PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रतिनिधिसभा पुनर्स्थापनाको खुशीयालीमा हेटौँडामा दीप प्रज्वलन



निशा गुरुङ

प्रतिनिधिसभा पुनर्स्थापनाको खुशीयालीमा हेटौँडामा दीप प्रज्वलन

हेटौँडा : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाएसँगै हेटौँडाको मुख्यचोक बुद्धचोकमा दीप प्रज्वलन गरिएको छ। नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापित भएको खुशीयालीमा दीप प्रज्वलन गरेको हो।

नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीको नेतृत्वमा बुद्धचोकमा दीप प्रज्वलन गरिएको हो। उक्त कार्यक्रममा प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य : नेता बानियाँ 

वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने गरी गरेको फैसलाको स्वागत गरेका छन्। आज प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र १३ दिनभित्र सदन बोलाउन सर्वोच्च अदालतले गरेको फैसला संविधानको भावना र विधिको शासनसम्मत भएको भन्दै उनले सर्वोच्चप्रति धन्यवाद व्यक्त गरेका छन्।

यो ऐतिहासिक फैसला हो, स्वतन्त्र न्यायपालिकाको यो फैसलाको स्वागत र सम्मान व्यक्त गर्दछौँ, उनले भने।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी मकवानपुर नेकपाकी अध्यक्ष मुनु सिग्देलले सर्वाच्च अदालतले नेपाली जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त संविधानको रक्षा गरेको भन्दै सम्पूर्ण नेपालीहरुमा बधाई दिएकी छिन्।

उनले कानुनी राज्यमा कुनै तानाशाहको अत्याचारी कमद स्वीकार्य नहुने प्रतिक्रिया दिइन्। मुलुकको सर्वोच्च कानुन संविधानलाई मिचेर प्रधानमन्त्रीले गरेको अत्याचारको आजैबाट अन्त्य भएको उनले बताइन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई आज बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्। त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell