
हेटौँडा : ग्रामिण क्षेत्रका वासिन्दाको आयआर्जनमा वृद्धि गराउने र उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बकैया गाउँपालिकामा नमुना च्याउको बीउ उत्पादन केन्द्र स्थापना गरिएको छ। बकैया गाउँपालिका-७ हात्तीखोलामा नमुना च्याउ बीउ उत्पादन केन्द्रको बिहीवार एक समारोहका बीच भूमि, व्यवस्था तथा कृषि मन्त्री दावादोर्जे लामाले उद्घाटन गरे।
उक्त उद्घाटन समारोहमा मन्त्री लामाले ग्रामिण क्षेत्रका वासिन्दा अब निर्वाहमुखी खेतीतर्फ होइन व्यावसायिक खेतीतर्फ अगाडि बढ्नु पर्ने बताए। व्यावसायिक खेतीले मात्र कृषकहरुको जीवनमा परिवर्तन ल्याउनुको साथै मुलुक समृद्धितर्फ अगाडि बढ्ने उनले दावी गरे। उनले प्रदेश सरकारले कृषि क्षेत्रमा विभिन्न किसिमले अनुदान दिएर कृषकहरुलाई व्यावसायिकीकरण र यान्त्रिकीकरण गराउँदै आएको बताए।
महिला सशक्तिकरण गरिबी निवारण समूहकी अध्यक्ष ईन्दिरा न्यौपानेको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा संस्थाका संरक्षक माइकल रामचन्द्र अर्यालले गरिबी निवारण समूहले यस क्षेत्रका वासिन्दाको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि सकारात्मक भुमिका खेलेको बताए।
कार्यक्रममा यूएनडीपीका प्रतिनिधि धनबहादुर चन्दले यूएनडीपीले स्थानीय पालिका र प्रदेश सरकारसँग मिलेर नागरिकको जीवनस्तरमा परिवर्तन गर्नका लागि काम गर्ने बताए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला वोलखे, वडाध्यक्ष राजन दाहाल, स्थानीय कृषक परशुराम गौतमले बोलेका थिए।
यूएनडीपी, गाउँपालिका र महिला सशक्तिकरण गरिबी निवारण समूहको संयुक्त लगानीमा आलु खन्ने, कोदो मकै छोडाउने मेशिन, धान रोप्ने, धान काट्ने मेशिन उपलब्ध गराइएको थियो। यसैगरी च्याउ खेतीका लागि आवश्यक पर्ने मेशिनहरु उपलब्ध गराएको संस्थाकी अध्यक्ष न्यौपानेले बताइन्। उक्त संस्थाले सो गाउँपालिकामा कृषि क्षेत्रमा मात्र नभई बाख्रापालन र वृक्षारोपणको काम पनि गरेको छ।