विराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारा चाँडै पत्ता लाग्ने बताएका छन्।
सत्तारुढ दलको शक्ति प्रदर्शनका क्रममा विराटनगरामा आयोजित प्रदेश १ नम्बरको सभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले भागरथी भट्टको हत्यारालाई कानुनको कठघरामा उभ्याउन सफल भएकाले अब निर्मलाको हत्यारा पनि चाँडै पत्ता लाग्ने दावी गरेका हुन्।
'निर्मलाको हत्यारा, त्यो बलात्कारी पनि हाम्रो कानुनको पत्र्जाको नजिक आइसकेको छ। चाँडै सफल हुन्छौं,' गृहमन्त्री थापाले भने।
२०७५ साउन भदौ ११ गते कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। तर, घटना भइसकेको दुई वर्ष बितिसक्दा पनि हत्यारा पक्राउ परेको छैन। माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी हत्या भएको थियो। प्रहरीले हत्याको अभियोगमा एक किशोरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
गृहमन्त्री थापाले आफ्नो कार्यकालमा देशभित्र भएका अपराहरु समेत कमी आएको दाबी गरेका छन्। देशभित्रको गुन्डागर्दी, भ्रष्टाचार, महिला हिंसाका घटना समेत कमी आएको बताए। गृहमन्त्री थापाले सभालाई सम्बोधन गर्दै भने, 'यो सरकारले कुनै पनि अपराधीलाई छुट दिनेछैन। भ्रष्टाचारीलाई छुट दिनेछैन।'
गृहमन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद गुटबन्दी,फुटबन्दी, अवसरवादीको कारण भएको बताए। पार्टीबाट फुटेका नेताहरु पनि चुनावमा होमिसकेको उनले बताए। 'उनीहरु निर्वाचन चिन्ह हामीले पाउनु पर्ने दावी गरे। संसदको पुनर्स्थापना गर्न किन चुनाव चिन्ह चाहियो? उनीहरु पनि चुनावमा होमिसकेका छन्। प्रतिपक्षहरु पनि होमिएका छन्,' थापाले भने।
गृहमन्त्री थापाले प्रतिपक्षी दलले समेत अदालतको निर्णय मान्ने भनेर घोषणा गरेकाले उनीहरु निर्वाचनमा जान लागेको दाबी गरेका हुन्।