
हेटौंडा : राष्ट्रिय प्रजातजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन्। संसद विघटन सम्बन्धि अस्पष्टता हटाउन सर्वोच्चले यसवारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले बताए। उनले राजनीतिक रूपमा शान्ति र स्थिरताका लागि पनि चुनाव चाहिने विचार राखेका हुन्।
'प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाब आवश्यक छ,' उनले भने,'अपवित्र गठवन्धन बनाएर सरकार बनाउन कंग्रेसलाई जनताको म्याण्डेट थिएन। काँग्रेसले सत्ताको लोभ देखायो भने काँग्रेस पनि जनताको नजरबाट खस्नेछ।'
गृह जिल्ला मकवानपुरमा टोल-टोलमा राप्रपा अभियान संचालन गरिरहेका थापाले मंगलवार हेटौंडा -१३ को पदमपोखरिमा आयोजित कार्यक्रममा बोल्दै निषेधको राजनितिले मुलुकलाई संकटतर्फ लैजाने भएकोले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्ने बताए।
थापाले विगत १४ वर्षको राजनितीक 'रोडम्याप'ले निकास दिन नसकेको भन्दै त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्ने बताए। गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यो खारेज गर्नुपर्ने उनको धारणा थियो।
'विदेशिको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य व्यवस्था र प्रणाली कायम गरौं, जुन सहमतिको आधारित होस्,' थापाले भने।
भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई थप अधोगतीतर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य जरुरी भएको बताए।