काठमाडौंः गोरखामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्।
आज बिहान सुलिकोट गाउँपालिका १ स्थित वारपाकमा घरभित्र नै तीन जना मृत अवस्थामा फेला परेका हुन्। बिहान घरमा मृत देखेपछि छिमेकी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय जौवारिबाट प्रहरी निरीक्षकको टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।
'बिहान अबेरसम्म पनि कोही नउठेपछि छिमेकी तथा आफन्तले ढोका खोलेर हेर्दा मृत देखेपछि प्रहरीलाई खबर गर्नु भएको थियो। हाम्रो थप टोली घटनास्थल तर्फ जाँदै छ,' एसपी गुरुङले भने।
घरभित्र ८४ वर्षीय तिलबहादुर गुरुङ, १२ वर्षीय उषा गुरुङ र २१ वर्षीय आइतकुमारी गुरुङ मृत फेला परेका हुन्। उनीहरूको मुखमा फिँज काटेको देखिएको स्थानीय प्रहरीले जानकारी दिएको छ।
'अहिलेसम्म घरमा उहाँहरू मात्र बसेको स्थानीयले जानकारी दिनुभएको छ। थप अनुसन्धानपछि खुल्ने छ,' एसपी गुरुङले भने।
