PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस, ५ जना सदस्य पछि हटे



प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस, ५ जना सदस्य पछि हटे

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेश सभामा टेबुल भएको छ। २ बजे शुरु हुने भनिएको बैठक ४ बजे शुरु हुने बित्तिकै सभामुख प्रदीप कुमार भण्डारीले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्न आग्रह गरेका हुन्।

प्रदेश सदस्य एवं नेकपाका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरे। आङ्बोले प्रस्ताव पेश गर्नसाथ सभामुख भण्डारीले बैठक फागुन २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराए।

आङ्बोले राईविरुद्ध पुस १२ गते ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए।

आङ्बोले प्रधानमन्त्रीले निर्वाचन गर्न होइन निरंकुशता र सर्वसत्तावादतर्फ जान विघटन गरेको र यो प्रतिगामी कदम भएको बताए। प्रदेशमा प्रधानमन्त्रीको कदमलाई लिएर मुख्यमन्त्रीसँग मतान्तर भएकाले अविश्वासको प्रस्ताव दर्ता गरेको बताए। अविश्वासको प्रस्तावमा छलफल गर्ने र लोकतान्त्रिक ढंगले फेस गर्ने कुरामा प्रदेश सरकार तल्लिन नदेखिएको आरोप लगाए। सरकारले संदसमा फेस गर्नुपर्ने र संसदले गरेको निर्णय मान्नुपर्ने उनको माग छ।

अविश्वासको प्रस्तावमा सुरुमा ३७ जनाको हस्ताक्षर रहेकोमा ५ जनाले फिर्ता लिएका छन्। प्रदेश सभामुख भण्डारीका अनुसार प्रदेशसभा सदस्यहरु जसमाया गमजेर, गोपालचन्द्र बुढाथोकी, शिवप्रसाद मैनाली, बसन्तीदेवी यादव र कला घले अविश्वासको प्रस्तावबाट ब्याक भएका हुन्।

अविश्वासको प्रस्ताव छलफलका लागि पेस भएसँगै सभामुख भण्डारीले फागुन २० गते विहीवार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell