PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

हेटौँडास्थित मयुरधाप औद्योगिक क्षेत्रको मन्त्री लेखराज भट्टले भोलि शिलान्यास गर्ने



निशा गुरुङ

हेटौँडास्थित मयुरधाप औद्योगिक क्षेत्रको मन्त्री लेखराज भट्टले भोलि शिलान्यास गर्ने

हेटौँडा : हेटौँडा-१३ र १४ स्थित मयुरधाप औद्योगिक क्षेत्रको फागुन १४ गते शुक्रवार शिलान्यास गर्ने कार्यक्रम रहेको हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ। उक्त आद्योगिक क्षेत्रको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गर्ने भएका हुन्।

नेपाल सरकारले २०७२ चैत १ गते मयुरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो। मयुरधापको करिब २ सय बिघा क्षेत्रफलको सरकारी जग्गामा संघीय सरकारले मयुरधाप औद्योगिक क्षेत्रको लागि छुट्याइएको थियो। मयुरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरिएको छ।

औद्योगिक क्षेत्रपरिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ। छुट्याइएको प्रत्येक प्लटमा ७ देखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको छ। औद्योगिक क्षेत्रमा संघीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जग्गा उपलब्ध गराइसकिएको हेटौँडा औद्योगिक क्षेत्र प्रवन्धक राजेन्द्रप्रसाद कँडेलले बताए।

उनका अनुसार उल्लिखित विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार पूर्वाधार निर्माणका लागि सरकारले करिब सात अर्ब दुई करोड ३४ लाख रुपैयाँ लगानी गर्ने भएको छ। औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब २० हजारले रोजगारीको अवसर प्राप्त गर्ने बताइएको छ।

औद्योगिक क्षेत्र शिलान्यास भएको एक महिनाभित्र उद्योगीलाई उद्योगहरुको अवधारणा लिएर आउन आह्वान गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बसनेतले जानकारी दिए। उनले उत्पादनमूलक उद्योगलाई पहिलो प्राथमिकता दिनुका साथै साना, माझौला, मध्यम र ठूला खालका गरी सबै प्रकारका उद्योग स्थापना गराउन इच्छुकलाई औद्योगिक क्षेत्रमा जग्गा उपलब्ध गराउने बताए।

संघीय सरकारद्वारा हालै सरकारी जग्गा उक्त औद्योगिक क्षेत्रको नाममा दर्ता गरेर लालपुर्जा तयार गरी जग्गाको स्वामित्व पनि हस्तान्तरण गरिसकिएको र जग्गाको चारैतर्फ कम्पाउण्डले घेरिएको हेटौँडा औद्योगिक क्षेत्रका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले बताए। हेटौँडा बजारबाट दक्षिणतर्फ रहेको मयुरधाप औद्योगिक क्षेत्र त्यहाँबाट करिब पाँच किलोमिटर टाढा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell