PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

देश चुनावमय भइसकेको नेम्बाङको दावी, प्रचण्ड-नेपाललाई नामै नलिइ गाली, काँग्रेसको चाहिँ तारिफ



पहिलोपोस्ट

देश चुनावमय भइसकेको नेम्बाङको दावी, प्रचण्ड-नेपाललाई नामै नलिइ गाली, काँग्रेसको चाहिँ तारिफ

विराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले चुनावको माहोल सुरु भइसकेको बताउँदै सर्वोच्च अदालतले फैसला गरेसँगै सबै दल चुनावका लागि उत्रिने दावी गरेका छन्। उनले नाम उल्लेख नगरी आन्दोलनरत नेकपामा नेताहरुमाथि व्यङ्ग्य गरे भने नेपाली काँग्रेसको प्रशंसा गरे। 'विपक्षी दलका साथीहरु संविधान अनुसार चाहिँ मिलाएन भन्दै जिल्ला जिल्लामा, वडा वडामा, निर्वाचन क्षेत्रमा रुख चिन्ह प्रदर्शन गर्दै हिड्नुभएको छ,' नेम्वाङले भने।

सत्ताको शक्ति प्रदर्शनको क्रममा विराटनगरामा आयोजित प्रदेश १ नम्बरको सभामा सम्बोधन गर्दै नेम्वाङले प्रतिनिधिसभा विघटनको विषयमाथि सर्वोच्चमा बहस सकिएको जनाउँदै ११ गतेदेखि १५ गतेभित्र फैसला आउने बताए। 

'प्रतिनिधिसभा विघटनपछि विभिन्न कोणबाट प्रश्न गरियो। कसैले संविधानसम्मत भने कसैले संविधान विरोधी भने। कसैले प्रतिगमन भने। प्रधानमन्त्रीको कदमलाई लिएर राष्ट्रपतिलाई विवादमा तान्ने भयो। विवादमा तान्ने क्रम अहिले पनि जारी छ,' नेम्वाङले भने, 'प्रधानमन्त्रीज्यू भन्नुहुन्छ विघटन उहाँको अधिकार हो। उहाँ दुई तिहाइको प्रधानमन्त्री, संसदमा कसैले विरोध कसैले गरेका छैनन्, अविश्वास प्रस्ताव राखेका छैनन्।' 

उनले दुई तिहाइको प्रधानमन्त्री भएकाले ओलीले विघटन गर्न पाउने दावी गरेको बताएको भन्दै त्यो भनाइ चाहिँ आफ्नो नभएको बारम्बार सम्झाइरहे। 

'संसदीय दलमा निर्विवाद, संसदमा निर्विवाद। काम गर्न भने नपाउने। संवैधानिक परिषदको बैठक राख्न नपाउने। राख्यो भने निर्णय गर्न नपाउने। दुई तिहाइको प्रधानमन्त्री भएर काम गर्न नपाएको उहाँको भनाइ छ,' उनले भने। 

प्रधानमन्त्रीले जनता गुहार्न जान पाउने अधिकारी भन्दै ओलीले जनतासँग गुहार माग्न जान पाउने कि नपाउने प्रधानमन्त्रीको प्रश्न छ भन्दै आफ्नो धारण राखे। 'हाम्रो संविधानले अदालतमा मुद्दा परिरहेका बेलामा संसदमा समेत बोल्न पाइन्न। हाम्रा साथीहरु घाँटीमा प्ले कार्ड भिरेर सर्वोच्चले नेपाली बुझ्दैन भनेर इजलासबाट न्यायाधीशहरुले देख्ने गरेर बसेको देखेजस्तो लाग्यो, खुट्याउन सकिन,' उनले भने,
'कोही भन्नुहुन्छ - हामीले सोचेजस्तो फैसला गरेनन् भने सडकमा घिच्याएर जनताले ल्याउने भनेका छन्। मैले बुझ्न सकिन, के हो, कसलाई धम्क्याएको?'

निर्वाचन हुने विषयमा प्रधानमन्त्री ओली दुई सय प्रतिशत विश्वस्त रहेको दावी गर्दै उनले आफू प्रधानमन्त्रीमाथि विश्वस्त रहेको दावी गरे। 

'प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते निर्वाचन हुन्छ भनिसक्नुभयो। म चाहिँ कानुनको विद्यार्थी, म भन्दिन। तर प्रधानमन्त्रीले भन्नुभएको छ - लोकतन्त्रमा जनताको बिचमा जान नपाएर कहाँ जाने त? त्यो कुरामा सयमा दुई सय प्रतिशत विश्वस्त हुनुहुन्छ। म आफू आफ्नो कुरा भन्दिन, अदालतले फैसला गरेको भोलिपल्ट भन्छु,' उनले भने। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell