PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सुनसरी पुगेर देउवालाई पौडेलको प्रश्न : अदालतसँग सेटिङ हो? होइन भने किन अदालतले जे गर्छ त्यही हुन्छ भनिदैछ?



पहिलोपोस्ट

सुनसरी पुगेर देउवालाई पौडेलको प्रश्न : अदालतसँग सेटिङ हो? होइन भने किन अदालतले जे गर्छ त्यही हुन्छ भनिदैछ?
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको प्रतिनिधिसभा विघटनसम्बन्धी भनाइमाथि प्रश्न गरेका छन्। नेपाली कांग्रेस सुनसरीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले देउवाको भनाइमाथि प्रश्न गरेका हुन्।

कांग्रेसले अदालतलाई खबरदारी गर्नैपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यस कदमलाई असंवैधानिक भन्दै विरोध जनाएको छ। यद्यपि यस कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि भने यसबारे कांग्रेसमा दुई धार देखिएको छ।

कांग्रेस सभापति देउवा अदालतलाई सडकबाट धम्क्याउन नमिल्ने भन्दै जस्तो निर्णय आए पनि स्वीकार्नु पर्ने अडानमा देखिन्छन् भने वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा पुनर्स्थापना हुनै पर्ने अडानमा छन्।

देउवाको अडानमाथि प्रश्न गर्दै पौडेलले कतै सर्वोच्चसँग सभापतिको सेटिङ त हैन भनी आशंका गरेका छन्।

‘अहिले अदालतका बारेमा किन बोल्ने भनिदैछ? कांग्रेसको इतिहास खोजौँ कहाँ के के भएको छ। हामीले किन नबोल्ने? हामी त जनता हौँ’, पौडेलले भनेका छन्, ‘हामी बेखबर बस्न मिल्दैन। मोही माग्ने ढुंग्रो लुकाउने हुँदैन। कांग्रेसले अदालतलाई पनि खबरदारी गर्नुपर्छ। अहिले मलाई प्रश्न गर्न मन लागेको छ। अदालतसँग सेटिड हो? होइन भने किन अदालतले जे गर्छ त्यही हुन्छ भनिदैछ?’

संसदको विघटन सामान्य विषय नभएको भन्दै पौडेलले ओलीलाई यसको हिम्मत कसरी आयो? भनी प्रश्नसमेत गरेका छन्।

उनले भने, ‘संसदको विघटन गर्ने हिम्मत प्रधानमन्त्रीलाई कहाँबाट आयो? प्रधानमन्त्रीले संविधानका विषयमा थाहा नपाएको होइन नि? संविधान बनाउँदाका एकएक मान्छे अग्नि खरेल, सुवास नेम्वाड, केपी ओलीलाई अहिले सल्लाह दिने स्थानमा छन्। त्यसो भएकाले केपी ओलीले लहडमा लागेर संसद विघटन गरेका छैनन्। यसैले यो गम्भीर विषय हो।’

नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै यो कदमको विरोधमा कांग्रेसले देशभर आन्दोलन गरेको पौडेलले बताए।

‘कांग्रेसले अदालतले जे गर्छ त्यही ठीक भन्नका लागि ओलीको कदमको विरोध देशभर गरेको हैन नि। हामीले त अहिले नै देशभर ओलीको कदमको विरोधमा उत्रिएका छौँ,’ उनले भने।

त्यस कारणले कांग्रेसका नेताहरुको दुई थरी विचार आयो भन्नेमा आम नेता कार्यकर्ता अन्योलमा पर्नु नपर्ने पौडेलको भनाइ थियो। 

खेत रहेमात्र बाली लगाउन पाइने उल्लेख गर्दै उनले प्रश्न गरे, ‘खेतै बगायो भने कहाँ बाली लगाउने? त्यसकारण पहिले संविधान जोगाउन लाग्ने र संविधान जोगाएपछि चुनावमा लाग्ने।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell