काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गरेपछि नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले ओलीको राजीनामा मागेका छन्।
बुधवारको सभाका लागि चितवन पुगेका प्रचण्डले कार्यकर्तामाझ खुशी साट्दै ओलीको राजीनामा मागेका हुन्। 'ओलीजी अलिकति पनि लाज छ भने राजीनामा दिनुस,' उनले भने।
ओलीसँग कुनै सहमति सहकार्य नहुने उनको भनाई थियो। विरोधसभामा आफूले जनाएको प्रतिवद्धता अनुसार अघि बढने उनले बताए।
'हामीले जनतासँग जे प्रतिवद्धता जनाएका थियौं त्यही अनुसार अघि बढछौ,' प्रचण्डले भने। ओली र उनी समूहका नेतालाई भ्रमबाट मुक्त हुन प्रचण्डले आग्रह गरे। उनले ओली समूहमा लागेका नेता कार्यकर्तालाई समेत मूल पार्टीमा फर्कन आग्रह गरेका हुन्।
'केपी ओली र उनका समूहका नेतालाई भ्रमबाट मुक्त हुन अनुरोध गर्छु। जति पनि साथीहरु हुनुहुन्छ अब फेरि माननीय भइसक्नु भयो। ओली समूहमा लागेका साथीहरु मुल पार्टीमा आउनुस्,' उनले भने।
