काठमाडौं : सुरुङ मार्गबाट पानी पठाउँदा दुर्घटना भएर ज्यानै गएपछि मेलम्ची खानेपानीको परीक्षणमा यसपाला हेलिकप्टर स्ट्यान्डबाइ राखिएको छ। सम्भावित जोखिम न्युनिकरणका लागि हेलिकप्टर राखेर सुरुङमार्गको परीक्षण सुरु गरिएको हो।
खानेपानी मन्त्री मणिचन्द्र थापाले मुहान क्षेत्र अम्बाथान पुगेर सुरुङमार्गमा पानी पठाउनको कामको शुरु गरे। प्रतिसेकेण्ड २६० लिटरका दरले सुरुङमार्गमा पानी हाल्न सुरु गरिएको आयोजनाले जनाएको छ।
सुरुङभित्र पानी भरिन करिब १५ देखि २० दिन लाग्नेछ। मेलम्चीबाट पठाइएको पानी १६औं दिनमा पठाइएको पानी सुन्दरीजल आइपुग्नेछ। पानी भरिएपछि सुरुङका दुवैतिरको गेट बन्द गरेर एक साता राखिने छ।
त्यसपछि उक्त पानी फ्लसिङ गर्न १५ देखि २० दिन लाग्नेछ। पानी खाली भएपछि कहीँ केही समस्या छ कि भनेर करिब १० दिन जति निरीक्षण हुने सम्बद्ध प्राविधिकले बताएका छन्। कुनै समस्या नदेखिए सुरुङमार्ग पानी हाल्नका लागि तयार हुनेछ। त्यसपछि स्थायीरूपमा पानी पठाउने काम गर्न सुरुङमार्ग तयार भएको मानिनेछ।
अहिले खानेपानी आयोजनाको स्थायी हेडवर्क्स तयार नभएकाले कफर ड्याम (अस्थायी हेडवर्क्स)बाट पानी हालिएको हो। स्थायी हेडवर्क्स निर्माणाधीन अवस्थामा छ, जसको ९६ प्रतिशत काम सकिएको छ। तर, जर्मनीबाट आउनुपर्ने सामान नआइपुगेकाले यसको अन्तिम काम रोकिएको छ। जर्मनीबाट फोहोर छान्ने मेसिन (ट्रयास र्याक क्लिनिङ मेसिन) ल्याउन लागिएको हो। वैशाखसम्ममा आइसक्ने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीको दाबी छ। उक्त मेसिन जडान गरेर जेठबाट स्थायीरूपमा पानी पठाउने काम गर्न सकिने उनको भनाइ छ।
आयोजनाको सुरुङमार्ग परीक्षण गर्न लागिएको यो दोस्रोपटक हो। यसअघि गत असार अन्तिम साता परीक्षण थालिएको थियो। तर, असार ३० गते सुरुङमार्गको गेट फुस्किएर दुर्घटना भएपछि परीक्षण रोकिएको थियो । त्यसको करिब आठ महिनापछि त्यसमा भएका त्रुटिहरु सच्याएर पुन:परीक्षण सुरु गरिएको हो। त्यसैको डरमा यसपाला हेलिकप्टरबाट आवश्यकता अनुसार रेस्क्यु गर्न मिल्नेगरी पानी पठाइएको हो।
गत असारमा परीक्षण गर्दा टनेलको गेट फुस्किएर दुर्घटना भएपछि छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले डिजाइन अनुसार भित्रबाट राख्नुपर्ने गेट बाहिरपट्टिबाट राखिएकाले पानीको चाप थेग्न नसकेर त्यतिबेला दुर्घटना भएको निष्कर्ष निकालेको छ।
उक्त प्रतिवेदनका आधारमा करेक्सनको काम गरेर सुरुङ पुनः परीक्षण सुरु गरिएको हो। अहिले बाहिरबाट भित्रतिर धकेलेर खोल्न मिल्नेगरी गेट राखिएको छ। एउटा मात्रै गेट फुस्किएको भए पनि समान हिसाबले राखिएकाले अम्बाथान, ग्याल्थुम, सिन्धु लगायतका तीन अडिट टनेल र सुन्दरीजल आउटलेट गरि चारवटा गेट करेक्सन गरिएको छ। भारतीय कम्पनीले डिजाइन तथा निर्माण गरेर गेट जडान गरेको हो।
अहिले परीक्षणका क्रममा त्यस्तो दुर्घटना हुन सक्ने जोखिमलाइ मध्यनजर गरेर आकस्मिक उद्धारका लागि हेलिकप्टर तयार अवस्थामा राखिएको खत्रीले बताए। उनका अनुसार उद्धार योजना धुलिखेलदेखि काठमाडौंसम्मका अस्पतालहरुसँग समन्वय गरिएको छ।
आयोजनाका इन्जिनियर शेखर खनालका अनुसार सोमबार सुरु भएको परीक्षण पूरा हुन करिब ५५ दिन लाग्नेछ। यसपटक सुरक्षाको पूर्ण व्यवस्था गरेर मात्रै परीक्षण थालिएको उनले बताए।
