PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

दलहरु विधि अनुरुप चल्न नसक्दा लोकतन्त्रमाथि पटक-पटक प्रहार भयो : पूर्व राष्ट्रपति यादव



पहिलोपोस्ट

दलहरु विधि अनुरुप चल्न नसक्दा लोकतन्त्रमाथि पटक-पटक प्रहार भयो : पूर्व राष्ट्रपति यादव

जनकपुरधाम : पूर्व राष्ट्रपति डा रामवरण यादवले राजनीतिज्ञ दलहरु विधि विधान अनुरुप चल्न नसक्दा लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको बताएका छन्। उनले राजनीतिक पार्टीहरु आफ्नो विधान अनुरुप नचलेकै कारण नेपालमा लोकतन्त्रमाथि आघात पुगिरहेको बताए।

नेपाली राजनीतिका शिखर पुरुष महेन्द्रनारायण निधिको ९९औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुत बनाउनका लागि विधि विधान अनुसार अगाडि बढ्न आग्रह गरे। जसरी निधिले एउटै विचारलाई समातेर जीवन पर्यन्त लडिरहे त्यसरी नै अगाडि बढे पक्कै पनि नेपालको लोकतन्त्रले समृद्धि पाउने विश्वास उनले व्यक्त गरे।

पूर्व राष्ट्रपति यादवले भने, ‘लोकतन्त्रमाथि पटकपटक प्रहार हुँदै आइरहेको छ, वर्तमान समयमा कुनै पनि दल पार्टी विधान अनुरुप चल्न सकेको छैन, चाहे त्यो नेपाली कांग्रेस होस् वा कम्युनिस्ट पार्टी वा मधेसवादी दल नै किन नहोस्। पार्टी विधि विधान अनुसार चलेन भने लोकतन्त्रको जग कमजोर हुँदै जान्छ।’

पूर्व राष्ट्रपति यादवले अहिले लोकतन्त्रमाथि भएको प्रहारबाट सर्वोच्च अदालतले बचाएको तर यो जिम्मेवारी राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाजको समेत रहेको बताए। उनले सर्वोच्च अदालतले गरेको निर्णयलाई आफूले हृदयदेखि सम्मन गरेका बताए।

सो कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी कदम पछि मुलुक ३ वर्ष पछाडि धकेलिएको बताए। उनले मुलुकलाई ३ वर्ष पछाडि धकेलिएकोले नेपाली जनताले यसको क्षतिपूर्ति गराई छोड्ने बताए।

कार्यक्रममा मन्त्री सोनलले निधिको राजनीतिक जीवन सम्पूर्ण राजनीतिज्ञका लागि अनुकरणीय रहेको बताए। यो परिवर्तनशिल संसारमा पनि एउटै विचारलाई समातेर जीवन पर्यन्त अगाडि बढिरहेका कारण उनी नेपाली राजनीतिको शिखर पुरुष बन्न सफल भएको उनको भनाइ थियो। निधिले जनताको अधिकार, समानताका लागि जसरी संघर्ष गरे त्यो सबैको लागि उदाहरणीय रहेको बताउँदै मन्त्री सोनलले उनको सपना अझै पनि पूरा हुन नसक्नुमा दुःखद रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell