PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अरुबाट हैन आफन्तबाटै असुरक्षित, सबैभन्दा बढी 'बुबाहरु'बाटै!



सविन ढकाल

अरुबाट हैन आफन्तबाटै असुरक्षित, सबैभन्दा बढी 'बुबाहरु'बाटै!
प्रतीकात्मक फोटो

काठमाडौं : १८ वर्षअघि भोला यादवले दोस्रो श्रीमती भित्र्याए। उनले विवाह गरेर ल्याएकी श्रीमती डिभोर्सी थिइन्। उनको पाँच वर्षीया छोरी पनि थिइन्। भोलाले सहजै छोरीसहित मीना (नाम परिवर्तन) लाई स्वीकार गरे।

धनुषाका भोला मजदुरी गरेर जीवन चलाउँदै आएका थिए। मीनाले उनलाई हातेमालो गर्दै थिइन्। समय बित्दै गयो। पाँच वर्षकी छोरी हुर्किँदै गइन्। भोला बौद्धको जम्बुडाँडामा बस्दै आएका थिए। गलैँचा उद्योगमा काम गर्दै आएका उनहरुको विवाहपछि दुई सन्तान भए।

धनुषाको कमला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका भोला १८ वर्षअघि परिवार छोडेर आएका थिए। उनकी जेठी श्रीमती धनुषामा नै छिन्। एकाएक हराएका भोला परिवारको सम्पर्कमा आए। त्यसपछि उनले दोस्रो विवाह गरेको उनको पहिलो परिवारले थाहा पाए।

माघ १३ गते दिउँसो भोलाकी श्रीमती, छोरी र छोरा अस्पतालमा गएका थिए। कुरुवा बस्नुपर्ने थियो। सधैँ भोला कुरुवा बस्थे। तर, त्यसदिन स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी कुरुवा बस्न गएनन्। कोठामा २३ वर्षीय छोरी र भोलामात्र थिए।

राति पर्दै गएपछि भोलाले छोरीलाई रक्सी किनेर ल्याउन भने। छोरीले बाबुको लागि रक्सी ल्याइन्। उनलाई रक्सीको नसा चढ्दै गयो। त्यसपछि भोलाले यतिसम्म होस् गुमाए कि आफ्नी छोरीसमेत भन्ने हेक्का राखेनन्। २३ वर्षीय छोरीलाई बलात्कार गरे। त्यसको प्रतिकारमा छोरी उत्रिइन्। त्यसपछि उनले टाउकोमा ठोक्काएर बेहोस बनाए। छोरी रगताम्मे भएर भुँइमा ढलिन्।

भोलाले छोरी मरेको सम्झिए। त्यसपछि बिहानै श्रीमतीलाई फोनमा छोरी मारेर आफू भागेको भन्दै खबर दिए। अस्पतालमा रहेकी मीना दौडिएर कोठा पुगिन्। कोठा पुग्दा छोरी लडिरहेकी थिइन्। तर सास बाँकी नै थियो। तत्कालै उनलाई ट्रमा सेन्टर पुर्‍याइयो। अहिले उनी आइसीयूमा छिन्। होस आए पनि धेरै कुरा सम्झिन र बोल्न सक्दिनन्।

भागेर धनुषा पुगेका भोलालाई प्रहरीले पक्राउ गरेको छ। उनले प्रहरीमा बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।

'पीडित बोल्ने अवस्थामा छैन। त्यसैले धेरै कुरा सोध्न मिलेन। तर, अभियुक्तले स्वीकार गरेका छन्,' महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले भने।

मीनाले आफ्नै श्रीमानले छोरीको यो हाल बनाउलान् भनेर कहिले पनि सोचेकी थिइनन् होला। त्यस्तै, छोरीले पनि बाबुले यस्तो गर्लान् भनेर के सोचेकी होलिन्। तर, उनी आफ्नै घरभित्र सुरक्षित भइनन्। झड्केलो बाबुबाट नै बलात्कारको सिकार भइन्।

अदालतमा छोरी नै उपस्थित भएर मलाई यस्तो गरेको भन्ने बयान दिएको भए भोलालाई जेल पुर्‍याउने सबैभन्दा ठुलो प्रमाण हुन्थ्यो। तर, उनी बोल्न नसकेकाले अदालतमा हाजिर भइनन्। तर पनि प्रहरीले प्रमाण पुर्‍याएर पेश गरेकाले उनको कारागार चलान हुने सम्भावना बलियो भएको प्रहरीको दाबी छ।

भागीरथी पनि आफन्तबाट नै..

भागरथी भट्ट बलात्कारपछि हत्या प्रकरणका आरोपी किशोरलाई प्रहरीले सार्वजनिक समेत गरिसकेको छ। प्रहरीको हिरासतमा रहेका किशोरले घटना आफैले गरेको स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ।

बैतडीको दोगदाकेदार - ७ चडेपानीकी १७ वर्षीया भागरथीको गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागीरथी भट्ट भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्।

प्रहरीको अनुसन्धान र पोस्टमार्टम रिपोर्टले भट्टको बलात्कार र हत्या भएको प्रहरीले बताउँदै आएको छ। भागरथी र अभियुक्त किशोर चिनजानकै हुन्। उनीहरू एउटै विद्यालयमा पढ्छन्। त्यतिमात्र होइन उनीहरूको पारिवारिक सम्बन्ध पनि छ। नाताले दिदी भाइ हुन्। अभियुक्तले भागरथीलाई दिदी भनेर सम्बोधन गर्थे।

तर, तिनै भाइले दिदीलाई क्रुरव्यवहार गरे। विभत्स हत्या भयो। भिरबाट लडाएर हत्या अनि बलात्कार भएको प्रहरी भनिरहेको छ। अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

पछिल्लो समय देशभित्र भएका बलात्कारका घटनामा चिने जानेका मानिसकै संलग्नता हुने गरेको देखिएको छ। बाबुदेखि शिक्षकसम्म, मामादेखि काकासम्मबाट महिलाहरू असुरक्षित हुने गरेको देखिन्छ। त्यसो त बलात्कारको सिकार सबैभन्दा धेरै बालिका भएको देखिन्छ।

घरभित्र नै असुरक्षित..

प्रहरीको तथ्याङ्कले सबैभन्दा धेरै बलात्कारको सिकार चिनेजानेको मानिसबाट नै हुने गरेको देखिन्छ। आर्थिक वर्ष २०७४/७५ मा एक हजार ६ सय ७४ वटा बलात्कारको घटना प्रहरीमा आएका थिए। जसमध्ये ३ सय ८४ वटा मात्र नचिनेका र बाँकी घटना चिनेको व्यक्तिहरूबाट भएको देखिन्छ।

प्रहरीको तथ्याङ्क अनुसार बाबु/झड्केलो बाबुबाट ४४ वटा बलात्कारका घटना भएको देखिएको छ, ससुराबाट ९, आमाछोरा ५, काका/मामा/ठुलो बुबा १७, दाजुभाइ/काका/ठूलो बुबाको छोरा/मामाको छोराबाट २४, देवर जेठाजुबाट १०,  श्रीमान् ११, भदाबाट १, घर मालिकबाट ३, केटा साथीबाट ७५, छिमेकीबाट ५ सय ६८, शिक्षकबाट ५ र डिभोर्स भएको श्रीमानबाट १ जना बलात्कृत भएका छन्।

'धेरै जसो घटनामा बलात्कारपछि हत्या हुने कारण पनि चिनजानले गर्दा पनि हुन्छ। चिनजानको बाटै घटना हुन्छ। त्यसैले पोल खुल्ने डरले हत्यासमेत हुने गरेको छ,' नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले भने।

आर्थिक वर्ष २०७५\७६ मा पनि चिनेजानेको र आफन्तबाट नै बलात्कार भएको प्रहरीको तथ्याङ्कले देखाउँछ। २ हजार ५ सय ७० घटनामध्ये ५ सय ३२ वटा मात्र नचिनेको मानिसबाट भएका छन्। बाँकी घटनामा चिने जानेका र आफन्त नै देखिन्छन्। हजुरबुबाबाट १०, बाबु /झड्केलो बाबुबाट ५२ वटा, ससुरा १०, आमाछोरा ५, काका/मामा/ठूलोबुबा २८, दाजुभाइ काका/मामाको छोरा/ ठुलो बुबाको छोराबाट २५,  देवर जेठाजु ९, श्रीमान् २८, घर मालिक २, केटा साथी १ सय ५५, छिमेकी ६ सय ८५, भिनाजु २, शिक्षक ११, अन्य चिनेजानेकोबाट १ हजार ४५, डिभोर्स भएको श्रीमानबाट १०, एक जना भने खुलेको छैन। त्यो नखुलेको निर्मला पन्तको घटना हो।

आर्थिक वर्ष २०७६/७७मा पनि आफन्तबाट नै धेरै महिला बलात्कारको सिकार भएको देखिएको छ। हजुरबुबाबाट १५, बुबा/ झड्केलो बुबाबाट ४७, सुराबाट ८, आमाछोरा ३, काका/मामा/ ठूलोबुबाबाट ४१, दाजुभाइ/ काकाको छोरा/ ठूलोबुबाको छोरा/ मामाको छोराबाट ३२, देवर जेठाजुबाट १३, श्रीमानबाट २६, घर मालिकाबाट ३, केटा साथीबाट ९३, छिमेकीबाट ६ सय ७२, भिनाजुबाट ५, शिक्षकबाट ४५, अन्य चिनेजानेकोबाट ९ सय १५, डिभोर्स गरेको श्रीमानबाट २८, नचिनेकोबाट ४ सय ९७ र ५ वटाको भने अझै खुल्न सकेको छैन।

चालु आर्थिक वर्षमा पनि चिनेजानेको मानिसबाट नै महिलाहरू सबैभन्दा धेरै बलात्कृत हुने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell