PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न प्रधानमन्त्रीको निर्देशन
फाइल फोटो।

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न निर्देशन दिएका छन्। दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुरको बेदकोट पुगेका प्रधानमन्त्री ओलीले भागरथी भट्टका दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन सफल भएको दावी गर्दै निर्मलाका हत्यारालाई सार्वजनिक गर्न निर्देशन दिएका हुन्।

‘भागरथीको वीभत्स हत्या भएकोमा केहीले राजनीति गर्ने चेष्टा गरे। तर, खोज अनुसन्धानमा सफल भएकोमा नेपाल प्रहरीलाई धन्यवाद भन्न चाहन्छु्’, प्रधानमन्त्री ओलीले भने, ‘निर्मला पन्तका हत्यारालाई पनि अविलम्ब सार्वजनिक गर्नुस्। अपराधीलाई कानुनी कठघरामा उभ्याउनुस्। म प्रशासनलाई फेरि पनि निर्देशन दिन चाहन्छु।’

कसैले कुनै प्रकारको दबाब दियो र गलत बाटो हिँडाउन खोज्यो भने त्यो गलत बाटो हिड्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्रीको भनाइ थियो।

उनले भने, ‘समाजमा शान्ति सुरक्षा कायम गर्ने, पीडकलाई दण्ड दिने र पीडितलाई न्याय दिने काम राज्यको हो। त्यो राज्यले गर्छ।’

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी अझै असफल छ। आज मात्रै प्रधानमन्त्री ओली कञ्चनपुर पुगेका बेला पन्तको न्यायको माग गरिरहेका अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell