अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसको खोप लिएका छन्। यससँगै अस्ट्रेलियामा खोपको सुरुवात भएको छ।
खोपप्रति कायम रहेको संशय हटाउने उद्देश्यका साथ उनले लगाएको खोपको टेलिभिजनमार्फत् प्रचार गरिएको छ। सर्वसाधारणलाई खोप सुरक्षित रहेको संदेश दिन यस्तो गरिएको हो।
सोमवारबाट औपचारिक रुपमा खोपको सुरुवात हुँदैछ। एक सातामा ६० हजार मानिसले खोप लगाउने अपेक्षा गरिएको छ।
सरकारले खोप लगाउने तयारी गरेको पूर्वसन्ध्यामा 'खोप विरोधी' प्रदर्शन भएको थियो। आज भएको प्रदर्शनले खोपप्रति पानीलाई थप संशय पैदा गरेको छ।
प्रधानमन्त्री मोरिसिनसहित चिकित्सकहरुले आज खोप लगाएका हुन्। फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी र केयर होम रेसिडेन्सले खोप लगाएका हुन्। अस्ट्रेलियाका चिफ नर्स प्रोफेसर एलिसन म्याकमिलन र चिफ मेडिकल अफिसर प्रोफेसर पावल केलीले पनि खोप लिएका छन्।
'भोलिबाट हाम्रो खोप कार्यक्रम सुरु हुनेछ, त्यसको पर्दा उघार्न आज हामीले खोप लगाउँदै - यो सुरक्षित रहेको संदेश दिन चाहन्छौं,' मोरिसनले भने।
अस्ट्रेलियामा सुरुवात भएको खोप फाइजर हो जसलाई यहाँको सरकारले अनुमति दिएको छ। एस्ट्राजेनिका र अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको खोपलाई पनि सरकारले मान्यता दिएको छ जुन एक महिनापछि लगाउन सुरु गरिने बताइएको छ।
यी दुवैखाले खोप विश्वका धेरै मुलुकमा लगाउन सुरु भइसकेको छ।
अस्ट्रेलियामा प्राथमिकताको सूचीमा रहेका ७ लाख फ्रन्टलाइनमा रहेर काम गर्नेहरु परेका छन्। स्वास्थ्यकर्मी, सीमा सुरक्षा बल र केयर होम तथा घरमा काम गर्नेहरु यो सूचीमा छन्।
