काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई गलत ठहर्याउँदै पुनर्स्थापनाका लागि फैसला सुनाएपछि त्यसको प्रतिक्रिया जनाउँदै आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु सडकमा उत्रिएका छन्। उनीहरु सर्वोच्चको फैसलालाई लिएर हर्षोल्लाश मनाइरहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। उनको विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सहजै स्वीकार गरेकी थिइन्। त्यसविरुद्ध परेका मुद्दाहरुको हिजो सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएको थियो। फैसलामा प्रधानमन्त्री ओली र राष्ट्रपति दुवैका कदमलाई गैर संवैधानिक ठहर्याइएको छ।
पुस ५ मा प्रधानमन्त्रीको कदमसँगै नेकपा अनौपचारिक फुटतिर लागेको छ। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले सडक आन्दोलन नै सुरु गरेर प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आएका थिए। उनीहरुको तर्फबाट पनि सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो।
सर्वोच्च अदालतले फैसला दिएलगत्तै हिजैदेखि हर्षोल्लाश मनाउने कार्यक्रमहरु हुँदै आएको छ।
