PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

खुकुरी म्युजिक नेसनका विजेता सन्तोष,'अब गायन र कृषि सँगसँगै'



लक्ष्मी बलायर

खुकुरी म्युजिक नेसनका विजेता सन्तोष,'अब गायन र कृषि सँगसँगै'

घरपरिवारले विदेश जान सुझाउन्थे। तर सन्तोष घलेलाई भने गीतसंगीतको लत नै लागिसकेको थियो। प्रतिस्पर्धाको बारेमा सुन्ने बित्तिकै सहभागी जनाइहाल्थे। उनलाई बेलाबेला हुने अडिसनले विदेश जानबाट रोकिरहेको थियो। भन्छन् ‘घरकाले विदेश जान कर गर्थे, गीत गाएर केही हुँदैन भन्थे तर मलाई भने यस्तै प्रतिस्पर्धाले अड्काइरहेको थियो।’

उनले यसअघि नेपाल आइडलको ३ वटै सिजनमा सहभागिता जनाएका थिए। तर छनोट भने हुन सकेनन्। त्यस्तै भ्वाइस अफ नेपालको पहिलो सिजनमा पनि ब्याटल राउण्ड सम्म पुगेका थिए। तर आफुले सोचेजस्तो सफलता नपाउँदा 'वाक्क दिक्क' भएको बताउँछन् उनी।

अडिसनमा सहभागी हुन्थ्, उपलब्धि भने केही नहुने। खाली खर्च मात्र हुन्थ्यो। त्यसैले अब केही हुन्न भनेर सोच्थे जहिलै। तर केही समयपछि अर्को अडिसन खुल्थ्यो। मनका प्रश्नलाई रोकेर फेरि अडिसनमा पुगिहाल्थे। आफुले चाहेर पनि गीत गाउन छोड्न नसकेको र गीत गाउँने नशा लागेको सुनाउँछन् सन्तोष।

लमजुङमा जन्मेका उनी हाल परिवारसहित चितवनको भरतपुरमा बस्छन्। सानैदेखि गायक बन्ने चाहना थियो। त्यसैले १२ वर्षकै उमेरदेखि उनी दशैँ, तिहार र स्कुलका सांस्कृतिक कार्यक्रममा गीत गाउन कुदिहाल्थे। स्थानीय स्तरमा प्रतियोगिताहरुमा पनि सहभागी हुने गर्दथे।

रक र आधुनिक गीत गाउन मन पराउने उनी चितवनमा छदाँ संगीतको कक्षा कहिलै नलिएको बताउँछन्। अरुको गीतहरु सुनेर र साथीहरु सिकेर मेहेनत गरेर गायन क्षेत्रमा आएको सुनाउँछन्। काठमाडौं आउँदा भने ५ महिना जति संगीत सिके। तर निरन्तरता दिन सकेनन्।

उनका हजुरवुवा घाटु र मारुनी नाँचको गुरु थिए। दाई पनि राम्रो गीत गाउथे। उहाँहरुबाट नै गायन कलातिर लाग्न प्रेरणा मिलेको बताउँछन् उनी। गीत गाउन भने पछि हुरुक्कै हुने सन्तोषले पढाइलाई भने निरन्तरता दिन सकेनन्। प्लस टु सम्मको पढाई मात्रै पूरा गरे।

खुकुरी म्युजिक नेसनको यात्रा

अडिसन दिँदादिँदै 'वाक्क' भइसकेका उनलाई ग्रुप च्याटमा एक जना साथीले खुकुरी म्युजिक नेसनको बारेमा जानकारी दिए। पहिला त जान मन गरेनन्। पछि अडिसनबारे हेर्दा निर्णायकमा सबिन राई, समृद्धि राई र विपुल क्षेत्री देखेपछि जान मन बनाए।

भन्छन् ‘जित्ने हार्ने कुरामा ख्याल गएन। उहाँहरुलाई देखेर आँखा चिम्लेर फारम भरेको थिएँ। सिने गुरुङको 'मन' बोलको गीत गाएको भिडियो पठाएँ।’

अनलाइन अडिसन दिएका शीर्ष १६ मा उनी पनि अटाए। घर बाहिर हुँदा छनौट भएको दुई हप्तापछि मात्रै 'सेलेक्ट' भएको थाहा पाए। त्यसैले खबर सुन्ना साथ खुसी भएनन् किनभने भोट माग्ने अवधि ३ दिन मात्र बाँकी थियो। अरु प्रतियोगीहरुले भने भोट माग्न सुरु समेत गरिसका थिए। थोरै समय बांकी रहँदा पनि हार मानेनन् र आफन्त र साथीहरुलाई भोट माग्न थाले। टप ८ हुँदै टप ४ सम्म पुगे। बाँकेका प्याराडाइज ब्याण्ड, सिक्किमकी मोनिका राई र अमेरिकामा बस्दै आएका सन्देश गुरुङसँग उनको प्रतिस्पर्धा भयो फाइनलमा। अन्तत: प्रतियोगिता जिते सन्तोषले।

‘मेरो लागि त्यो जिन्दगीकै सबैभन्दा खुसीको क्षण थियो। म पुरै नि:शब्द भएँ' उनले भने।

खुकुरी म्युजिक नेसनमा विजय हुनुलाई आजसम्म गरेको मेहेनतको फल मान्छन् उनी।

पहिले देखि नै गीत निकाल्ने रहर थियो उनलाई। तर त्यसका लागि धेरै रकम चाहिँन्थ्यो। आँट्न सकेनन्।

‘यत्रो वर्ष सम्मको प्रतिक्षा सकिएको छ। लगानी नहुँदा गीत निकाल्न अड्केको थियो अब भने ढोका खुलेको छ’ उनी आगामी यात्रा बारे सुनाउँदै भने, 'गीत गाएर मात्रै जीवन धान्न गाह्रो छ। दाई सँगै मिलेर कृषिमा केहि गर्न विचार गरेका छु। तर गीत गाउँन भने छोड्दिन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell