बुटवल : नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयार गरेको बताएका छन्। मुलुकको अर्थतन्त्रको सुचकांक जीडीपीलाई १० प्रतिशत भन्दामाथि पुर्याउन र रोजगारी अभिबृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेपर तयार गरिएको उनले जानकारी दिए।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सोमवार बुटवलमा भएको ६७ औँ वार्षिक साधारण सभा तथा २४ औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले उक्त भिजन पेपरमा निजी क्षेत्रको एकरुपताको लागि सीएनआई लगायतका अरु संस्थाहरुसँग समेत छलफल भइरहेको जानकारी दिए। आफ्नो नेतृत्वको नेपाल उद्योग बाणिज्य महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको टिम रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिबृद्धि गर्न सकिन्छ भनेर आफूहरु लागिपरेको उनले बताए।
महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रका व्यवसायिक संस्थाहरुबीच उक्त प्रस्तावमा सम्झौता गरेर जिल्ला नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यवसायको समस्या समाधान हुने विश्वास व्यक्त गरे। त्यस्तै, उनले महासंघले विज्ञ सहितको राहत सेल बनाउन लागिएको जानकारी दिँदै विशेषगरी बैंकिङ, राजश्व, श्रमको समस्यामा परेका व्यवसायीहरुलाई राहतको काम गर्ने उल्लेख गरे।
त्यस्तै, मेलमिलाप केन्द्र बनाउन लागिएको र त्यस केन्द्रले उद्योग व्यवसायमा भएका समस्या समाधानको लागि मेलमिलापको काम गर्ने र सर्वोच्च अदालतसँग समन्वय गरिने उक्त केन्द्रको निर्णयलाई मुद्दा सर्वोच्चमा गएपनि अदालतले समेत त्यसलाई हेर्ने उल्लेख गरे।
उनले यस क्षेत्रमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपूर औद्योगिक क्षेत्र लगायतका कारण यस क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रसस्त रहेको औँल्याए।
