PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

गलकोटका तीन सामुदायिक बनमा आगलागी, आगो बस्तीतिर आउने खतराले स्थानीयवासी चिन्तित



रासस

गलकोटका तीन सामुदायिक बनमा आगलागी, आगो बस्तीतिर आउने खतराले स्थानीयवासी चिन्तित

बलेवा : बागलुङको गलकोटका तीन सामुदायिक बनमा आगलागी भएको छ। आज दिउँसोदेखि तीनवटै सामुदायिक बनमा आगलागी भएको हो। आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन्।

गलकोट नगरपालिका-५ र ७ का तीन सामुदायिक बनमा आगलागी हुँदा करोडौँको क्षति भएको थम्मन थापाले बताए। भैंसे दान्सिङडाँडा सामुदायिक बन गलकोट नगरपालिका-५ देखि शुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक बनसम्म फैलिएको छ। आगलागीका कारण दानसिङडाँडा सामुदायिक बनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायिक बनका सदस्य मानबहादुर भण्डारीले जानकारी दिए। दिउँसोदेखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि अहिले आगो नियन्त्रणबाहिर रहेको उनले बताए।

सोही आगो छिमेकी वडा नम्बर ७ को ठूलाचौर सामुदायिक बनमा प्रवेश गरेसँगै उक्त सामुदायिक बनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष थुमकुमारी थापाले जानकारी दिइन्।

आगोको कारण दानसिंङ सामुदायिक बनसँगै जोडिएको गगनपानी सामुदायिक बन गलकोट नगरपालिका-५ को झण्डै पाँच हेक्टर क्षेत्रफल बन क्षेत्रमा पनि क्षति भएको बताइएको छ। ठूलाचौर महिला सामुदायिक बन, दानसिङडाँडा सामुदायिक बन सिमाना जोडिएका बन हुन्। आगो अहिले पनि जङ्गलमा फैलिरहेको छ। आगो बस्तीतिर आउने खतरा रहेको भन्दै स्थानीयवासी चिन्तित भएको गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले जानकारी दिए।

आगो निभाउन स्थानीयवासी र प्रहरीको सक्रियता रहेको वडाध्यक्ष थापाले बताए। बन क्षेत्रमा आगलागी हुँदा बनमा रहेका जीवजन्तु, चराचुरुङ्गी र रूखबिरुवा जलेर नष्ट भएका छन्। साँझ परिसकेको र भीरमा आगलागी भइरहेको हुँदा आगो नियन्त्रण गर्न कठिन भएको ठूलाचौर सामुदायिक बन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले जानकारी दिइन्। आगलागी हुँदा करोडौँको क्षति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell