PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

घटनाको दुई महिनापछि सोसल मिडियाले भाइरल बनाएको प्रविनको रहस्यमय मृत्यु



सविन ढकाल

घटनाको दुई महिनापछि सोसल मिडियाले भाइरल बनाएको प्रविनको रहस्यमय मृत्यु

काठमाडौं :  पुस ५ गते। बिहान ११ बजे। उर्लाबारी वानडाँडा बस्ने दुर्गा तामाङले प्रेमप्रसाद बास्तोलालाई फोन गरे। उनीहरू एकअर्काका छिमेकी। त्यस दिनको फोनको कुराकानी भने प्रेमका सामान्य भने थिएन। तामाङले प्रेमका छोरा बेहोस भएको बताउँदै हेर्न जान सुझाव पनि दिएका थिए।

दुर्गा बिहानै घरबाट निस्किएका थिए, बजारबाट सिमेन्ट ल्याउनका लागि। त्यही क्रममा छिमेकी रमेश गिरीको घर अगाडि एम्बुलेन्स र प्रहरी भ्यान रोकिराखेको देखे। त्यहीँ जानकारी पाए प्रेमका छोरा प्रविन बेहोस भएको। त्यसपछि हो उनले प्रेमलाई फोन गरेको।

छोराको खबरले बिचलित भएका प्रेम सिधै अस्पताल पुगे। अस्पताल पुग्दा छोरा बेहोस थिएनन्, मृत्यु नै भइसकेको रहेछ। तर, कसरी छोरो अस्पतालसम्म आइपुग्यो? एक्कासी के विरामी भयो? अनुत्तरित रह्यो उनका लागि।

प्रविनको आफ्नै बस। त्यसैमा काम पनि गर्थे। उनक मृत्यु संदेहको घेरामा परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गर्‍यो र केही मानिस पक्राउ पनि परे।

+++

घटना दुई महिना अघिको हो। अहिले मोरङको उर्लाबारी यही घटनाले तातेको छ। उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रविन बास्तोलाको रहस्यमय मृत्यु भएको थियो। पुस ४ गते उनी घरबाट साथी भेट्न निस्किएका थिए। तर, त्यसपछि उनी कहिल्यै घर फर्किन पाएनन्। उनको मृत्यु शङ्कास्पद भएको भन्दै आफन्त तथा परिवार यतिखेर आन्दोलनरत् छन्। उनीहरू हत्यारा चाँडो पत्ता लगाउन माग गरिरहेका छन्। उनीहरूको आरोप प्रहरीमाथि पनि छ - हत्यारालाई छाडेको।

घटनाले देशभरी चर्चा पाएपछि सरकारी वकिल कार्यालय मोरङले घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ।

अभियोगपत्रका उर्लाबारी ६ बस्ने  राजेश रणपहेली, राकेश शिवा भन्ने मेहरमान दर्जी, दिपेश पौडेल, सुदीप परियार, रमेश गिरी र कुमार राईलाई प्रतिवादी बनाइएको छ। उनीहरुले योजनावद्ध रुपमा हत्या गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ। तर, घटना कसरी भयो? अनि केका लागि? चित्बुझ्दो जवाफ भेटिएको छैन।

अभियुक्तमध्ये राजेश रणपहेली अहिले फरार छन्। राजेशले पुस ४ गते साँझ, प्रविनसँगै खाजा खाएको र सँगै सुतेको बताइएको छ। उनीहरू सहपाठी थिए। अर्का फरार अभियुक्त हुन् सुदीप परियार। राजेश र सुदीप नाताभित्रकै हुन्। 

सुदीप रमेश गिरीको घरमा कोठा लिएर बस्दै आएका हुन्। उर्लाबारी नगरपालिका वडा नं ६ मा भिलेज सिनेमा हल नजिकै छ गिरीको घर। तीन तल्ले पक्की घरमा सुदीप र उनका साथीहरू बस्छन्। दिपेश पौडेल, राकेश सिवा भन्ने मेहरमान दर्जी सुदीपको कोठामा केही दिनअघिदेखि मात्र हो बस्न थालेको।

चार गते साँझ राजेश र उनका भाइहरू खाजा खान कुमार राईको सौरभ होटलमा पुगेका थिए। होटल उर्लावारीको पूर्व बस स्ट्याण्ड नजिकै छ। त्यही बेला उनीहरूको प्रविनसँग भेट भएको थियो।

उनीहरूले त्यहाँ मासु र भुजा खाए। रक्सी पनि। होटलमा प्रविन र कुमार तास खेलिरहेका थिए। त्यही क्रममा उनीहरुबिच भनाभन भएको राजेश रणपहेलीले स्वीकारेका छन्।

भनाभन भएपछि प्रविनले तास खेल्न छाडे। पुरानै चिनजानका कारण उनी राजेश भएको ठाउँमा पुगे। अन्य केटाहरूसँग गाडीको कामको सिलसिलामा उनीहरूको परिचय भएको देखिन्छ।                                  इलाका प्रहरी कार्यालयभित्र प्रर्दशन गर्दै


'म पनि तपाईँहरूसँगै सुत्न जान्छु। मैले रक्सी धेरै पिएको छु। स्कुटर चलाउन सक्दिनँ। तिमी चलाउ भनेपछि मैले स्कुटर चलाई दिपेश पौडेलको कोठामा प्रविन र म गएको हो,' राजेशले बयानमा भनेका छन्, 'सुदीप र मेहरमान हामी भन्दा अगाडि नै कोठामा पुगी ओछ्यान लगाई ढल्केर मोबाइल चलाउँदै थिए।'

कोठामा पुगेपछि प्रविनले बदाम जुस खान मन लागेको बताए। त्यसपछि प्रविन र राजेश जुस किन्न राति पौने ११ बजे धनकुटे होटलमा पुगे। उनीहरूले तीन वटा बदाम जुस किनेका थिए। 

कोठामा पुगेपछि प्रविनले एउटा जुस खाए। प्रविन र दिपेश खाटमा सुते, बाँकीहरु भुईँमै। राकेश सिवा केही समय मोबाइलमा व्यस्त रहे। राकेशले कोठामा पुगेपछि केही समय आफ्नी श्रीमतीसँग मोबाइलमा कुराकानी गरेको बताएका छन्। प्रविन राति निकै घुरेकाले उनीहरू बिच प्रविनलाई घर पठाउने सल्लाह समेत भयो। तर, घर चाहिँ पठाएनन्। 

'प्रविन निकै घुरेकाले भोलिपल्ट प्रविनलाई देखाउन भनी हामीले रातको १२:३० बजेतिर मोबाइलमा भिडियो समेत बनायौं। राकेशले धेरै घुर्‍यो प्रविनलाई घर पठाइदिम भन्यो। दिपेशले बल्ल आएको मान्छेलाई नपठाम् यतै बसोस् भन्यो र मैले नि हुन्छ भनेँ। त्यसपछि हामी मोबाइल चलाउँदै सुत्यौं,' राजेशले बयान दिएका छन्।

भोलिपल्ट बिहानै राकेश काममा निस्किए। राजेश र दिपेश उठेपछि खाजा खान गए। प्रविन खाटमा र सुदीप भुईँमा सुतिरहेका थिए। प्रविन नउठेपछि उनीहरुले झक्झक्याए। तर, उनी उठेनन्। अस्वभाविक अवस्था देखेपछि दिपेश र सुदीपले प्रविनको मोजा खोले। पैताला र हात खुट्टा मालिस गर्न थाले। 

'म उठी हातमुख धोइ प्रविनलाई बोलाउँदा बोलेनन्। राजेश र दिपेश भइ प्रविनको शरीर हल्लाउँदा समेत उठेनन्। त्यसपछि दिपेश र म भइ प्रविनको मोजा खोली पैताला तथा हातमा मालिस गर्दा पनि नउठेपछि दिपेश दाइले हातले छाती छाम्दा तातो भई धड्कन चलेको जस्तो छ भनी सुनाएका थिए,' सुदीपले बयानमा भनेका छन्, 'राजेशले गोदावरी अस्पतालबाट एम्बुलेन्स लिइ कोठामा पुगी प्रविनलाई उपचारका लागि अस्पतालमा लगेको हो।' 

मुटुको धड्कन चलिरहेको उनीहरुको बताए पनि गोदावारी अस्पताल पुराउँदा प्रविनको मृत्यु भइसकेको रहेछ। प्रविनको मृत्यु कसरी भयो?

प्रविनको परिवारले कोठामा भएका साथीहरूले नशालु पदार्थ खुवाएर हत्या गरेको आरोप लगाएका छन्। तर, उनीहरूले आरोप स्वीकार गरेका छैनन्।

यही १२ घण्टाको बिचमा नै प्रविनको रहस्यमय मृत्यु जेलिएको छ। प्रहरीले पनि हत्यामा उनीहरुको प्रष्ट संलग्नता भएको देखाउने प्रमाण पेश गर्न सकेको छैन।

राजेशले आफू र अन्य साथीले विष खुवाएर हत्या गरेको इन्कारी बयान दिएका छन्। राजेशले मात्र होइन अन्य अभियुक्तले पनि घटनाक्रम त्यसरी नै सुनाएका छन्। उनीहरू कसैले पनि विष सेवन गराएर वा अन्य कारणले प्रविनको हत्या गरेको स्वीकारेका छैनन्। तर, मृतकका बुबाले भने उनीहरू विरुद्ध किटानी जाहेरी दिँदै हत्याको आरोप लगाएका छन्।

राति नेट चलाउन सुदीप परियारले राजेशको मोबाइल नम्बरमा प्रविनको मोबाइल नम्बरबाट बिस रुपैयाँ ब्यालेन्स ट्रान्सफर समेत गरेको देखिएको छ। तर, प्रविनका बुबाले भने छोराको साथमा १० हजार रुपैयाँ भएको र त्यो लुटिएको आरोप लगाएका छन्।

प्रविनसँग १० हजार रुपैयाँ थियो वा थिएन भन्ने खुलेको छैन। भएको भए १० हजार रुपैयाँ कहाँ गयो? १० हजार रुपैयाँको लागि नै साथीले हत्या गरे त? तर प्रहरीले परिवारले भने झै १० हजार रुपैयाँको अनुसन्धानका क्रममका कतै कनेक्सन भेटेको छैन। 

'परिवारले पैसा थियो भन्नु भएको छ। तर अहिलेसम्म पैसा भए नभएको खुलेको छैन,' जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले भने।                                 बुधवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एसपी सन्तोष खड्का


प्रहरीले सोही दिन कोठामा बस्ने चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। हत्याको अभियोग लगाउन प्रहरीसँग कुनै आधार थिएन। तर, संदेहको घेरामा चारै जना थिए। त्यसैले प्रहरीले उनीहरुबिरुद्ध अभद्रको केस फाइल गर्‍यो र थप अनुसन्धानका लागि  म्याद थप गरेर नियन्त्रणमै राखिरह्यो।

पुस २२ गते घरधनी र होटल संचालकविरुद्ध पनि उजुरी पर्‍यो। उनीहरूलाई प्रहरीले २७ गते नियन्त्रणमा लियो। उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु भयो। प्रहरीले समातिएका सबैको संलग्नतामा नै घटना गराएको निष्कर्ष निकालेर अनुसन्धान प्रतिवदेन सरकारी वकिल कार्यालयमा बुझायो।

प्रहरीले २९ गते सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो। तर, प्रमाण नपुगेको भन्दै त्यही दिन फाइल प्रहरीकहाँ नै फिर्ता आयो। त्यसपछि प्रकाउ परेका अभियुक्तहरु माघ २ गते हाजिरी जमानीमा छुटे। 

त्यसपछि प्रहरीको अनुसन्धान जारी रह्यो। यो सबै भइरहँदा घटना बाहिर आएको थिएन। तर, आइतवार एकाएक परिवारले इलाका प्रहरी कार्यालय उर्लावारीमा प्रर्दशन गरेपछि घटनाले नयाँ मोड लियो। आन्दोलनका भिडियोहरू भाइरल हुन थाले। प्रहरीमा मात्र होइन सरकारी वकिल कार्यलयलाई समेत यसले दवाव पैदा गर्‍यो। पीडित परिवारले प्रहरीले नै सरकारी वकिल कार्यालयमा बुझाएको फाइलमा मृतकको फोटो नै गलत राखेको आरोप लगएका छन्। तर, जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले यसलाई ठाडै अस्वीकार गरे। 'प्रहरीले यस्तो गर्नै सक्दैन,' उनले भने।

घटनाले चर्चा पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले डीएसपीको कमाण्डमा छानविन टोली बनायो। घटना तातेछि प्रहरीले फेरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो। तर, यसपटक भने प्रतिवेदन फिर्ता आएन।

अहिले ६ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको छ। तर, चार जना फरार छन्। उनीहरूविरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरिएको छ।

उर्लावारी ६ का १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह ९ का ३१ वर्षीय दिपेश पौडेल र ६० वर्षीय रमेश गिरीलाई प्रतिवादी बनाएर अभियोग दर्ता गरिएको छ। 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पोस्ट मार्टमले पनि मृत्युको यकिन कारण खुलाउन सकेन।


पक्राउ पर्नेहरूमा होटल संचालक उर्लावारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई र प्रविनका साथी मोरङ्ग रतुवामाई नगरपालिका – १० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा रहेका छन्। त्यस्तै, उनीहरुसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर मंगलबार अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए।

प्रहरीले केही छिमेकी र आफन्तसँगको बयानमा अभियुक्तहरुले सास फेर्न नदिइ मारेको कागज गरेपछि प्रहरीले यसलाई पनि थप प्रमाण बनाएको देखिएको छ।

'राजेश रणपहेलीले रमेश गिरीको घरमा नै मारेर अपराधलाई ढाकछोप गर्नलाई भोलिपल्ट बिहान १० बजे बिरामी भएर अस्पताल पुर्‍याएको बहाना गरेकोमा मृत्यु अगाडि नै भइसकेको भनी अस्पतालले लिखित प्रमाणित गरेको थियो। यदि मेरो छोरा रातको समयमा कारण बस् बिरामी नै भएको भए मलाई खबर गर्नुपर्नेमा मलाई कुनै जानकारी दिइएन,' प्रविनका बुबाले भनेका छन्।

तर, उनको दावीलाई सबै अभियुक्तले इन्कारी बयान दिएका छन्। प्रविनका बुबाको किटानी जाहेरीलाई नै मुल आधार मानेर प्रहरीले हत्या भएको निष्कर्षसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ। सरकारी वकिल कार्यालयले पनि जिल्ला अदालत मोरङ ६ जना विरुद्ध अभियोगपत्र दर्ता गराएको छ। अदालतमा हाल थुनछेक बहस चलिरहेको छ।

अभियोगपत्रका अनुसार उनीहरूले पूर्व रिसिइबीका कारण प्रविनको हत्या गरेको उल्लेख गरिएको छ।

'४ गतेका दिन बेलुका कुमार राईको सौरभ होटलमासँगै मादक पदार्थ सहित खाजा नास्ता खाएको, त्यहाँ मृतकसँग कुमार राई समेतको विवाद झगडा भएको, मृतकलाई राजेश रणपहेली समेतले आफ्नो कोठामा मातेकै सुरमा ल्याई सुताएको, रमेश, कुमार, राजेश, मेहरमान, दिपेश र सुदीप समेतले मृतकलाई मार्न योजनाबद्ध रूपमा मिलेमतो गरी ५ गते बिहानका राती सुतेका मृतकलाई घाँटीमा केही चिजले कसी थिची पछाडि तिर तानी, नाक मुख थुनी, छातीमा समेत बलपूर्वक थिचेर निजको श्वास प्रश्वास क्रियामा अवरुद्ध गराई कर्तव्य गरी मारेको मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिमको कसुर गरेको तथ्य स-प्रमाण पुष्टि हुन आयो,' प्रहरीले बुझाएको प्रतिवेदनमा भनिएको छ।

बुधवार जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले पत्रकार सम्मेलन गर्दै प्रविनको हत्या भएको दाबी गरेका थिए। प्रहरीका अनुसार उनीहरूले योजनावद्ध रुपमा नै हत्या गरेको देखिएको छ। अदालतमा पेश भएको अभियोगपत्रमा उनीहरूले योजनाबद्ध रूपमा हत्या गर्नुको प्रमाण यसरी पेस गरिएको छ -

'पूर्व रिसईवी रहेका कुमार राई बिहानै घटना स्थलमा पुग्नु, राजेश रणपहेली समेत बिहानै राईलाई प्रवीन मरेका खबर गर्न जानु, कुमार सहित रमेश गिरीको घरमा जानु र कुमार र रमेश सँगै मृतक रहेको कोठामा जानु र त्यहाँको अवस्था वर्णन गरी बयान व्यहोरा लेखाउनु, सँगै रातभर सुतेका भनिएका राजेश, दिपेश, मेहरमान र संदिपले बयानमा साढे ९ बजेसम्म मृतक सुतेको ठाउँबाट नउठ्दा खोजी खबर गरेको नदेखिनु, कोही उठेर ड्युटीमा जानु, कोही चिया नास्ता खाएर आयौँ भन्नु र करिब ९:३० बजे मृतकलाई घचघच्याइउदा उठेन अनि अस्पताल लैजान एम्बुलेन्स ल्याएको भन्ने बहाना बनाई बयान ब्यहोरा लेखाएका छन्। तर, पहिले नै प्रतिवादी कुमार राईलाई खबर गरेको, रमेश र कुमार आई घटना स्थलमा प्रविनलाई हेरेको र गोपाल गिरी भन्ने मानिस समेत घटना स्थलमा आई पुगी निजसँगै स्कुटरमा चढी एम्बुलेन्समा गएको आदी विरोधाभासपूर्ण तथ्य निजहरूकै एक आपसको बयानबाट खुल्न आएको समेत कारणबाट सबै प्रतिवादीहरूको संलग्नता रहेको र सामूहिक रूपमा सबै प्रतिवादीहरूको कर्तव्यको कारण  प्रवीनको मृत्यु भएको तथ्य पुष्टि भएको छ।'

अदालतमा पेश गरिएको अभियोगपत्रका अभियुक्तले राति बनाएको भिडियो फुटेज, देख्ने सुन्ने मानिसको बयान पेश गरिएको छ। बयान पेश गरिएका आफन्तहरुले घटना गर्दै गरेको देखेका होइनन्। त्यस्तै, पक्राउ परेका एक जना घरधनी हुन्। रमेश गिरीलाई उनको घरमा बसेका मानिसको बारेमा जानकारी नराख्नु, एम्बुलन्स आउँदा समेत कुनै जानकारी नदिएको लगायत अभियोग लगाएर सहायक मतियार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell