PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वामदेव र जसपाका नेताले प्रचण्डलाई खुमलटारमै भेटेर गरे प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेससँग सत्ता साझेदारी नगर्न दबाब



पहिलोपोस्ट

वामदेव र जसपाका नेताले प्रचण्डलाई खुमलटारमै भेटेर गरे प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेससँग सत्ता साझेदारी नगर्न दबाब

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले नेपाली कांग्रेससँग सत्ता साझेदारीका बिषयमा प्रस्ताव अघि बढाएको भए पनि नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नै पार्टीलाई एक गराएर प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्।

बिहीवार विहान खुमलटार पुगेका गौतमले प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको हुन्। भेटमा गौतमले चलाइरहेको नेकपा एकता अभियानका विषयमा समेत चर्चा भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 'उहाँले चलाउनुभएको अभियान ठिकै छ भन्नुभयो अध्यक्षले। पार्टीलाई एकता गर्दै अघि बढनुस् भन्ने गौतमले सुझाव दिनुभएको छ,' उनले भने।

गौतमले ओलीलाई सम्मानजनक पार्टी र सरकारबाट विदाइ गर्नुपर्ने बताएका छन्। भेटमा उनले ओली असफल भइसकेकाले उनी पदमा बस्न नहुने धारणा राखेका थिए। त्यसबारे आफूले ओलीसँग पनि छलफल गरेको गौतमले बताएका थिए।

यस्तै सत्ता समिकरणकै विषयमा जनता समाजवादीका नेताहरुले पनि प्रचण्डसँग छलफल गरेका छन्। आजै विहान प्रचण्ड निवासमा पुगेका जसपाका नेताहरुले साझेदारीको प्रस्ताव गरेका थिए। उनीहरुले मिलेरै अगाडि बढनुपर्ने धारणा राखेको सापकोटाले जानकारी दिए। प्रचण्डले तत्कालीन परिस्थितिलाई आफूले नजिकबाट नियालिरहेको र अब रणनीतिक रुपमा अघि बढनुपर्ने जसपाका नेताहरुलाई बताएका थिए।

प्रचण्ड-नेपाल समूहले नेपाली कांग्रेसँग मिलेर सरकार बनाउने तयारी थाले पनि उनीहरुकै समूहभित्रका नेताले कांग्रेससँग सत्ता साझेदारी गर्न नहुने धारणा अघि सारेका छन्। दुई तिहाइको पार्टीलाई छाडेर कांग्रेससँग गठबन्धन गर्नु भुल हुने प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य लालबावु पण्डितले बताए। कांग्रेससँग सहकार्य गर्न जनमतको अपमान हुने उनको तर्क छ।

'नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन। बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान हुँदैन। यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस्,' उनले भने।

प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै प्रचण्ड-नेपाल मंगलवार चितवनको सभालाई सम्बोधन नगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए। प्रचण्ड-नेपालले भेटेर सत्ता साझेदारी गर्न प्रस्ताव गरेपनि देउवाले भने प्रस्ट जवाफ दिएनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उठेपनि उनले संसद फेस गर्ने बताएपछि प्रचण्ड-नेपालका लागि सरकार गठन कठिन बनेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell