
हेटौँडा : मकवानपुरको हेटौँडामा आगामी फागुन २७ गतेदेखि स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ। आयोजक मकवानपुर जिल्ला फुटबल संघका अनुसार उक्त प्रतियोगिता हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा हुने छ।
प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशको विशेष सहयोग तथा मकवानपुरका स्थानीय तहहरुको प्रायोजनमा प्रतियोगिता सञ्चालन हुने भएको संघले जनाएको छ। प्रतियोगितामा ‘ए’ डिभिजनका ६ वटा र मोफसलका ४ वटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद १० लाख र ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ, विधागत उत्कष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ र म्यान अफ द म्याच हुने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको मुख्य प्रायोजकमा मकवानपुरका १० वटा स्थानीय तहहरु रहेका छन्। जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा मकवानपुरका स्थानीय तहहरुले ७० लाख रुपैयाँमा प्रतियोगिताको प्रायोजन गरेका हुन्। कुल ९४ लाख ४० हजार ५ सय रुपैयाँको लागतमा सञ्चालन हुने उक्त प्रतियोगितमा मुख्य प्रायोजकबाट ७० लाख रुपैयाँ, टिकटबाट १४ लाख ५० हजार रुपैयाँ तथा अन्य सहयोगबाट ९ लाख ९० हजार रुपैयाँ संकलन गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता चैत ७ गतेसम्म सञ्चालनको हुनेछ।