PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हुन्डीको २५ लाख नगदसहित बाराबाट दुई जना भारतीय भरिया पक्राउ



राधेश्याम पटेल

हुन्डीको २५ लाख नगदसहित बाराबाट दुई जना भारतीय भरिया पक्राउ

वीरगंज : बारा प्रहरीले पुन ठुलो परिमाणको हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पूर्व सूचनाको अधारमा उनीहरुलाई २५ लाख ३५ हजार नेपाली रुपैयाँसहित  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी गराए।

पक्राउ पर्नेमा भारत, बिहार, पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटियागंज–७ टोल नरकटियागंज बस्ने ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार रहेका छन्।

हिजो बिहान साढे ११ बजेको समयमा कलैया– ८ बरेवा चोकमा जाँच गर्दा उनीहरु चढेको भारतीय मोटरसाइकलको डिक्कीबाट उक्त रकम भेटिएको हो। बाराको मटिआर्वा नाका हुदैं कलैयातर्फ आउँदै गरेका ती दुबैले बी आर ०५ के ०७९८ नम्बरको मोटरसाइकलमा हुन्डीको उक्त २५ लाख ३५ हजार रुपैया वीरगंजसम्म ल्याइरहेको अशंका छ।

प्रहरीले एक हजार दरका १ हजार ७ सय ७२ थान, रु ५०० रुपैयाँ दरका १ हजार ५ सय २६ थान गरी कुल २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको जनाएको छ। रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु भएको बारा प्रहरीले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ। भारतबाट हुन्डीको पैसा जिल्लाको मुख्य तथा ग्रामीण नाकाबाट लुकिछिपी भित्र्याइने गरिन्छ। भारतीय सीमावर्ती बजारमा संकलन गरिएको नेपाली रुपैयाँ अवैध रुपमा ओसारपसार गरी नेपाल पठाउने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell