काठमाडौं : पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले 'हामी यहाँ छौं' भन्दै सडकमा प्लेकार्डसहित कसेको पलेटीलाई सर्वोच्च अदालतले देखेको छ। आज प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतले फैसला दिँदा यी दुई नेता कहाँ छन् त?
भोलि विरोध कार्यक्रम गर्नका लागि चितवन पुगेका उनीहरुको कार्यसूची एकएक फेरिएको छ। सडकमा शक्ति प्रदर्शन गर्ने मुड लिएका उनीहरुले अब विजयोत्सव मनाउने छन्। त्यसको पूर्व सन्ध्यामा एकअर्कालाई लड्डु बाँडेको दृष्य आकर्षक देखिएको थियो।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेदेखि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल आन्दोलनरत छन्। उनीहरु संसद पुनर्स्थापन हुनुपर्ने माग गरिरहेका थिए। यही विषय अदालतमा समेत पुग्यो र मंगलवार सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनायो।
फैसलालाई लिएर आन्दोलनरत नेकपा समुह खुशी नहुने कुरै रहेन। फैसला सुनाउँदा दुवै नेताहरु साथमा नै थिए, चितवनमा। उनीहरुले त्यहीँ रातो टीका लगाउँदै जितको जस्न मनाएका छन्। एक अर्कालाई लड्डु खुवाउँदै खुशी आदानप्रदान गरेका छन्।
