वभाविक हो। कुकुर प्रयोग नहुँदा निर्मला प्रकरणम उब्जिएका शंकामा थप बल पुग्यो।

तर, भागरथीको घटनामा कसैले पनि कुकुर किन प्रयोग भएन भनेर प्रश्न गर्ने ठाउँ छाडेर प्रहरीले। किनकि निर्मलामा भएको गल्ती भागरथीको केसमा प्रहरीले दोहोर्‍याएन। निर्मलाको हत्यारा पत्ता लाग्न नसक्दा सयौं अनुसन्धानमा सफलता हात परे पनि प्रहरीलाई निर्मलाको घटनाले सधैं असफल साबित गराइरहनेछ। अहिलेसम्म निर्मला घटना प्रहरीका लागि सबैभन्दा असफल मध्येको अनुसन्धानमा गनिएको छ। तर, निर्मलाको घटनाबाट प्रहरीले अन्य यस्तै प्रकृतिका घटनामा अपराधीसम्म पुग्न धेरै टिप्स पाएको छ। अर्थात्, निर्मला घटनाले प्रहरीलाई धेरै कुरा सिकाएको छ।

पहिले छोरी हराएको भन्दै दैनिक प्रहरीमा जानकारी आउँथे। अहिले पनि आउँछन्। तर, प्रहरीले पहिले जसरी त्यसलाई सामान्य ढङ्गले लिने गर्थ्यो, अहिले त्यो पटक्कै गर्न सक्दैन। कतै आफ्नो कारणले केही घटना भए त्यसको भागिदार बन्न नपरोस् भन्ने प्रहरीमा पनि पर्न थालेको छ। निर्मला घटनामा अस्थायी प्रहरी पोस्ट सल्लाघारीमा रिपोर्ट दिन पुग्दा मध्यरात भइसकेको थियो। त्यसपछि प्रहरीले रेस्पोन्स नगरेको आरोप खेप्नुपर्‍यो।

भागरथी घटनामा यस्तो भएन। प्रहरीलाई निर्मला घटनाले हानेको झापडको रन्को अझै सेलाएको छैन। निर्मला घटनाले प्रहरीमा नकारात्मक छापमात्र छोडेन, एउटा नजिर पनि बसायो। जब कुनै बलात्कारपछि हत्याको घटना हुन्छ तब प्रहरीले एक पटक निर्मला घटनालाई सम्झिन्छ। त्यसको उदाहरण घटनास्थल र भेटिएका सबुद सङ्कल नै हो।

घटनास्थलमा क्राइम सिन प्रोटेक्सन (पहेँलो) टेप लगाएर प्रवेश निषेध गर्नुपर्ने, घटनास्थलमा सिन अफ क्राइम (सोको अफिसर) खटिने जस्ता विषयमा सक्रियता थप बढेको छ। निर्मला प्रकरणमा सिन प्रोटेक्सन भएन। त्यहाँ सयौं मानिस पुगे। भागरथी घटनामा प्रहरीले सबै व्यवस्था अपनायो। यतिसम्म कि पानीले बिगार्ला भनेर ओत समेत दिइयो, घटनास्थललाई। घटनास्थलबाट प्राप्त प्रमाणहरू सुक्ष्म रूपले उठाइयो। घटनास्थललाई सुरक्षित नगर्दा के हुन्छ? कतिसम्मको आरोप सङ्गठनले खेप्नुपर्ने रहेछ भन्ने सिक्यो प्रहरीले।

भागरथी घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदी आफैँ घटनास्थल पुगे। उनी आफैँ अनुसन्धान र कमान्डमा खटिए। उनीमात्र होइन शव भेटिएपछि सीडीओ, जिल्ला न्यायाधीवक्ता समेत घटनास्थल पुगे। तर, यही कुरा निर्मलाको घटना भने भएको थिएन।

निर्मला प्रकरणमा करिब ४ किलोमिटरको दुरीमा पर्ने घटनास्थल पुग्न जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई केही दिन नै लागेको थियो। त्यसको असर, एसपी विष्टले आम मानिसलाई सम्बोधन गर्न सकेनन्। पछिसम्म प्रहरीले घटनाको अनुसन्धान गर्ने साथ नपाउनुमा त्यो पनि एउटा कारण रह्यो। साथमात्र होइन मानिस यति रुष्ट देखिए कि प्रहरीको छेउमा पर्न समेत तर्किन्थे निर्मला प्रकरणमा।

बैतडीको सिन ठीक विपरित रह्यो। यी सबै हुनुको कारण भने निर्मला प्रकरणले सिकाएको पाठ नै हो। निर्मला प्रकरणमा पनि त्यतिखेरका कार्यवाहक प्रदेश प्रहरी प्रमुख घटनामा यसरी नै गएर निर्देशन दिएको भए के हुन्थ्यो? निर्मला प्रकरणमा तल्लो तहका प्रहरी कर्मचारीलाई दोष थुपारेर माथिल्ला अधिकारी चोखो हुने तिकडम नै चाहिन्थेन।

केन्द्रले कतिखेर निर्देशन दिने? कतिसम्म मात्र निर्देशन दिने? अनि कति प्रेसर दिने भन्ने कुराको हेक्का निर्मला प्रकरणबाट प्रहरीले गरेको देखिन्छ यसपालाको अनुसन्धान शैली हेर्दा।

त्यतिमात्र होइन, प्रहरीले गृह मन्त्रीदेखि राजनीतिक दललाई कसरी ब्रिफिङ गर्नुपर्छ भन्ने पनि निर्मला प्रकरणले केही सिकायो नै। निर्मला प्रकरणमा गृहमन्त्री रामबहादुर थापालाई तत्कालीन आइजी सर्वोन्द्र खनालले घटनाक्रम विकसित नहुँदै धेरै कुरा ब्रिफिङ गरेका थिए। त्यसको असर एक दिन संसदमा गृहमन्त्री थापाले निर्मला प्रकरणमा घटनाबारे जानकारी गराउँदै भने, 'आफन्तले दिएको जानकारीका आधारमा दुई जनालाई पक्रिसकेका छौँ - २२ वर्षका जीवन घर्ती मगर र १७ वर्षका दीपक नेगी।'

उनको यो बोलीले स्थानीयलाई झनै चिढ्याएको थियो। प्रहरीले यी दुई जनालाई साधारण सोधपुछका लागि लिएका थिए। घटनासँग कुनै पनि नाता नरेहका दुवै जना अन्तत: अनुसन्धानको दायरबाट हटे। तर, गृहमन्त्रीको त्यही बोलीले धेरैमा शङ्का उब्जायो। अहिले पनि प्रहरीले घटनाबारे गृह मन्त्रीलाई ब्रिफिङ नगरेको होइन, जति ब्रिफ भए, प्रोफेसनल शैलीमा मात्र। शङ्का छ तर प्रमाण नभए केही भन्न मिल्दैन भन्ने कुरा पनि स्थापित गरेको थियो, निर्मला प्रकरणले।

'उहाँहरू राजनीतिक मान्छे। माहोल बनाउन के बोल्दिनुहोला त्यो भन्दा नाम नै नसुनाए जाती लाग्यो,' एक उच्च प्रहरी अधिकृतले फेरिएको शैलीबारे भने।

उनलाई यस्तो भन्ने आँट अरूबाट होइन, निर्मला घटनाले नै दिलाएको हो। त्यस्तै, बलात्कारको घटनामा डीएनए परीक्षण पनि हुन्छ र गर्नुपर्छ भन्ने कुरा आम मानिससँगै प्रहरीलाई यही घटनाले सिकायो। डीएनए के हो? यसले कसरी प्रमाणित गर्छ भन्ने धेरै प्रहरी अफिसरले बुझे। तर, प्रहरीलाई यो पनि थाहा छ कि डीएनएबाट मात्रै अपराधी पत्ता लाग्ने होइन। स्वाब लिफ्टिङ गर्दा कसरी सुरक्षित गर्ने भन्ने पनि निर्मला प्रकरणले राम्रोसँग ज्ञान दिएको छ।

निर्मला प्रकरणमा पहिलो दिनदेखि नै प्रहरी र पीडित बिच विश्वासको सङ्कट सुरु भएको थियो। स्थानीयसँगको विश्वास प्रहरीले गुमाइरहेको थियो। त्यसैमा २०७५ भदौ ४ गते अभियुक्तको रूपमा दिलीप सिंह विष्टलाई सार्वजनिक गर्‍यो। पहिले नै अविश्वासको खाडल खनेको प्रहरीमाथि मानिसहरुले विश्वास गरेनन्। साबित बयान प्रहरीको प्रमाण भए पनि त्यसलाई त्यहाँको राजनीतिक माहोल र समाजले अस्वीकार गर्‍यो। प्रमाण देखाउन प्रहरीसँग अरु कुनै तथ्य थिएन। झन् डीएनए नै नमिलेपछि प्रहरीले दिलीपलाई अदालत उपस्थित गराउन नपाउँदै छोड्नपर्ने अवस्था आयो। निर्मलाको केसमा जसरी डीएनए लिइयो, त्यो नै गलत सावित भइसकेको छ। साथै हतारमा अभियुक्त सार्वजनिक गर्दा सबैभन्दा बढी संदेहमा रहेका व्यक्ति निर्वाध छुट्न सके। यी सबे हुनुमा प्रहरीको शैली नै कारक बन्यो।

भागरथीमा पनि प्रहरीले शंकाकै दायराबाट अभियुक्तहरुलाई न्यारो डाउन गर्दै लग्यो। तर, यस घटनामा निर्मलाको जस्तो साविति बयानमात्र रहेन। केही प्राविधिक पक्षका आधारमा दोषी को हो भन्ने बुझ्न सपोर्ट पनि गरेको छ। अपराधी चाँडो पक्राउ गर्न प्रहरीमाथि दबाब थियो यो केसमा पनि। तर, प्रहरी अन्य प्रमाण जुटाएरमात्र अभियुक्त सार्वजनिक गर्ने रणनीति लियो। यदि निर्मला प्रकरण नभएको भए भन्न सकिँदैन थियो, भागरथीको केस यसरी सुल्टिन्थ्यो।

हिजो भागरथीको दाह संस्कार भयो। अभियुक्तले सरकारी वकिलको कार्यालयमा आफ्नै बाबुको सामुन्ने बलात्कार र हत्या स्वीकार गरे। निर्मला प्रकरणमा प्रहरीमाथि लागेको दाग भागरथीको घटनामा पाएको सफलताले थोरै भए पनि मेटाएको छ। तर, निर्मलाको हत्याको केस नसुल्टिएसम्म प्रहरीले हासिल गर्ने कुनै पनि सफलताको केसले 'बद्‍नामको दाग' मेट्ने डिटर्जेन्टको काम गर्न सक्नेछैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell