PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

वैशाख ११ गतेबाट पहिलो फ्रेन्चाइज फुटबल 'एनएसएल' हुँँदै, दुई वर्षअघि पनि भएको थियो घोषणा



पहिलोपोस्ट

वैशाख ११ गतेबाट पहिलो फ्रेन्चाइज फुटबल 'एनएसएल' हुँँदै, दुई वर्षअघि पनि भएको थियो घोषणा

काठमाडौं : नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल लिग 'नेपाल सुपर लिग' सुरु हुने भएको छ। आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टका अनुसार वैशाख ११ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिग सुरु हुनेछ।

आज 'एनएसएल' आयोजनाबारे जानकारी गराउँदै आयोजकले प्रतियोगितामा विभिन्न प्रदेशबाट प्रतिनिधित्व हुनेगरी विभिन्न शहरका टिमहरुले प्रतिनिधित्व गर्ने जनाएको हो। टिमहरु भने अक्सनको आधारमा निर्माण गरिनेछ।

'अक्सनको माध्यमबाट टिम बनाइ खेलाडीहरुलाई विभिन्न टिममा विभाजन गरिने छ। यस प्रतियोगिता गर्नुको मुख्य उद्धेश्य नै निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराइ खेलाडी र फुटबल खेललाई थप व्यवसायिक बनाउन टेवा पुर्‍याउने रहेको छ,' आयोजकको विज्ञप्तिमा भनिएको छ।

यस प्रतियोगितामा हरेक टिममा विदेशी खेलाडीको सहभागिता रहनेछ। राउण्ड रोबिन लिग फर्म्याटमा आयोजना हुने यस प्रतियोगितामा जम्मा १९ खेल हुनेछ।

यसका लागि खेलाडीहरुको वर्गीकरण अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा छुट्याउने जनाइएको छ।

यद्यपि, लिग आयोजनाको प्रश्नमा दोहोरो लिग हुने जस्तो देखिन्छ। नेपालमा शहीद स्मारक ए डिभिजन लिग छ भने एन्फाले राष्ट्रिय लिग पनि आयोजना गर्ने बताइरहेको छ। फ्रेन्चाइज लिगका लागि ए डिभिजन लिग लगायतका क्लबहरुसँग समन्वय भइसकेकाले यसमा समस्या नआउने दाबी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले गरे। यद्यपि लिगहरु धेरै देखिए पनि शहीद स्मारक लिग नै मुख्य लिग रहने शेर्पाको भनाइ थियो।

यो लिगमा सहभागिता जनाउँदा क्लबलाई आर्थिक भार कम पर्ने दाबी गरिए पनि सुपर लिगका क्रममा क्लबले कसरी खेलाडी रिलिज हुने भन्ने सन्दर्भमा एन्फा र आयोजक दुवै स्पष्ट देखिएन।

फ्रेन्चाइजबाट प्राप्त रकम ग्रासरुट, पूर्वाधार लगायतको क्षेत्रमा लगाउने सहमति भएको दुवै पक्षले जनाए पनि यसको स्पष्ट कार्ययोजना भने देखिँदैन।

फ्रेन्चाइजले एनएसएल गराउँदा क्लबहरुकै मार्केटिङमा र फुटबलको व्यसायिकतामा सकारात्मक असर पर्ने दाबी गरेको छ। त्यस्तै अर्को सिजन नेपालका विभिन्न शहरमा होम एण्ड अवे हुने गरि गर्ने र अहिले 'फ्रेन्चाइज ट्रायलका ' लिग हुने बताएको छ।

अघिल्लो वर्ष पनि भएको थियो घोषणा

यसअघि पनि २०७५ सालमा एन्फा र नेपाल स्पोर्टस र इभेन्ट म्यानेजमेन्टबीच नेपाल सुपर कप आयोजनाका लागि सम्झौता भएको थियो। त्यतिबेला प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने सहमति भएको थियो। यद्यपि प्रतियोगिता हुन भने सकेको थिएन। आयोजकले त्यतिबेला दशरथ रंगशाला पुनर्निर्माण नभएको र निर्माण भएपछि कोरोना फैलिएकोले लिग आयोजना गर्न नसकिएको दाबी गरे।

यद्यपि यसपटक भने प्रदेश नभएर शहरको हिसाबले आयोजना गर्ने आयोजकले जनाएको छ। त्यस्तै प्रतियोगिताका लागि चाँडै फ्रेन्चाइजी टिमहरुबारे जानकारी गराउने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell