PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राजीनामा नदिने मुडमा ओली, बालुवाटार अब के को तयारीमा?



पहिलोपोस्ट

राजीनामा नदिने मुडमा ओली, बालुवाटार अब के को तयारीमा?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि उनीमाथि नैतिक प्रश्न उठेको छ।

अदालतले ओलीको कदमलाई असंवैधानिक भनेसँगै नेकपाका अधिकांश नेताहरुले उनको राजीनामा मागेका छन्। उनकै समूहका नेताले पनि राजीनामा दिनु उत्तम विकल्प भएको सुझाएका छन्। तर, ओली आफैँ भने राजीनामा नगर्ने अडानमा छन्। ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजीनामा दिने विषयमा आफूहरु छलफलमै रहेको बताए।

'अबको परिदृश्य कस्तो हुन्छ। हामीबाट जानुभएका साथीहरुले काँग्रेससँग समीकरण बनाउने विषयमा पनि छलफल भइरहेको भन्ने सुनेका छौं। त्यो ठीकै पनि होला,' ज्ञवालीले भने।

ओली समूहको बुधवारको स्थायी कमिटीको बैठकमा पनि नेताहरुले ओलीलाई राजीनामाबारे जिज्ञासा राखेका थिए। तर, ओलीले आफ्नो राजीनामाभन्दा मुलुकको चिन्ता भएको बताएर त्यसलाई टारेका थिए।

'राजीनामाबारे जिज्ञासा राख्दा उहाँले मुलकको चिन्ता भएको बताउनु भयो,' बैठकमा सहभागी एक नेताले भने। बुधवार बालुवाटारमा बसेको बैठकले केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ। तर, मिति भने तोकिएको छैन्। भोलि बस्ने सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकले संसदीय दलको बैठकको मिति तय गर्ने ज्ञवालीले बताए।

ओली समूहले तय गरेका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने भएको छ। अदालतले १३ दिनभित्र संसद वैठक बोलाउन माग गरेकाले त्यसको कार्यान्वयन गरिने ज्ञवालीले बताए। 'अदालतको फैसला अनुसार नै संसद अधिवेशनको आह्वान हुन्छ,' उनले भने।

ओली के को तयारी गर्दै छन्?

राजीनामा दिनुपर्ने दबाव भएपनि ओलीले राजीनामा नदिएर संसद फेस गर्ने तयारी गरेका छन्। त्यसका लागि उनले आफ्नो समूहमा बहुमत जुटाउन संसदीय दलको बैठक बोलाउने उनी निकट नेताहरुले बताए।

प्रचण्ड-नेपाल समूहमा रहेका सांसदहरुलाई समेत ओलीले फकाइरहका छन्। त्यसका लागि प्रचण्ड-नेपाल समूहका नेताहरुसँग ओली निकट नेताहरुले अनौपचारिक छलफल तीब्र पारेका छन्। परराष्ट्रमन्त्री तथा ओली समूहका प्रवक्ता ज्ञवालीले अनौपचारिक छलफल भइरहेको स्वीकारे। 'फैसला पछि अनौपचारिक रुपमा पनि छलफल भएको छ। औपचारिक भने कोहीसँग पनि कुराकानी भएको छैन्,' उनले भने।

संसदीय दल विभाजित नभएको दावी

प्रचण्ड-नेपाल समूहले बुधवार नै संसदीय दलको बैठक बोलाएको छ। प्रचण्ड-नेपालले ओली समूहमा लागेका सांसदलाई समेत मुल पार्टीमा फर्कन आग्रह गरिरहेका छन्। ओली समूहले पनि संसदीय दलको बैठक बोलाउने तयारी भएको जनाएको छ।

संसदीय दल विभाजित नभएको परराष्ट्रमन्त्री ज्ञवालीको तर्क छ।

'संसदीय दलको बैठक विभाजित छैन। संसदीय दलको नेता र उपनेताले बैठक बोलाउनुहुन्छ। र, बैठक बस्छ,' उनले भने।

प्रचण्ड नेपाल समूहले बोलाएको संसदीय दलको बैठक आधिकारिक नभएको उनको दावी छ। 'दलको नेता र उपनेताले बैठक बोलाउनु भएको छैन। अब अरुले बोलाएको बैठकबारे थाहा भएन,' उनले भने, 'भोलि स्थायी कमिटीको बैठक बस्छ। त्यसले संसदीय दलको बैठक  बोलाउन सक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell