यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एट्लेटिको मड्रिडमाथि जित निकालेको छ। रोमानियस्थित नेसनल एरेनामा सम्पन्न इङ्ग्लिस क्लब चेल्सी र स्पेनिस क्लब एट्लेटिको मड्रिडबीचको राउण्ड अफ १६ को पहिलो लेगमा चेल्सीले १-० को संघर्षपूर्ण जित निकालेको हो।
चेल्सीको जितमा ओलिभर जिरुडले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा उनले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए।
गएराति नै भएको च्याम्पियन्स लिगको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको थियो।
एटलेटिको र चेल्सीबीचको दोस्रो लेग मार्च १८ मा चेल्सीको घरेलु मैदानमा हुनेछ।
