PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

कांग्रेस सभापति देउवा र नेकपा अध्यक्ष प्रचण्डबीच टेलिफोनमा बधाई साटासाट, भोलि काठमाडौंमा भेट



पहिलोपोस्ट

कांग्रेस सभापति देउवा र नेकपा अध्यक्ष प्रचण्डबीच टेलिफोनमा बधाई साटासाट, भोलि काठमाडौंमा भेट

काठमाडौं : प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले असंवैधानिक घोषित गर्दै बदर गरेपछि आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोनमा कुराकानी भएको छ।

मंगलवार पूर्वनिर्धारित कार्यक्रम अनुसार विरोध सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्ष दाहालले टेलिफोनमा कुराकानी भएको बताएका छन्। सभापति देउवासँग बधाई साटासाट भएको उनले बताए। बीबीसी नेपाली सेवासँगको कुराकानीमा अध्यक्ष दाहालले साधारण कुराकानी भएको बताएका हुन्।

‘अरु केही कुराकानी भएन सामान्य बधाई साटासाट भयो। भोलि चाहिँ काठमाडौंमा भेट्ने खालको सामान्य कुराकानी भयो,’ अध्यक्ष दाहाले भने।

अदालतको फैसला आएसँगै अब सरकार कसरी अगाडी बढ्छ भन्ने विषय निकै चासोको विषय बनेको छ। नेकपा भित्र दुई गुट देखिदा बहुमतको सरकार बनाउन नेपाली कांग्रेसको भुमिका झनै अहम बनिरहेको समयमा अध्यक्ष दाहाल र सभापति देउवाको कुराकानी पनि महत्वपूर्ण देखिन्छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विघटनलाई असंवैधानिक घोषणा गर्दै १३ दिनभित्र संसदको अधिवेशन बोलाउन परमादेश दिएको छ।

विघटन बदर भएसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन सक्छन्। यदि त्यसो भएन भने संसद बैठकबाट नेकपा (दाहाल-नेपाल समूह)का ८९ सांसदले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव अगाडि बढ्ने छ।

अविश्वासको प्रस्तावमा बहुमत पुगेर पारित भएमा ओली पदमुक्त हुनेछन्। तर, अविश्वासको प्रस्ताव पारित हुन कांग्रेस वा मधेशवादी दलको साथ चाहिन्छ। कांग्रेस निर्णायक हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell