PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

केटी जिस्काएको अभियोगमा पक्राउ परेका युवक प्रहरी कार्यालयबाट भाग्न खोज्दा घाइते



राधेश्याम पटेल

केटी जिस्काएको अभियोगमा पक्राउ परेका युवक प्रहरी कार्यालयबाट भाग्न खोज्दा घाइते

वीरगंज : पर्सा प्रहरीको नियन्त्रणबाट भाग्न खोज्दा एक जना अभियुक्तसहित ३ जना घाइते भएका छन्। घाइते हुनेमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी, केटी जिस्काएको अभियोगमा पक्राउ परेका विराट झा र वडा प्रहरी कार्यालय विर्तामा पुगेका सेवाग्राही अमर यादव रहेका छन्।

वडा प्रहरी कार्यालय विर्ताको पहिलो तल्लामा रहेको प्रहरी निरीक्षक पुरीको कार्यकक्षबाट वीरगंज-१५ लक्ष्मणवा बस्ने विराट झा हाम फालेर भाग्न खोज्दा उक्त घटना भएको हो। वीरगंजकै एक युवतीलाई जिस्काएको अभियोगमा हिजो दिउँसो झालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको थियो।

सोही घटनाको सवालमा आज बिहान ११ बजे प्रहरी निरीक्षक पुरीको कार्यकक्षमा दुवै पक्षलाई राखेर छलफल भइरहेको बेला अचानक उनी कोठाको झ्याल फोडेर भाग्न खोज्दा भुइँमा लडेर घाइते भएका छन् भने उनलाई बचाउन खोज्दा प्रहरी निरीक्षक पुरी घाइते भएका छन्।

घाइते झाको अहिले एलएस न्युरो अस्पताल वीरगंजमा उपचार भइरहेको छ। झाको टाउकोमा सात वटा टाँका लगाइएको छ। प्रहरी निरीक्षक पुरी र यादवको हातमा पनि तीन/तीन वटा टाँका लागेको छ।

झाले लामो समयदेखि एकजना युवतीलाई जिस्काउँदै आएको र सो युवतीको बिहे नजिकिँदै जाँदा उनको तस्विर राखेर टिकटक बनाएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियो। सार्वजनिक मुद्दा लाग्छ भन्ने डरले उनी भाग्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell