इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि जित निकालेको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले न्युक्यासलमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।
खेलको ३० औं मिनेटमा ह्यारी म्यागुइरको पासमा गोल गर्दै मार्कस रासफोर्डले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर त्यसको ६ मिनेटमै न्युक्यासलका एलन सेन्ट म्याक्सिमिनले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा ड्यानियल जेम्सले गोल गर्दै युनाइटेडको अग्रता फेरि बढाए। उनले खेलको ५७ औं मिनेटमा ब्रुनो फरनान्डेजको पासमा गोल गरेका थिए।
त्यस्तै खेलको ७५ औं मिनेटमा फर्नान्डेजले नै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गर्दा म्यानचेस्टर युनाइटेडले ३-१ गोलअन्तरले जित निकाल्यो।
जितसँगै युनाइटेड तालिकाको दोस्रो स्थानमा छ। गएरातिकै खेलमा आर्सनललाई हराएको सिटी युनाइटेड भन्दा १० अंकले अगाडि छ। सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको युनाइटेड र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको समान २५ खेलबाट ४९ अंक छ।
