PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

डाक्टर गोविन्द केसीको अनशन स्थगित, सर्वोच्च अदालतले जनअपेक्षा पूरा गरेको टिप्पणी



पहिलोपोस्ट

डाक्टर गोविन्द केसीको अनशन स्थगित, सर्वोच्च अदालतले जनअपेक्षा पूरा गरेको टिप्पणी

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित भएको छ। 

'तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि शुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं,' डाक्टर केसीले सत्याग्रह स्थगित भएको घोषणा गर्दै भनेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको भन्दै उनले सर्वोच्च न्यायालयबाट सबै नागरिकको अपेक्षा त्यही रहेको बताए।

प्रतिनिधिसभा पुनसर्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट हामीले पार नपाइसकेको उल्लेख गर्दै उनले जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन नल्याउने जनाए। 

'पछिल्ला तीन वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन,' डाक्टर केसीले भनेका छन्। 

प्रधानमन्त्री ओलीले संवैधानिक निकायहरुमा गलत रुपमा गरेका नियुक्ति सच्याउनुपर्ने उनको माग छ। 'संवैधानिक निकायमा गलत नियुक्ति हुँदा देशले कत्रो मुल्य चुकाउनुपर्छ भन्ने त यस अगाडि लोकमान सिंह कार्की प्रकरणमा हामी सबैले देखिसकेका छौं। ती निकायहरुको गरिमा फर्काउन अब सही बाटोबाट योग्य व्यक्तिहरुको नियुक्ति गर्नुको विकल्प छैन,' केसीले भनेका छन्।

स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि राज्यले गरेका सम्झौता पूरा गर्नु कुनै पनि नयाँ सरकारको कर्तव्य बन्ने उल्लेख गर्दै उनले नेकपा र नेपाली काँग्रेसलगायत सबै प्रमुख राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराएका छन्।

'२०५२ सालपछिको अवधिमा सांसद किनबेचसहित विकृत गठबन्धन राजनीतिको जस्तो अभ्यास भयो, त्यो अब कुनै पनि हालतमा दोहोरिनु हुँदैन,' उनले भनेका छन्, 'अब जुनसुकै सरकार आए पनि त्यसलाई निरन्तर खबरदारीसहित उत्तरदायी बनाउनु नागरिकका रुपमा हामी आफ्नो कर्तव्य सम्झन्छौं।'

साथै उनले विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell