PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हेर्दै जानुहोला माधव र झलनाथ पनि ओली समूहमै आउँछन्, धेरै समय पर्खनु पर्दैन : शेरबहादुर तामाङ



प्रकाश भण्डारी

हेर्दै जानुहोला माधव र झलनाथ पनि ओली समूहमै आउँछन्, धेरै समय पर्खनु पर्दैन : शेरबहादुर तामाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अझै औपचारिक विभाजन आइसकेको छैन। प्रतिनिधि सभा विघटनसँगै राजनीतिक रुपमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहमा विभाजित भएका नेकपाका नेताहरुले कित्ता क्लियर गरिसकेका छन्। उपाध्यक्ष वामदेव गौतम बाहेकका अधिकांश नेता आआफ्नो समूहको रणनीति बनाउन व्यस्त छन्। कतिपय पूर्व माओवादीका नेताले प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् भने पूर्व एमालेको ठुलो हिस्सा प्रचण्डसँगै छ। नेताहरुको कित्ताकाट चलिरहेकै बेला नेकपा केन्द्रीय कमिटी सदस्य शेरबहादर तामाङ र उनकी श्रीमती उषाकला राईले भने बेलाबेला गुट बदलिरहे। पार्टीमा ओलीको आलोचना हुँदा राजीनामा माग्दाका बखत प्रचण्ड नेपाल समूहमा रहेका तामाङ दम्पती संसद विघटनका बेला भने ओलीकहाँ पुगेका थिए। तर त्यसको चार दिनपछि पुस ९ गते भने तामाङ दम्पती प्रचण्ड नेपाल समूहमा गए। त्यसको दुई महिना नबित्दै उनीहरु फेरी ओली समूहमा फर्किएका छन्। अदालतबाट संसद विघटनको मुद्दाको टुंगो लाग्नै लाग्दा गुट बदलेका तामाङलाई हामीले सोध्यौँ:

दुई महिनामै तपाईले पटक-पटक गुट बदल्नु भो। के कारणले यस्तो भो?

नेपालमा कम्युनिस्ट पार्टी गठन हुँदादेखि नै विभिन्न आरोह अवरोहका बीचमा नेकपा माले हुँदै नेकपा एमाले बनिसकेपछि मदन भण्डरीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र समाजको लोकतान्त्रिकीकरण र पार्टीको आन्तरिक लोकतान्त्रिकीकरणको सिद्धान्तका आधारमा चुनावमा गइसकेपछि लाखौं जनता यसका भोटर बने। माओवादी र एमाले मिलेर नेकपा बनेपछि केही समस्या देखिए। त्यतिबेला पार्टी नेताहरुको बीचमा हामी पनि काम गर्दै आएका थियौं नि त। नेताहरुबीचको सम्बन्धका कारण कतिपय बेला एक ठाउँमा उभिनुपर्ने बेला भयो। आज पार्टी विभाजनको अवस्थामा छ। मुलत: जुन दृष्टिकोणलाई हामीले विकास गर्दै आएका थियौं। त्यो दृष्टिकोणमा आज परेको समस्यालाई समाधानका लागि दृढतापूर्वक उभिएर जानुपर्ने भएकाले हामीले त्यो ठाउँमा उभिनु परेको हो। आज खेमाबन्दिको कुरा त के भो र पार्टी अलग भइसकेकै छैन। दुईवटा अलग कार्यक्रम मात्रै भइरहेको हो। अन्तत: हामी सबै एकै ठाउँमा हुन्छौँ। जनताको बहुदलीय जनवादमा संगठित हुन्छौ। नाम जे होला हाम्रो काम एउटै हुन्छ।

तपाइँले जबजमा एकीकृत हुन्छौं भन्नुभो। त्यसको अर्थ पूर्व एमाले एकता भनेको त होला हैन?

हामीले एकीकरणका बेला जनताको जनवाद भन्यौं। किन भन्यौं भने माओवादी १० वर्ष सशस्त्र युद्धबाट आएको थियो। बुलेटबाट नहुने रहेछ अब ब्यालेटबाट जानुपर्छ भनेर १२ बुँदे समझदारी गर्दै ६२/ ६३ को आन्दोलनबाट यसलाई ब्याक गरौं भनेर सबै बुझाएर जनताको बीचमा जान्छौं भनेर भन्यौं। हामी ४७ सालबाटै यो बाटोमा गइसकेका थियौं। कम्युनिस्ट पार्टीको पहिला एकपटक बन्दुकले सत्ता कब्जा गर्छौं र पछि निरन्तर सत्ता चलाउछौं भन्ने दृष्टिकोणमा मदन भण्डारीले नयाँ आयाम थप्नुभयो। कम्युनिस्ट पार्टी पनि जनताका बीचमा पटक पटक टेष्ट हुनुपर्छ भनेर त्यसलाई स्वीकार गरेर आएका हौं। एकीकरणका बेला जबज भनौं या नाम जे सुकै भनौं हाम्रो सिद्धान्त भनेको कम्युनिस्ट पार्टी टेष्ट हुनुपर्छ भन्ने सिद्धान्तमा उहाँहरु पनि आएकाले विचार त त्यही जबज न थियो। नाम त यसो फेस सेभिङका लागि राखौं भनेर राखेका थियौं। त्यो विचारमा माओवादी पनि आइसकेकाले फेरी पनि त्यही विचारमा संगठित हौ भनेर लागिएको हो। कार्यकर्तामा अलिअलि अन्यौलता छ। मुलक नै अन्यौल भएका बेलामा कार्यकर्तामा हुनु स्वभाविक हो। त्यसैले कार्यकर्ता यताउता हुन्छन्। मुल कुरा के हो भने हामीले जुन विचारमा कम्युनिस्ट पार्टी विकास गरेका थियौं त्यसैमा हुनेछ अब मुल पार्टी।

तपाईंलाई ओलीले निकै मेहनत गरेर आफ्नो समूहमा लग्नुभयो भन्ने चर्चा छ। यति धेरै गुट बदल्दा त तपाईंलाई पदलोलुपताको आरोप लाग्यो नि?

मुख्यकुरा दृष्टिकोण हो। प्रचण्ड-नेपाल समूहमा नेता असल छन्। मेरा आदरणीय नेता हुनुहुन्छ। आज पनि म आदर गर्छु सम्मान गर्छु। हिजो झलनाथ खनाल, माधवकुमार नेपाल हामीसँगसँगै थियौं एमालेमा पनि। तर पार्टी एकता गरेपछि उहाँलाई धन्यवाद पनि दियौं। तर जुन समस्या  पैदा भएपछि सधैंभरी त्यही रहने अवस्था नबनेकै हो। अलि अलि नेताहरुबाट टिप्पणी आउनु स्वभाविक हो। उहाँहरुको पक्षमा उहाँहरुको दृष्टिकोणमा उभिन नसकेपछि मलाई यसले धोका दियो भन्ने त परिस्थिति त बन्दो रहेछ नि। तर, म त्यो भन्दिनँ म मेरा सबै आदरणीय नेताहरुलाई फेरी पनि जुन दृष्टिकोणमा हामीले पार्टी बनाएका हौ त्यहीबाट फेरी पनि संगठित हुदै अघि बढौं भन्छु। पार्टीको अध्यक्ष त केपी ओलीलाई नै बनाएको हो नि। भलै चुनावका बेला म माधव नेपाललाई अध्यक्ष बनाउँछु भनेर लागेको मान्छे। भित्रि व्यवस्थापन गर्ने मान्छे। मैले माधव नेपाललाई सघाए पनि पार्टी अध्यक्ष त केपी ओली नै हुनुभयो। माधव नेपाल अध्यक्ष भन्न त पाएन नि। सिस्टमले त केपी ओली अध्यक्ष भइसक्नु भयो।

अध्यक्षलाई अस्वीकार गर्ने मान्छे त्यही पार्टीभित्र बसिरहन सक्छ र?

कार्की ब्याङ्क्वेटमा बसेको केन्द्रीय कमिटिको बैठकले ओलीलाई अध्यक्षबाट हटाएको थियो। त्यो बैठकमा त तपाई पनि हुनुहुन्थ्यो नि?

केपी ओलीलाई अध्यक्ष र संसदीय दलको नेता मानेर अघि बढिसकेपछि ओली असफल भए पार्टी असफल हुन्छ। त्यसैले केपी ओलीलाई सफल बनाउनुपर्छ भन्ने दृष्टिकोणका आधारमा म यहाँ उभिए। तर, पार्टीभित्र रहेको आन्तरिक जीवन सम्बद्धताका कारणले आफूले सघाएका नेताहरु एकातिर भएपछि अप्ठेरो पो हुन्छ की भन्ने लाग्नु स्वभाविक हो। सबै मान्छेलाई लाग्छ नि। त्यही आधारमा त्यहाँ उभिँदा समस्या भो। टिक्न सक्ने स्थिति देखिदैन। कार्यशैली मिलिरहेको छैन।

म जस्ता हजारौं हजार कार्यकर्ता अन्यौलमा परिरहेका छन्। अब क्रमैसँग हामी पुरानै धारमा उभिन्छौ। तपाईले ओलीलाई कारवाहीको कुरा गर्नुभयो। कस्तो भयो भने नेताले प्रस्ताव ल्याएपछि फरक मत दर्ज गर्ने स्थिति रहने। पार्टी तिब्र विभाजनको अवस्थामा थियो। फरक मत ल्याउने बितिकै तिमी फलानो समूहको रहेछौ भन्ने हुन्थ्यो। त्यहाँ भोटिङ गर्ने स्थिति हुनुपर्थ्यो कि त। त्यस्ता कतिपय चिज मान्यताका आधारमा गरिएको हो। त्यो टेक्निकल चिज हो। यसो गरे भने फलानो अली झुक्लान् भन्ने पनि लाग्यो। 

त्यसपछि प्रचण्ड-नेपाल समूहमा दुई महिना बस्नुभो। अनुभव कस्तो रह्यो?

कार्यक्रममा भाग लिन्छु। त्यहाँ नारा लागिरहेका हुन्छन्। आफ्नै नेताहरुको विरुद्ध मुर्दावादका नारा लागिरहेका हुन्छन्। आफ्नै पूर्व नेताहरुको मुर्दावादको नारा लगाउनुपर्ने। कस्तो कस्तो फिल हुँदो रहेछ। कहिलेकाही पुतला जुलुस गरौं भन्नुहुन्छ। आफ्नै नेताहरुको पुतला जलाउनुपर्ने। कोही नेता खराब पनि होला उसको पुतला जलाउनुपर्ने पनि होला तर, दृष्टिकोण मुख्य कुरा हो। जुन समूहमा दृष्टिकोण बसिरहेको छ त्यही समूहलाई गद्दार घोषणा गर्नुपर्ने। त्यो अवस्था अब सधैं भरी रहदैन। धेरै कार्यकर्ताहरु देशभरका लाखौं कार्यकर्ताहरु भुलबस प्रचण्ड-नेपालमा बसिरहनुभएको छ। उनीहरु त्यो समूहमा रहनुहुने छैन। प्रचण्ड नेपाल भनिएपनि नेतृत्व प्रचण्डले नै गरिरहनुभएको छ। हामीजस्तै हजारौं हजार कार्यकर्ता त्यहाँ छन्। सबै क्रमसँगै फर्कनेछन् र मलाई के विश्वास छ भने मैले जुन अनुभव गरिरेहको छु त्यो उहाँहरुलाई पनि छ। धेरै कार्यक्रममा गएर हेरेपछि त्यहाँ हामी घुलमिल हुन सक्दैनौं भन्ने देखियो।

हामीले माओवादी र एमालेलाई मिलाएर नेकपा बनायौ त्यसमा मिसिन सकेका थिएन रहेछौं। तोरी र कोदोलाई सँगै हालेर पिसेछौ कीँ। न तेल निसक्यो न पिठो निसक्यो। त्यो अवस्थाबाट हामीले छुट्टीन खोज्दा अलि अलि कोदोको अंश तोरी तिर मिसिएला र अलि अलि तोरीको अंश कोदोतिर पनि मिसिएला। यो भएको त्यस्तो हो। अलिअलि प्रचण्ड मुनिका मानिसहरु ओलीमा र ओलीका मान्छेहरु अलि अलि प्रचण्डमा पनि देखिन्छन्। तर पनि मुल रुपमा हाम्रो सिद्धान्तमा संगठित हुनुनुहुनेछ। अन्तत: आदरणीय नेताहरु झलनाथ खनाल, माधव नेपाल आखिर कुरा त यस्तो रहेछ भन्दै महसुस गर्नुहुन्छ। एक दिन हामी सँगै हुन्छौं।

भोटिङ गरेको भए ओलीलाई कारवाही गर्न हुन्न भन्ने पक्षमा भोट हाल्नु हुन्थ्यो?

हो। पुतला जलाउँदा खेरी नजलाउँ भन्ने नेता पनि मै हुँ। समूह त त्यही थियो। त्यसैले कतिपय प्रस्तावहरु आफूलाई मन परिरहेको थिएन। तैपनि जुलुसमा गएर नारा लगाउनु पर्थ्यो। आफ्नै नेतालाई मुर्दावाको नारा लगाउनुपर्थ्यो।

अहिले जता लाग्नुभएको छ त्यो समूह पनि गालीगलौजमा त झन अगाडि नै छ नि हैन?

म त त्यसलाई बन्द गर्नुस भन्छु। भाषण गर्दाखेरी पनि नेताहरुले गालीगलौज गर्नु हुन्न। तपाईसँग विचार मिलुन्जेल बास्ना आयो भन्ने अनि दृष्टिकोण नमिलेमा गन्हायो भन्न मिल्छ र?

स्वतन्त्र विचार हो भने उसको विचार आउन दिनुपर्छ। विचार परिवर्तन पनि हुन सक्छ। त्यसैले जो जहाँ उभिन्छन् त्यसलाई सम्मान गरौं। तर, गाली गलौज गरेर त मरी गइस् भनेजस्तो शब्दहरुले हामी कहाँ पुग्छौ। यसो त गर्नै हुन्न।

त्यसो भने प्रचण्ड-नेपालको दृष्टिकोण तपाइलाई अहिले ठीक लागेन?

होइन। कसैको दृष्टिकोणलाई मैले गलत भनेको छैन। उहाँहरुलाई लागेको कुरा मलाई लागेन। उहाँहरुलाई लागेको कुरा त उहाँहरुलाई ठीक लागेको छ नि। अहिले म केपी ओली समूहमा लागे भन्दैमा कसैले गद्दार भन्न पाइन्छ र? स्वतन्त्र विचार हो नि। प्रचण्ड नेपाल पक्षमा लागेकालाई मैले किन गाली गर्नु? उहाँहरुलाई त्यही ठीक लागेको छ नि। फेरी उहाँ हामीले बोकेको दृष्टिकोणमा लाग्नुभयो भने हामी स्वागत गरौला। झलनाथ माधव जस्ता नेताहरुलाई पुन: नेता भन्नुपर्ने दिन आउँछ।

माधव र झलनाथ नै केपी ओली समूहमा आउँछन् त?

एकदमै। किनभने उहाँहरु नै हो नेता। हिजो पनि केपी ओली त कार्यकर्ता नै हुनुहुन्थ्यो १५ वर्ष माधव नेपालले महासचिव चलाउँदा खेरि। झलनाथ खनाल अध्यक्ष हुदाखेरी त केपी ओली त कार्यकर्ता हुनुहुन्थ्यो। उहाँहरुले नै बनाएको पार्टी हो नि। त्यसो भएकाले चटक्कै छाडेर बाइ बाइ भन्दै हिँडनु हुन्छ र? हेरिराख्नु होला धेरै समय पर्खनु पर्दैन।

अदालत र निर्वाचन आयोगले ओलीको पक्षमा फैसला गर्ने संकेत पाएर त त्यता लाग्नु भएको होइन?

होइन होइन। त्यस्तै आरोप लाग्ला भनेरै मैले दुवै ठाउँबाट फैसला नआउँदै निर्णय गरिसकेको छु। अदालतबाट जे फैसला आउँला त्यतिखेरै गरौंला। हामी प्रस्ट छौ कानुनत: गरेको ब्याख्या मान्य हुन्छ। निर्वाचन आयोगले पनि निर्णय जे सुकै गर्ला संविधान कानुनअनुसार त्यसले केही फरक पर्दैन। हिजो तत्कालीन शासकले केपी ओलीलाई थुनेर कम्युनिस्ट आन्दोलन रोकियो त? रोकिएन नि?

प्रतिनिधिसभा सदस्य भएका हिसावले संविधान निर्माणमा तपाई पनि सहभागी हुनु भो। मन्त्री पनि हुनु भयो थियो। आज संविधानलाई नै मिचेर गरेको निर्णयलाई कसरी स्वागत गर्नुहोला? अरुले प्रतिगमन भनेर यत्रो आन्दोलन भइरहेको छ।

यो राजनीतिक कदम हो। यो संवैधानिक कि असंवैधानिक भन्ने कुरा अदालतलाई व्याख्या गर्न छोडिदिउँ। अदालतले गर्ला। अदालतको व्याख्यालाई हामी सम्मान गर्छौ। कहिलेकाही राजनीतिक कदम संविधानको व्याख्यामा मात्रै सीमित हुँदैन, संविधान नै फेर्ने हुन्छ। जस्तो ४७ सालको कदम व्यवस्था फाल्ने हो। ६२/६३ को आन्दोलन व्यवस्था फेर्ने थियो। त्यसैले राजनीतिक कदमहरु धेरै सोचविचार गरेर चालिन्छ।

राजनीतिक कदमले व्यवस्था नै फाल्छ भन्नु भो अहिलको संविधानलाई शिरोधार्य गरेर कार्यकारी पदमा पुग्ने पुगेपछि त्यही व्यवस्था फेरिदिन्छु भन्न मिल्छ?

त्यसैले त यसको व्याख्या विश्लेषण हुन्छ। प्रधानमन्त्रीलाई नै व्याख्या विश्लेषण गर्ने अधिकार छैन। राजनीतिक कदमहरुको विश्लेषण हुँदैगर्छ। अदालतलाई त यसको अधिकार छ। व्याख्या आएपछि त यसबारे भनौंला नि। संवैधानिक कि असंवैधानिक भन्ने त। त्यसैले अहिले त राजनीतिक कदम चाल्नु भएको हो। राजनेताले राजनीतिक कदम चाल्न सक्छ।

अर्को कुरा यो चुनाव गर्न राजनीतिक कदम हो। फ्रेस म्याण्डेटका लागि भयो यो कदम। फेरि हिजो पनि भएको थियो। पहिले के भएको थिएन र? के गिरिजाप्रसाद कोइरालाले चालेनन र?

म तपाईलाई बताउँछु - भंग गर्नु राम्रो होइन। तर, यो भंग गर्ने स्थितिसम्म कसरी पुग्यो?  भन्ने कुराको पनि विश्लेषण होला नि।

तपाईको तर्क संविधानअनुसार ठीक होइन तर बाध्यात्मक स्थिति आएकाले भंग गर्नु ठीक हो भन्ने हो त्यसो भए?

हो। बाध्यात्मक स्थितिमा राजनीतिक कदम चालिन्छन्। त्यो कदमको राम्रो रिजल्ट आउँछ की नराम्रो रिजल्ट आउँछ त्यसको बारेमा तयारी गरेरै अगाडि बढछ नि त्यो कदम चाल्ने व्यक्तिले। त्यो तयारी नगरी त त्यो कदम चाल्दैन राजनेताले। राम्रो नराम्रो के आउँछ त्यो भोग्न हामी तयार छौं। 

प्रधानमन्त्रीले अदालतले संसद पुनस्थापना गरे आन्दोलन हुन्छ भनिसक्नु भो। त्यही होला नि तयारी?

होइन उहाँले अदालतले हाम्रो पक्षमा फैसला गरेन भने भन्नेहरुलाई जवाफ दिन त्यसो भन्नु भएको हो। धम्की दिनेहरुलाई अलिकति जवाफ दिनुभएको हो। त्यसो भएको हुनाले निर्वाचन भएन भने पनि प्रष्ट छ। भयो भने पनि म त सम्भावना देख्छु नेकपाको संसदीय दल पनि एकै छ। औपचारिक रुपमा विभाजन भएकै छैन।

आफ्नो समूह छोडेर ओलीलाई साथ दिनेले केही न केही पद पाएका छन्। तपाईको मन्त्री बन्ने सम्भावना कतिको छ?

पार्टीको कार्यकर्ता बनेर काम गर्ने कुरामा मेरो सहमति हो। कार्यकर्ता बनेर जहाँ सुकै जिम्मेवारी होस त्यसमा तलमाथि हुदैन। त्यो स्वीकारेर बसिसकेपछि भुँइमा पलेटी कसेर बस्न पनि तयार छु। त्यसैले मलाई पदको विषय सँग नजोडौं। यद्यपि हामी राजनीतिक प्राणी हो। पार्टीले कुनै जिम्मेवारी दिन्छ भने गर्दिनँ भनेर भाग्न मिल्दैन।

यो बीचमा तपाई निकै अस्थीर रहनु भो। के फेरी पनि अर्को समूहमा जाने सम्भावना रहला?

मान्छेको दृष्टिकोण सधैं उही नरहन सक्छ। तर मान्छेमा कन्सिटेन्सि भन्ने पनि चाहिन्छ। तर, म मा रहेको कन्सिटेन्सी के हो भने मेरो दृष्टिकोणमा कहिल्यै परिवर्तन आउँदैन। म सधै जनताको बहुदलीय जनवादमै थिएँ र त्यसैमा रहन्छ।

त्यही कुरा माधव प्रचण्डले नेतृत्व गरेको समूहमा पाइन्छ की त? भनेर लागियो। नपाएपछि त जहाँ हामीले पार्टी बनाएका हौं। जहाँ घर हो। त्यहाँ त गइन्छ। दृष्टिकोण मैले आजसम्म फेरेको छु र?

तपाई मात्रै आउनु भयो कि तपाईको पनि समूह होला त्यो पनि आयो?

त्यो त अब सुरु हुन्छ। हजारौं हजार कार्यकर्ता आउँछन्। कार्यकर्तामात्रै होइन नेता नै आउँछ। अब थुप्रै नेताहरु आउँछन्।

ओली समूहका मन्त्री नै प्रचण्ड-नेपाल समूहमा जाने चर्चा छ? त्यसो पनि होला नी?

छुट्टिने बेला तोरीको बास्ना कोदोतिर र कोदोको बास्ना तोरीतिर त अलिअलि सर्छ। मुलत: हामी के विश्वासमा छौं भने धेरै कार्यकर्ता जो भुलबस प्रचण्ड-माधव समूहमा हुनुहुन्छ अझ झलनाथ खनाल र माधव नेपाल पनि यतै आउनुहुने छ।

पार्टी एउटै, विचार एउटै अनि उद्देश्य पनि एउटै जस्तो देखिन्छ दुवै समूहको। अनि अहिले तपाई कहिले यता कहिले उता लाग्दा के त्यस्तो कमजोरी देख्नु भो प्रचण्ड-नेपाल समूहमा र ओलीसँग त्यस्तो के गुण छ?

म त्यस्तो कुरा धेरै भन्दिनँ। तर, प्रचण्ड-नेपाल समूह मुलुकको समृद्धिको बहस गर्ने कुरामा कही न कही चुकेको छ। समृद्धि कसरी ल्याउने भन्ने कुरामा ड्राइभ गर्ने कुरामा त्यहाँ फेला परिरहेको छैन।  वर्तमान प्रधानमन्त्री अलि एग्रेसिभ हुनुहुन्छ। समृद्धिका कुरामा केही न केही परिवर्तन गरौं भन्ने उहाँको जुन सोच छ त्यसमा म पनि केही न केही परिवर्तन गरौ भन्ने मान्छे हो। त्यसमध्येको एउटा टुल्स त मैले पनि अघि सारेको थियो। त्यसैले ती एजेण्डा मसँग अहिले पनि छन्। मसँग सयौं कार्यक्रम छन्। फिडब्याक दिने सयौं विद्वान पनि मैसँग हुनुहुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell