PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बन्ने भयो बुटवल-नुवाकोट केबलकार, अर्थमन्त्री पौडेलले गरे शिलान्यास



पहिलोपोस्ट

बन्ने भयो बुटवल-नुवाकोट केबलकार, अर्थमन्त्री पौडेलले गरे शिलान्यास

बुटवल : केपी ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिएसँगै नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित उद्घाटन र शिलान्यासका कार्यक्रमलाई तीव्रता दिएका छन्।

अर्थमन्त्री पौडेलले बुटवलदेखि नुवाकोटगढी पुग्ने करिब २ किलोमिटर दुरीको केबलकार लाइनको शिलान्यास गरेका छन्। समयमै निर्माण सम्पन्न भएको खण्डमा अबको डेढ वर्षमा ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको पाल्पाको तिनाउ-२ मा अवस्थित नुवाकोट गढीसम्म केबलकारमार्फत पुग्न सकिने भएको छ।

नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालिले यसअघि नै सरकारबाट बन क्षेत्र उपयोग गर्ने स्वीकृति लिएर केही काम अगाडि बढाइसकेको छ। केबलकारको आवश्यक पूर्वाधार निर्माणको काम शुरु भइसकेको प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए। १८ महिना भित्रै बुटवल-नुवाकोट केबलकार सञ्चालनका लागि करिब ७५ करोडको लगानीमा ठेक्का सम्झौता भएको हो। ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केबलकार प्रालिको यसमा लगानी रहेको छ।

मनोरम हिम श्रीङ्खलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोट गढीसम्म पुग्नका लागि केबलकार विस्तार हुने भएपछि पर्यटकलाई सहज हुने भएको छ। २२/२४ से राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालिन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा समेत रहेको नुवाकोटसम्म पुग्न केबलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने पर्यटन व्यवसायी माधव नेपालले बताए।

ऐतिहासिक स्थल मणिमुकुन्द सेन उद्धानबाट २ घण्टाको पैदल यात्रा गरी जान सकिने नुवाकोटलाई रुपन्देहीको ऐतिहासिक स्थल जीतगढी किल्लासँग जोडेर विकास गर्ने सरकारको लक्ष्य रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell