PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बाल वाङ्मयको साधारण सभा, बाल साहित्य समाजका नवनिर्वाचित समिति सम्मानित



बाल वाङ्मयको साधारण सभा, बाल साहित्य समाजका नवनिर्वाचित समिति सम्मानित

ललितपुर : बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको पाँचौ वार्षिक साधारणसभा ललितपुरको धापाखेलस्थित जुगल स्कुलमा सम्पन्न भयो। केन्द्रका सल्लाहकारसमेत रहेका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको प्रमुख अतिथ्यमा शनिवार साधारण सभा सम्पन्न भएको हो।

साधारण सभाले महासचिव एकराम सिंको प्रतिवेदन तथा कोषाध्यक्ष शान्ति सापकोटाको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। कार्यक्रममा केन्द्रलाई साधारण सदस्य तथा पदाधिकारीले आगामी दिनमा गर्नुपर्ने काम तथा योजना निर्माणबारे सुझावसमेत दिएका थिए। कार्यक्रममा संस्थाका अध्यक्ष प्रमोद प्रधानले केही नयाँ आजीवन सदस्यलाई समेत केन्द्रमा स्वागत गरेका थिए।

बाल वाङ्मय बाल साहित्यमा समर्पित सक्रिय लेखक तथा चित्रकारहरुको संस्था भएको संस्थाका उपाध्यक्ष विजयराज आचार्यले बताए।

प्रमुख अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कर्माचार्यले बाल साहित्य बालबालिकाको मेरुदण्ड भएको बताए। कर्माचार्यले बाल साहित्यलाई अघि बढाउन अन्तरक्रियाहरु बढाउनुपर्नेमा जोड दिए।

केन्द्रका पूर्व महासचिव प्राध्यापक डा रमेश भट्टराईले हरेक प्रदेशमा केन्द्रले सम्पर्क बढाउन सक्ने उल्लेख गर्दै अबका दिनमा विज्ञान फिक्सनमा बाल साहित्य केन्द्रित हुनुपर्ने सुझाव राखे।

केन्द्रका अध्यक्ष प्रधानले संस्थामा नयाँ पुस्तालाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए। कार्यक्रममा दिवंगत बाल साहित्य सर्जक एवं केन्द्रका संस्थापक अध्यक्ष विनय कसजुको स्मरण गरिएको थियो। केन्द्रका सदस्य एवं पूर्व सचिव अनन्त वाग्लेको स्वागतपछि शुरु भएको कार्यक्रम सचिव मञ्जु ज्ञवालीले सञ्चालन गरेकी थिइन्।

बाल समीक्षा पुस्तक विमोचित

कार्यक्रममा 'मेरा दृष्टिमा एक्काइस बालकथा' बाल समीक्षा पुस्तकसमेत विमोचन भयो। कुलपति कर्माचार्य, बाल साहित्य समाजका नवनिर्वाचित अध्यक्ष डा ध्रुव घिमिरेलगायतले उनको पुस्तक विमोचन गरेका हुन्।

पुस्तक मञ्जरी सेकेन्डरी स्कुल गोल्फुटारको कक्षा ५ मा अध्ययनरत सोइना दाहालले लेखेकी हुन्। लकडाउनको समयमा आफूले पढेका २१ नेपाली बालकथाहरुको सार र आफ्नो दृष्टि पुस्तकमा समावेश रहेको १० वर्षीया दाहालले बताइन्।

छोरीले पढेको कतिको बुझेको छ भनी जाँच्ने क्रममा लेख्न लगाइएको सामग्रीले पुस्तकाकार रुप लिएको उनका बुवा सोमनाथ दाहालले बताए। पुस्तकमा रमेश विकल देखि यशु श्रेष्ठसम्मका कथाकारका कथाहरुमाथि सोइनाको दृष्टि प्रस्तुत गरिएको छ।

बाल साहित्य समाजका नवनिर्वाचित पदाधिकारी तथा सदस्य सम्मानित

कार्यक्रममा बाल वाङ्मयले बाल साहित्य समाजका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई कुलपति कर्माचार्यले टीका लगाएर तथा केन्द्रका उपाध्यक्ष आचार्यले माला लगाएर सम्मान गरेका हुन्। गत माघ ३ गते भएको निर्वाचनमा डा घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो

समाजको उपाध्यक्षमा केन्द्रका अध्यक्ष प्रधान, महासचिवमा यशु श्रेष्ठ, सचिवमा यादवी ढकाल, कोषाध्यक्षमा राजेन्द्रभक्त प्रधान निर्वाचित भएका थिए। समाजको सदस्यहरुमा सुशीला प्रधानाङ्ग, मञ्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे, उद्वव प्याकुरेल र एकराम सिं निर्वचित भएका थिए।

सम्मानपछि समाजका अध्यक्ष घिमिरेले आफूहरु केन्द्रसँग सहकार्य गर्न सदैव तयार रहेको बताए। समाजले जिल्लाजिल्लामा कार्य विस्तार गर्नुपर्ने खाँचो औंल्याउँदै उनले यसमा केन्द्रको पनि सहयोगको जरुरी हुने बताए।

केन्द्रका उपाध्यक्ष आचार्यले समाजले मातृ संस्थाको भूमिका निभाउन सक्नुपर्ने उल्लेख गर्दै नबाझिने खालका कार्यक्रममा सहकार्य गर्न तयार रहेको वचन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell