PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सर्वोच्चले प्रचण्डसँग माग्यो अवहेलना मुद्दामा फेरि लिखित जवाफ, पुरानो मुद्दामा हाजिर हुँदै



पहिलोपोस्ट

सर्वोच्चले प्रचण्डसँग माग्यो अवहेलना मुद्दामा फेरि लिखित जवाफ, पुरानो मुद्दामा हाजिर हुँदै

काठमाडौं : सर्वोच्च अदालतले नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ।

शुक्रराज आरणसमेतले दायर गरेको रिट निवेदनमा बुधवार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले लिखित जवाफ मगाउने आदेश दिएको हो।

प्रचण्डविरुद्ध यसअघि पनि परेको अवहेलना मुद्दामै न्यायाधीश डा मनोज शर्माको एकल इजलासले माघ २१ गते सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो। महिनादिन पुग्नै लाग्दा पनि जवाफ बुझाएका छैनन्।

अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बोलेर न्यायसम्पादनमा अवरोध गरेको भन्दै त्यतिबेला अधिवक्ता समिर हायुले अवहेलना मुद्दा दायर गरेका थिए।

प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले म्याद तामेली बुझिसकेको र भोलि वा पर्सि जवाफ बुझाउन अदालत जाने कार्यतालिका रहेको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार जना पूर्व प्रधानन्यायाधीशहरुले सर्वोच्चमा उपस्थित भएर अवहेलनामा मुद्दामा लिखित जवाफ बुझाइसकेका छन्। पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell