PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

राजीनामा प्रकरणको डेढ महिनापछि गाउँपालिका फर्किँदा उपाध्यक्ष बिष्टलाई पञ्चेबाजाले स्वागत



निशा गुरुङ

राजीनामा प्रकरणको डेढ महिनापछि गाउँपालिका फर्किँदा उपाध्यक्ष बिष्टलाई पञ्चेबाजाले स्वागत

हेटौँडा : आइतवार दिउँसो ११ बजे मनहरी गाउँपालिकाको कार्यालयको प्राङ्गणमा पञ्चेबाजा घन्कियो। लगभग २ सयको हाराहारीमा मानिसहरु जम्मा भए। नाचगानको माहोलले तातिएको मनहरी गाउँपालिकाको कार्यालयमा कसैको बिहे अथवा ब्रतबन्ध भइरहेको होकी भनेर केही मानिसहरु अलमलमा पनि परे।

त्यहाँ मानिसहरु बाजाको तालमा ताल मिलाउँदै नाचिरहेका थिए। गाउँपालिकाको कार्यालयमा यस्तो रोचक दृश्य किन भन्ने मानिसहरुले तब थाहा पाए जब गाउँपालिकाकी उपाध्यक्ष डेढ महिनापछि आफ्नो पदभार सम्हाल्नको लागि पालिकाको कार्यालय आइपुगेको जानकारी पाए।

हातमा फूलको माला र खादा बोकेर बसेका मानिसहरुले उनलाई स्वागत गरे। जब उपाध्यक्ष मनिला बिष्ट पालिकाको कार्यालय आइपुगिन् तब त्यहाँको माहोलले उनको आँखामा आँसु थामिएन। आफ्नो पक्षमा उभिएका शुभ चिन्तकहरुप्रति उनले आफ्नो खुसीको आँशु लुकाउन नसकेको बताइन्। लगभग डेढ महिनापछि पालिकाको कार्यालय पुगेकी बिष्टले आफूले सोचे भन्दा फरक पाइन्। विरोध गर्नेहरु अझै सक्रिय होलान् भन्ने सोचेकी उनी आफूलाई श्रद्धा गर्नेहरुको जमातमा उभिन पाउँदा निकै दंग देखिन्थिन्।

राजीनामा प्रकरणका कारण डेढ महिना भौतारिएर पुनः पद बहाली गर्न पाएकी बिष्टले पालिकाको कार्यालयमा मात्रै खुसी साटासाट गरिनन्। आइतवार नै हेटौँडामा पत्रकार भेटघाट कार्यक्रमको समेत आयोजना गरिन्। पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष बिष्टले अब जस्तो आइपर्छ उस्तै गर्दै जाने बताइन्।

आफूले चुनावको बेला गरेको बाचा र प्रतिबद्धता र पार्टीको समेत मार्ग निर्देशनलाई आत्मासाथ गरी जनप्रतिनिधिको रुपमा ९ वटै भुगोल तथा संविधानले दिएको अधिकार प्रयोग गरी काम कारबाही गरिरहेको उनले बताइन्।

उनले भनिन्, ‘कामकारबाहीलाई जनमुखी र परिणाममुखी बनाउन र जनताको अपेक्षलाई पूरा गर्न पारदर्शी काम तथा सुशासनको प्रत्याभूति गराउँदै काम गरिरहेको र अझै पनि गरिरहनेछु। जसरी कोरोना माहामारीको समयमा लागि परेर काम गरेको थिएँ, अब पनि पालिकाका नागरिकहरुको लागि उत्तिकै जिम्मेवार बनेर काम गर्नेछु। बेतिथी, विसंगती, अन्याय र अत्याचारको विरुद्धमा सदैव आफ्ना अडानहरुलाई पीडित र न्यायको पक्षमा बुलन्द गर्दै अघि बढ्ने छु।’

आफूले न्याय पाएकोमा बिष्टको मुहारमा निकै खुसी देख्न सकिन्थ्यो। कार्यक्रममा वाग्मती प्रदेश सभा सांसद मुनु सिक्देलले महिलाले पहिलो पटक राज्य हाँक्ने अवसर पाएको र त्यसकारणले उत्साह बढी भएका कारण काम गर्न अल्मलिने गरेको बताइन्। सहन सकुन्जेल सहेर बसेको तर सहन नसक्ने अवस्थामा पुगेपछि विस्पोट भएको जस्तै उपाध्यक्ष बिष्टलाई भएको उनको भनाइ छ।

उनले भनिन्, ‘पुस ५ गते संसद विघठन भयो। विघठन हुनुअघि केही प्रभाव परेको थिएन। राजीनामाको कुरा गुपचुप थियो। जब संसद विघठन भयो अनि पार्टीगत हिसाबले राजीनामा स्वीकृत गरेको हो। संसद विघठनको प्रभावका कारण राजीनामाको नाममा यस्तो खेप्न बाध्य हुनुपरेको हो।’

मंसिर २९ गते मिति उल्लेख गरिएको राजीनामा पत्र झन्डै २० दिनपछि मात्र स्वीकृत भएको थियो। गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले आफूलाई जनता र वडाका जनप्रतिनिधिहरुको दबाब धेरै आएको कारण राजीनामा स्वीकृत गर्नुपरेको बताएका थिए। पालिकाको अध्यक्षले स्वीकृत गरिसकेको राजीनामा खारेज हुँदा उपाध्यक्ष बिष्ट खुसी भएकी हुन्। आफूले राजीनामा लेखेर आफ्नो टेबलमा राखेको तर पेश गर्न बाँकी रहेको अवस्थामा अन्य कर्मचारीहरुले अध्यक्ष समक्ष लगेर राजीनामा दर्ता गराएको बिष्टको आरोप थियो।

न्यायाधीशहरु मोहम्मद साबीर हुसेन र चन्डिराज ढकालको संयुक्त इजलाशले उत्प्रेषण आदेशमार्फत सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुनः कामकाजमा फर्कन पाउने गरी परमादेश जारी गरेको हो। बिष्टले आफूले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशमा रिट दायर गरेकी थिइन्। उक्त रिट उपर अदालतले उपाध्यक्ष बिष्टको पक्षमा फैसला गरेको हो। बिष्टको पक्षमा अधिवक्ताहरु शुशिल कुमार पोखरेल, मदन दाहाल, अमृत लामा र शिवप्रसाद बञ्जाराले बहस गरेका थिए। अन्ततः उनको उपाध्यक्षको पद जोगिन सफल भयो। गत ५ गते बुधवारको दिन उनको पक्षमा फैसला भयो। र, बिष्टको पद जोगिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell