PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रचण्ड-माधव पक्षीय स्थायी कमिटीको निर्णय : तत्काल ओलीसँग एकता हुन्छ भन्नु भ्रम मात्र, स्थिरताका लागि काँग्रेससँग सहकार्य



पहिलोपोस्ट

प्रचण्ड-माधव पक्षीय स्थायी कमिटीको निर्णय : तत्काल ओलीसँग एकता हुन्छ भन्नु भ्रम मात्र, स्थिरताका लागि काँग्रेससँग सहकार्य

काठमाडौं :  प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलालाई स्वागत गर्दै नेकपा (दाहाल-नेपाल समूह)को स्थायी कमिटीले राजनीतिक स्थिरताका लागि सबै शक्तिसँग मिलेर अगाडि बढ्ने निर्णय गरेको छ।

समूहको बुधवारको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासलाई सुदृढिकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरणका लागि आत्मसमीक्षा सहित अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'लोकतन्त्रको कार्यान्वयनका लागि सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अगाडि बढ्ने निर्णय गर्‍यो,' उनले भने।

बैठकले प्रतिगामी कदम तत्काल असफल पारिए पनि त्यस्ता गतिविधि भविष्यमा नहुन भन्न सचेत हुनुपर्ने निष्कर्षसमेत निकालेको छ। प्रवक्ता श्रेष्ठले तत्काल नेकपाको ओली समूहसँग मिलेर जान सक्ने अवस्था नभएको समेत बताए।

'हामी एकताका पक्षमा हिजो पनि थियौँं। आज पनि छौँं। तर, अहिलेकै अवस्थामा पार्टी एकता हुन्छ भन्नु अर्को भ्रम हुन सक्छ। हामी भ्रममा बस्न सक्दैनौँ,' उनले अगाडि भने, 'हामीले हिजो एकता पनि जोगाउने र लोकतन्त्र र संविधानको पक्षमा कुरा गर्दा ओलीले गुटवादी प्रयन्त गरे, संविधान मिच्ने काम गरे। हामीले त्यसको विरोध गरेका हौँं। पार्टी एकतालाई प्रहार गर्ने पार्टीलाई चोइट्याउने, संविधान र लोकतन्त्रमाथि नै प्रहार गर्ने काम भयो। आत्माआलोचना गर्दै त्यस्ता गतिविधि नगर्ने प्रतिवद्धतासहित आए सम्भावना छ। तत्काल त्यस्तो देखिँदैन।'

ओलीले त्यसतर्फ तत्परता नदेखाएको श्रेष्ठको भनाइ छ। प्रवक्ता श्रेष्ठले नेपाली कांग्रेसँग आगामी दिनमा स्थिरतालाई अगाडि बढाउन मिलेर अगाडि बढ्ने विषयमा छलफल भएको बताए। 'नेपाली कांग्रेसले हिजो निर्णय लिन नसक्दा संयुक्त आन्दोलन हुन सकेन,' उनले अगाडि भने, 'अब कसरी अगाडि बढ्ने, स्थिरतालाई अगाडि बढाउन मिलेर जानुपर्छ भन्ने बारेमा छलफल भएको छ।'

उनले नेकपाको संसदीय दलको बैठकले यसअघि नै संसदीय दलको नेता चयन गरिसकेको भन्दै निर्णयलाई अगाडि बढाउने संकेत गरे।

आजै नेकपाको प्रचण्ड-माधव नेपाल पक्षीय संसदीय दलको बैठक बस्दैछ। 'आवश्यक परे यसअघि दर्ता भएको अविश्वासको प्रस्तावलाई नयाँ ढंगले अगाडि बढाइने' प्रवक्ता श्रेष्ठले स्पष्ट पारे। यसअघि पुस ५ गते नेकपाका बहुमत सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै प्रचण्डलाई नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell