PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

वकिलहरु भन्छन्: 'प्रधानमन्त्री ओली श्री ३ भइसक्नुभयो, अदालतमाथि दुवै पक्षबाट हमला'



पहिलोपोस्ट

वकिलहरु भन्छन्: 'प्रधानमन्त्री ओली श्री ३ भइसक्नुभयो, अदालतमाथि दुवै पक्षबाट हमला'

काठमाडौं : अधिवक्ताहरुले प्रतिनिधिसभा विघटनको मुद्दामा दुबै पक्षबाट अदालतमाथि हमला भएको बताएका छन्।

संसद विघटनबारे आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै चार जना अधिवक्ताले दुबै पक्षको दबाबले अदालत अफ्ठेरोमा परेको धारणा राखे।

नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले विघटन मुद्दामा दुवै पक्षबाट अदालतमाथि हमला भएकोले अहिले अदालतसामू ठूलो चुनौती रहेको बताए।

‘अदालतलाई थ्रेट गर्ने काम भयो। मैले गरेको विघटन सही छ भनिएको पनि सुनियो। दुवै तर्फबाट आएका अभिव्यक्ति न्यायपालिकामाथि उचित ढंगका अभिव्यक्ति होइन। न्यायालयले स्वतन्त्र निर्णय गर्छ भन्ने विश्वास छ। संविधान र कानूनले तोकेको परिधिभन्दा बाहिर गएर फैसला आउँदैन् भन्ने कुरामा पनि म विश्वास गर्छु। अहिलेको जुन वातावरण छ, संवैधानिक व्यवस्था छ, यो हेर्दाखेरि म संसद पुनःस्थापना हुन्छ भन्नेमा कम विश्वास राख्छु,’ उनले भने।

उनले प्रधानमन्त्री ओलीले हिजो गरेको भाषण आफ्नो पक्षको पक्षपोषणमात्रै भएको पनि टिप्पणी गरे। प्रधानमन्त्री ओलीले व्यक्त गरेका कुरा आफ्नो पक्षको कुरा रहेको पनि उनको तर्क थियो।

बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले अहिलेको संसद् विघटन संविधानसम्मत् नभएको भन्दै संसद पुनःस्थापना हुनुपर्ने पनि धारणा राखे। उनले कसैले पनि न्यायालयलाई दबाबमा पार्न नहुनेमा जोड दिए।

आफूहरुको पक्षमा फैसला नभए आन्दोलन जाने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको कुरामा आफ्नो पूर्ण असहमति रहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘यो उहाँको पदीय जिम्मेवारी अनुसारको अभिव्यक्ति होइन।’ प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा फैसला नआए आन्दोलन गर्छु भन्नु अदालतलाई दबाब र प्रभावमा पार्न खोज्नु रहेको उनको टिप्पणी छ।

बार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले प्रधानमन्त्रीको तर्फबाट सर्बोच्चलाई धम्काउन नमिल्ने टिप्पणी गरेका छन्। उनले भने, ‘जो मान्छे सत्तामा बसेको छ, त्यो मान्छेले सडक कब्जा गर्न मिल्छ? प्रधानमन्त्री श्री ३ भैसक्नु भएजस्तो लाग्छ। उहाँ राणा शासनजस्तो गर्दै हुनुहुन्छ। सर्वोच्चले निष्पक्ष फैसला दिनेछ भन्ने आशामा छौं।’

उनले प्रधानमन्त्री सर्बेसर्बा नभएको भन्दै नेकपाको दुवैतिर अतिवाद रहेको आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्रीले कसका लागि आन्दोलन गर्ने? हामीले तिरेको करले प्रधानमन्त्रीले ठाउँ/ठाउँमा कार्यक्रम गर्न मिल्छ?’ उनले प्रधानमन्त्री ओलीको अब ज्ञानेन्द्र जस्तो हालत हुने पनि टिप्पणी गरे। उनले प्रधानमन्त्री ओलीले शक्तिको दुरुपयोग गर्न नहुने धारणा पनि राखे। उनले भने, ‘प्रधानमन्त्रीज्यू तपाईले त्यस्तो बोल्न पाउनुहुन्न र देशको ढुकुटी सक्काएर कार्यक्रम गर्न पाउनुहुन्न।’

बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपालमा व्यवस्था नै असफल भएको टिप्पणी गरे। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रचण्ड र माधव नेपालले विदेशी शक्ति गुहारेको उनको आरोप छ। त्यस्तै, हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओली पनि आफूहरुको पक्षमा फैसला नआए आन्दोलन गर्छु भनेर सुनाउँदै यी सबै अभिव्यक्ति व्यवस्थाको असफलता भएको न्यौपानेको टिप्पणी छ।

उनले नेपालको संविधान संसारको सबैभन्दा महँगो भएको उल्लेख गरे। न्यौपानेले कम्युनिस्ट कहिल्यै पनि प्रजातान्त्रिक नहुने जिकिर गरे। उनले अहिलेका सर्वोच्च अदालतका न्यायाधीहरुलाई नेकपा दुवै पक्षले अन्तर्वार्ता लिएको सुनाए। अब नेपाली जनताले विकल्प खोज्नुपर्ने पनि उनको माग छ। अहिलेसम्मको घट्नाक्रम हेर्दा यो व्यवस्थाले काम नगर्ने पनि उनको ठोकुवा छ।

उनले निर्वाचन भयो भने यो व्यवस्थाको आयु अलिकति लम्बिने पनि टिप्पणी गरे प्रधानमन्त्री ओलीले गलत रुपमा संसद विघटन गरेको भए जनताले सजाय दिने पनि उनको धारणा थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell