PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

काँग्रेसको ध्यान अब सत्तातिर कि महाधिवेशनतिर?



पहिलोपोस्ट

काँग्रेसको ध्यान अब सत्तातिर कि महाधिवेशनतिर?

काठमाडौं : प्रतिनिधि सभा विघटनको विवाद निरुपण भएसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको ध्यान अब महाधिवेशनतिर हुने देखिएको छ।

काँग्रेसले आफ्नो १४ औं महाधिवेशन तोकिएको समयमा गर्न नसकेपछि संविधानको साहरा लिँदै सभापति शेरबहादुर देउवा कार्यसमितिको म्याद ६ महिना थपेर महाधिवेशनको मिति भदौ ७ का लागि तोकेको छ।

'नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी ४ (चार) वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ (छ) महिना थप गर्न सकिने भएकोले, सो बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि ६ (छ) महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने। उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिनेछ,' फागुन ५ गते प्रस्तावित निर्णयलाई ६ गते सर्वसम्मत पारित भएको काँग्रेसको निर्णयमा भनिएको छ।

फागुन ६ गतेको केन्द्रीय कार्यसमिति बैठकले १४ औँ महाधिवेशन ०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो। कांग्रेसले महाधिवेशनसँगै गाउँ, नगर वडा अधिवेशन असार ५ गते, गाउँ, नगरपालिका अधिवेशन असार ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गते कार्यतालिका निर्धारण गरेको छ। साथै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने कांग्रेसको निर्णय छ।

कांग्रेसले जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण सम्पन्न गर्ने अवधि फागुन २८ गतेभित्र, क्रियाशील सदस्यता प्रकाशित गरी केन्द्रमा पठाउने अवधि आगामी चैत १० गतेभित्र तोकेको छ। यसैगरी नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले उजुरी उपर छानविन गरी केन्द्रमा पठाउनु पर्ने अवधि चैत २५ गते तोकिएको छ। केन्द्रीय छानबिन समितिमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी सूची तयार गरेर केन्द्रीय सभापतिलाई बुझाउने अवधि आगामी जेठ १७ गतेसम्म निर्धारण गरिएको छ। 

यद्यपि काँग्रेसको क्रियाशील विवाद जारी रहेकोले आज केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको छानबिन समितिको बैठक शुरु भएको छ। क्रियाशील छानबिनसँगै काँग्रेसले राजनीतिक भेटघाटलाई पनि तीव्र बनाउने देखिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते चालेको प्रतिनिधि सभा विघटनको कदमलाई सर्वोच्च अदालतले बुधवार उल्ट्याएसँगै काँग्रेस राजनीतिको केन्द्रमा देखिने भएको छ। यसका लागि काँग्रेसले कुनै दलसँग आज सर्वदलीय बैठक राखेको छ कि? पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यस किसिमको कुनै बैठक नराखिएको बताए।

बरु उनले काँग्रेस महाधिवशेनका लागि आफ्नो शक्ति खर्च गर्नमा लागेको बताए। 'नेपाली काँग्रेसले आफ्नो सम्पूर्ण शक्ति महाधिवेशनका लागि खर्च गरिरहेको छ। सबै नेताहरु त्यसैमा लागि परेका छन्,' मुख्य सचिव पौडेलले भने।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि काँग्रेसको कुनै दलसँग छलफल नभएको बताए। 'आज कुनै बैठक राखिएका छैनन्। बरु महाधिवेशन सम्बन्धी कामहरु अघि बढिरहेका छन्,' प्रवक्ता शर्माले भने। अब काँग्रेसको ध्यान महाधिवेशनतिर धेरै भएको उनको भनाई थियो।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि १३ दिनभित्र संसद अधिवेशन आह्वान गर्न सर्वोच्च अदालतले आह्वान गरेको छ। यस्तो अवस्थामा कसरी अगाडि बढ्ने? यसबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले संसदीय दलको बैठक डाकेको छ। काँग्रेसले त्यही बैठकको निर्णयपछि मात्र सत्ता यात्रातिर आवश्यक कदम चाल्ने नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell