PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बैंकिङ कसुर मुद्दामा फरार रहँदै आएका एक व्यक्ति जेल चलान



रासस

बैंकिङ कसुर मुद्दामा फरार रहँदै आएका एक व्यक्ति जेल चलान

काठमाडौं : बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका एक व्यक्ति आज जेल चलान भएका छन्। उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज बस्ने ४९ वर्षीय सुधीर श्रेष्ठलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरी टोलीले उनलाई आज काठमाडौंको ठमेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन्। उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकामा आजै कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

श्रेष्ठले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानीका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएका थिए।

त्यसविरुद्ध उक्त सहकारी संस्था लिमिटेडका अध्यक्ष धनकुमार राईको जाहेरीले उनलाई बैंकिङ कसुर मुद्दामा मुद्दा चलाइएको थियो। अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम सजाय हुने फैसला गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell