PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ईश्वर पोखरेलको दावी : वैशाख १७ र २७ गते निर्वाचन हुनबाट कसैले रोक्न सक्दैन



पहिलोपोस्ट

ईश्वर पोखरेलको दावी : वैशाख १७ र २७ गते निर्वाचन हुनबाट कसैले रोक्न सक्दैन

जनकपुरधाम : उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनबाट कसैले रोक्न नसक्ने दावी गरेका छन्।

धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री पोखरेलले देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि निर्वाचन बाहेकको विकल्प नरहेकोले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने दावी गरे। उनले आगामी निर्वाचनका लागि सबैलाई तयार रहन आग्रह समेत गरे।

उनले भने, ‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन्। जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन्। त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ। राजनीतिक स्थिरताका लागि अहिलेको विकल्प मध्यावधिक निर्वाचन नै हो।’

आफ्नै पार्टी भित्रका केही तत्वहरुले सरकारलाई काम गर्न नदिएकोले प्रधानमन्त्री ओलीले संसद विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको उनको भनाइ थियो।

उपप्रधानमन्त्री पोखरेलले भने, ‘पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई धक्का मारेर म्युजिकल चेयरमा बसे जस्तै बस्न खोजेपछि संसद विघटन गरी जनताको बीचमा जाने निर्णय गरिएको हो।’

उनले नेकपाका अर्का अध्यक्ष प्रचण्ड ३३ वर्ष र माधव नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनेर बसेपनि अहिलेसम्म उनीहरुलाई पदकै लोभ रहेको जिकिर समेत गरे।

उनले भने, ‘हामी युवा पुस्तालाई नेतृत्व दिन चाहन्छौँ तर उनीहरु कुर्सीमै प्राण त्याग्न चाहन्छन्।’

एक अर्को प्रसङ्गमा उनले धनुषासँगको भारतीय सीमा नाकाहरु खोल्नुपर्ने आवश्यकता रहेकोले सरकारले जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नाका खोलाउन पहल गर्ने प्रतिबद्धता समेत जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell