PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

चितुवाको आक्रमणमा परि एक बृद्ध गम्भीर घाइते



राधेश्याम पटेल

चितुवाको आक्रमणमा परि एक बृद्ध गम्भीर घाइते

वीरगंज : पर्साको ठोरी गाउँपालिकामा गएराति चितुवाको आक्रमणमा परि एक जना बृद्ध गम्भीर घाइते भएका छन्। ठोरी गाउँपालिका वडा नम्बर ५ सानो बाघमोर्चाका ६५ वर्षीय कुलबहादुर खत्री गम्भीर घाइते भएका हुन्।

पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको चितुवाले खत्रीलाई राती ८:३० बजे घरभित्र भैंसीको लागि दाना पकाइरहेको अवस्था आक्रमण गरी घाइते बनाएको उनका  भतिजा रन्जित कार्कीले जानकारी दिए। घाइते खत्रीको मुख, हात, नाकमा चितुवाले आक्रमण गरेको थियो।

घाइते खत्रीको घाउमा चौबीस वटा टाँका समेत लागेको प्रहरी चौकी सुवर्णपुरका प्रहरी सहायक निरीक्षक इन्डेव चौधरीले जानकारी दिए। घाइतेको अहिले सुवर्णपुरको स्थानीय क्लिनिकमा उपचार भइरहेको परिवारका सदस्यहरुले जनाएका छन्।

यसैबीच, घाइते खत्रीलाई उपचारको लागि पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको सुनाखरी उपभोक्ता समिती सुवर्णपुरका अध्यक्ष देवि प्रसाद दाहाल र सचिव जीवन श्रेष्ठले नगद ५००० पाँच हजार आर्थिक सहयोग गरेका छन्।

गाउँ पसेर चितुवाले मान्छे घाइते बनाउन थालेपछि जङ्गल तथा निकुञ्जसँगको सीमा जोडिएका गाउँका स्थानीयहरु त्रसित भएका छन्। ठोरी गाउँपालिकाको ब्रह्मानगर विजय बस्ती सुवर्णपुर, बाघमोर्चा, गडुवा लाइन तथा जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेका महादेवपटि, बलुवा, पकडीटोला, जगतिया काठमाडौंटोल शान्तीटोलका स्थानीयहरु त्रसित भएको जिराभवानी गाउँ पालिका वडा नम्बर १ का वडाध्यक्ष सेख नुमान आजमले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell